(Japan) 20 th May | 2022 | Friday | 3:24:57 AM || (Nepal) 12:09:57 AM
 
 

जापानमा बिदेशी आगमन लगभग शून्य, २०३० मा ६ करोड पर्यटक भित्राउने लक्ष्य

Sajina Moktan   POSTED ON : Thursday, 20 January, 2022 | Views : 3116

जापानमा बिदेशी आगमन लगभग शून्य, २०३० मा ६ करोड पर्यटक भित्राउने लक्ष्य


टोकियो, जापान ।

जापानमा सन् २०२१ मा विदेशी आगन्तुकहरूको संख्या केवल २४५,९०० मा झरेको छ । बिदेशी आगमनको यो संख्या जापानले सन् १९६४ बाट तथ्यांक राख्न थोलेयताकै न्यून हो ।

जापानले कोरोना भाइरस महामारीको बीचमा कडा सीमा नियन्त्रणहरू लागू गरेका कारण बिदेशी आगमन घटेर शून्यमा झरेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ ।

बिदेशी आगमनको यो संख्या २०२० बाट ९४ प्रतिशतले घटेको छ, जुन बिदेशी आगमन गिरावटको सर्वाधिक धेरै हो । जापान पर्यटन एजेन्सीले सन् २०१९ मा कोभिड महामारी पूर्वको तुलनामा ९९.२ प्रतिशतले बिदेशी आगमन घटेको बताएको छ ।

जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना भएको टोकियो ओलम्पिकसँग सम्बन्धित आगन्तुकहरूको कारणले गर्दा जुलाईमा सबैभन्दा बढी ५१,०५५ पर्यटक एक महिनामा जापान आएका थिए । अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म पाराओलम्पिक खेलकुद सम्पन्न भएकाले कूल २५,९१६ यात्रुहरू जापान प्रवेश गरेका थिए ।

जापानले कोरोना संक्रमण रोक्न ओलम्पिक र पाराओलम्पिक खेल दर्शकविना आयोजना गरेको थियो ।

त्यसबेलादेखि, यो संख्या एक वर्ष अघिको तुलनामा ७९.४ प्रतिशत कम हुँदै डिसेम्बरमा १२,१०० मा झरेको छ ।

देशको आधारमा, सबैभन्दा धेरै यात्रुहरू चीनबाट ४२,३०० जना आएका थिए । यो महामारि पूर्वको तुलनामा ९६ प्रतिशतले कम हो । दोस्रोमा भियतनामका २६,५००, ८२.६ प्रतिशत कम, अमेरिकाबाट २०,०००, ९०.९ प्रतिशत गिरावट र दक्षिण कोरियाका १९,०००, ९६.१ प्रतिशत तल झरेको छ ।

सरकारले ओलम्पिक र पाराओलम्पिक खेलकुद आयोजना गर्ने तय भएको बेला २०२० मा चार करोड विदेशी पर्यटकलाई स्वागत गर्ने लक्ष्य राखेपनि महामारीका कारण ग्रीष्मकालीन खेलकुद एक वर्षका लागि स्थगित भएर पनि दर्शक बिना आयोजना गर्नुपरेको थियो ।

सरकारले सन् २०३० मा विदेशबाट ६ करोड पर्यटक भित्र्याउने लक्ष्य कायम राखेको छ, तर एजेन्सीका प्रमुख कोइची वाडाले पत्रकार सम्मेलनमा यो लक्ष्य प्राप्ति हुने हो कि होइन भनेर अहिले नै अनुमान गर्न नसकिने बताएका छन् ।

सन् २०२१ मा विदेश भ्रमण गर्ने जापानीहरुको संख्या पनि ८३.९ प्रतिशतले घटेर ५१२,२०० पुगेको छ ।

ओमिक्रोन भेरियन्टको द्रुत फैलावटपछि संक्रमणमा भर्खरको बृद्धि पछि सरकारले टोकियो र १२ अन्य क्षेत्रहरूलाई अर्ध आपतकालिन राज्यमा समेटेको छ ।

अर्ध आपतकालीन उपायहरूमा गभर्नरहरूलाई रेस्टुरेन्टहरू र बारहरू चाँडै बन्द गर्न र रक्सीको सेवा रोक्न वा सीमित गर्न अधिकार प्रत्यायोजन गरिएको छ ।

सरकारको यस कदमले पाचौं लहरपछि केही व्युँतिन थालेको आन्तरिक पर्यटनलाई थप संकुचित पार्ने देखिएको छ ।

... श्रोत : क्योदो न्यूज