टोकियो, जापान ।
जापानी विमान सेवा प्रदायक कम्पनी आना होल्डिङ्स इंकको अल निप्पोन एयरवेजले कम्पनी छाडेर गएका कर्मचारीहरुलाई पुनः भर्ना गर्ने योजना ल्याउनेबारे विचार गरिरहेको छ ।
कम्पनीले त्यस्त कर्मचारीहरुलाई नियमित कर्मचारीको रुपमा फर्काउने योजना ल्याउन लागेको यस मामिलाबारे आफूलाई जानकार स्रोतहरुले बताएको भन्दै सोमबार जिजी प्रेसले समाचार छापेको छ ।
यस योजनामा कम्पनीले विगत पाँच वर्षभित्र कम्पनी छाडेर गएका दक्ष सिप भएका कर्मचारीहरुलाई पुनः भर्ना गर्नेछ । कोरोना भाइरसको महामारीका कारण आनाले कर्मचारीहरुको तलब ३० देखि ४० प्रतिशतसम्म घटाएको थियो । यसका कारण कम्पनीका ३० देखि ४९ वर्षबीचका कयौं दक्ष कर्मचारीहरु कम्पनी छाडेर गएका छन् ।
यात्राको मागमा पुनःबहाली आउने अनुमानबीच त्यस्ता कर्मचारीहरुलाई कम्पनीमा फिर्ता आउन प्रेरित गर्न कम्पनीले श्रम संगठनहरुसँगको छलफलपछि सन् २०२२ को अप्रिलमा शुरु हुने आर्थिक वर्षमा लागू गर्ने भएको छ । कामको शीर्षक र वार्षिक तलबबारे कम्पनीले अहिलेसम्म निर्णय गरिसकेको छैन ।