(Japan) 3 rd July | 2022 | Sunday | 5:01:02 AM || (Nepal) 1:46:02 AM
 
 

जापानमा आलु अभाव भएपछि म्याकडोनल्ड्ले साना आकारको फ्राइज मात्रै बेच्न थाल्यो

  POSTED ON : Thursday, 23 December, 2021 | Views : 1550

जापानमा आलु अभाव भएपछि म्याकडोनल्ड्ले साना आकारको फ्राइज मात्रै बेच्न थाल्यो


टोकियो, जापान ।

आलुको आपूर्ति घटेपछि  म्याकडोनल्ड्ज जापानले एक हप्ताका लागि साना आकारको फ्रेन्च फ्राइज मात्रै बेच्ने भएको छ । कम्पनीले शुक्रबार देखि डिसेम्बर ३० सम्म मझौला र ठूला आकारका फ्रेन्च फ्राइजको विक्री रोक्ने निर्णय गरेको हो ।

आलुको खरिदलाई तीव्रता दिने र डिसेम्बर ३१ को बिहान १०ः३० सम्ममा आफ्नो मेनुमा मझौला तथा ठूला आकारका फ्राइजलाई राख्ने कम्पनीले विज्ञप्तिमा भनेको छ । पछिल्लो निर्णयले देशभर रहेका कम्पनीका २ हजार ९०० आउटलेट प्रभावित हुने बताइएको छ ।

म्याकडोनल्ड्ज जापानले फ्रेन्च फ्राइजमा प्रयोग गर्ने आलु उत्तर अमेरिकाबाट आयात गर्ने गरेको छ । भन्कुभर बन्दरगाह नजिक बाढीका कारण त्यसतर्फबाट आलुको आयातमा ढिलाइ भएको छ । यस माथि कोभिड–१९ को महामारीका अमेरिका र अन्य अन्तरराष्ट्रिय व्यापार रुटमा पनि आपूर्तिसम्बन्धी कयौं समस्या देखिएपछि समस्या बढेको हो ।

पछिल्लो खबरले फ्रेन्च फ्राइज पारखीहरु निराश भएका छन् । यसलाई एक जनाले सूर्यास्त हुन लागेको अवस्थासँग तुलना गरेका छन् । अर्का एक जनालाई भने सानो आकारको फ्राइज धेरै खानु पर्ने पिर लागेको छ ।

अर्का एक जनाले यो खबर सुनेर रुनै मन लागेको बताएका छन् । आलुको आपूर्ति अभावले सेट मिल र मानिसहरुले फ्रेन्च फ्राइजका लागि गर्ने अर्डर पनि प्रभावित हुने बताइएको छ । यसका कारण  ह्याश ब्राउनलाई भने असर नपार्ने कम्पनीको भनाइ छ ।