(Japan) 3 rd July | 2022 | Sunday | 5:07:54 AM || (Nepal) 1:52:54 AM
 
 

ओसाकामा अन्तरिक्षयान जस्तै डिजाइनको नयाँ रेल

  POSTED ON : Monday, 13 December, 2021 | Views : 924

ओसाकामा अन्तरिक्षयान जस्तै डिजाइनको नयाँ रेल


टोकियो, जापान ।

ओसाका मेट्रो कम्पनीले ‘४०० सिरिज’का रेल कार प्रयोगमा ल्याउने भएको छ । कम्पनीले चुओ लाइनमा सन् २०२३ को अप्रिलदेखि सो कार प्रयोगमा ल्याउने भएको हो ।

यसले ओसाकाको मुख्य शहरी क्षेत्रलाई सन् २०२५ मा यही शहरमा वल्ड एक्सपो आयोजना हुन लागेको स्थानलाई जोड्नेछ । कम्पनीले यसको घोषणा डिसेम्बर ९ मा गरेको भन्दै स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार छापेका छन् ।

नयाँ रेलका डब्बाहरु आल्मुनियमबाट बनाइनेछ । यसको डिजाइन अगाडिपट्टि अष्ट भुजाकार हुनेछ । झट्ट हेर्दा यसले अन्तरिक्षयानको झल्को दिनेछ । हरेक डब्बाको बडीमा मुख्य कलर सिल्भर रंगको हुनेछ । चालकहरुले बाहिरको दृश्य पनि राम्ररी हेर्न सकुन् भनेर रेलको अगाडितर्फ ठूलो शिशाको विन्डशिल्ड जडान गरिनेछ । रेलको छतमा विज्ञापनहरु राखिनेछैन ।

रेलमा कोरोना भाइरस फैलिन नदिने उपायस्वरुप एयर प्युरिफायर जडान गरिनेछ । हरेक उपकरणको टाढैबाट निरन्तर सञ्चालन अवस्थाको निगरानी गर्न र कन्ट्रोल सेन्टरहरुबाट कमान्ड पठाउन रिमोट प्रविधि अपनाइनेछ ।

कम्पनीले आर्थिक वर्ष २०२४ मा सो रेलमा स्वचालित सञ्चालन पनि परीक्षण गर्नेछन् । १३८ नयाँ डब्बा भएको २३ ओटा रेल सञ्चालनमा ल्याउन करीब ३० अर्ब येन (२ खर्ब ६४ अर्ब अमेरिकी डलर) खर्च लाग्ने अनुमान गरिएको छ ।

बचाव र सुरक्षालाई दृष्टिगत गर्दै आफूहरुले रेललाई चढ्न रमाइलो हुने बनाएको ओसाका मेट्रोका प्रेसिडेन्ट हिदायकी कवाईले पत्रकार सम्मेलनमा भने । आफूहरुले यात्रीहरुलाई रोमाञ्चक अनुभव प्रदान गर्दै एक्सपोको सफलतामा योगदन दिन चाहेको पनि कावाईले बताए ।

नयाँ मेट्रो स्टेशन युमेशिमाको कृत्रिम टापु बनाइनेछ । ओसाकाको कोनोहाना वडामा रहेको युमेशिमामा वल्र्ड एक्सपो हुँदैछ । यहाँसम्म अहिलेको चुओ लाइनलाई विस्तार गरिनेछ ।