(Japan) 3 rd July | 2022 | Sunday | 5:46:08 AM || (Nepal) 2:31:08 AM
 
 

'गो टू ट्राभलका कारण होक्कादइदोमा कोभिड संक्रमण बल्झियो'

  POSTED ON : Thursday, 16 December, 2021 | Views : 656

'गो टू ट्राभलका कारण होक्कादइदोमा कोभिड संक्रमण बल्झियो'


टोकियो, जापान ।

गएको शरद ऋतुमा होक्काइदोमा कोरोना भाइरसको संक्रमण बढ्नुको कारण सरकारको गो टू ट्राभल अभियान रहेको एक विश्लेषणले देखाएको छ । केन्द्र सरकारले छिटोमा जनवरीमा उक्त अभियान पुनः सञ्चालनमा ल्याउने विचार गरिरहेकै समयमा यस्तो खुलासा भएको हो । अभियान सुचारु गर्नु अघि सरकारले विगतमा बल्झिएका संक्रमणबारे अधययन गरेर संक्रमण विरोधी कठोर उपायहरु अपनाउनु जरुरी भएको यसले देखाएको छ ।

केइओ विश्वविद्यालय, होक्काइदो विश्वविद्यालय र जापान एन्टि टयूबरक्लसिस एशोसियशनको रिसर्च इन्ष्टिच्यूट अफ टयूबरक्लसिसका अनुसन्धाताहरुले भाइरसको जेनोम सिक्वेन्सको विश्लेषण गरेका थिए । सूचना सन् २०२० को जुनदेखि डिसेम्बरको बीचमा होक्काइदो बाहिरबाट लिइएको नमूनाबाट लिइएको थियो । अनुसन्धान टोलीले विस्तृत तुलना गर्न अन्तरराष्ट्रिय डेटाबेसको पनि प्रयोग गरेका थिए ।अनुसन्धाताहरुले होक्काइदोमा भाइरस कसरी फैलियो भनेर अनुमान गर्न जेनोम सिक्वेन्सबीचको सूक्ष्म भिन्नताको अध्ययन गरेका थिए । होक्काइदोमा गत वर्षको जुलाई र नोभेम्बरको बीचमा कम्तिमा आठ पटक विद्यामान स्ट्रेनलाई विस्थापित गरेर नयाँ स्ट्रेन व्याप्त भएको नतिजाले देखाएको थियो । अनुसन्धाताहरुका अनुसार सन् २०२० को शरद ऋतुमा होक्काइदोमा संक्रमण बल्झाउने भाइरसको स्ट्रेन सोही वर्ष सेप्टेम्बरको अन्त्यमा किन्की क्षेत्रबाट आएको हो ।

होक्काइदोमा गत वर्षको अक्टोबरयता आठ मध्ये पाँच पटक भाइरसको सो स्ट्रेन टोकियो र बृहत टोकियो महानगरका अन्य क्षेत्रहरुबाट आएको पाइयो । गो टू अभियान सन् २०२० को जुलाईमा शुरु भएको थियो । सोही वर्षको अक्टोबरमा टोकियोलाई सो अभियानमा समावेश गरिएको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएको आपतकालका कारण गत वर्षको बसन्तमा होक्काइदोमा रातै बिताउने गरी आउने यात्रीको संख्या घटेको जापान पयर्टन विभागको तथ्यांकले देखाएको छ ।

त्यति बेला होक्काइदोमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा किन्की क्षेत्रबाट रातै बिताउने गरी आएका यात्रीको संख्या करीब ६० प्रतिशतले बढेको थियो । सन् २०२० को अक्टोबरमा यो संख्या अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत धेरै थियो । होक्काइदोमा टोकियो महानगर क्षेत्रबाट रातै बिताउने गरी गएका आगन्तुकको संख्या एक वर्ष अघिको तुलनामा ८० प्रतिशतले बढेको पनि डेटाले देखाएको छ । होक्काइदोमा सन् २०२० को अक्टोबरको उत्तराद्र्धदेखि कोभिडको संक्रमण बढ्न थालेको थियो । अस्पताल र वृद्धवृद्धाहरुको हेरचाह केन्द्रमा सामूहिक संक्रमण देखिएको थियो ।

संक्रमण बढेपछि सन् २०२० को नोभेम्बरमा होक्काइदोको राजधानी साप्पोरो र ओसाकालाई अभियानबाट हटाइयो ।डिसेम्बरको अन्त्यदेखि भने केन्द्र सरकारले देशभर नै गो टू अभियान स्थगित गर्यो । अभियान पुनः सुचारु गर्दा प्रयोगकर्ताहरुलाई खोप लगाएको वा कोभिडको परीक्षण नकारात्मक आएको प्रमाण देखाउन भन्ने सरकारको योजना छ । तर संक्रमण नियन्त्रणमा यस्ता उपायहरुको प्रभावकारीताको आकलन गर्न अहिलेसम्म वैज्ञानिक रुपमा अध्ययन भने भएको छैन ।