(Japan) 20 th May | 2022 | Friday | 2:39:54 AM || (Nepal) 11:24:54 PM
 
 

जापानमा प्लाष्टिकका सस्ता छाता महिला भन्दा पुरुषले धेरै प्रयोग गर्ने

  POSTED ON : Saturday, 13 November, 2021 | Views : 3114

जापानमा प्लाष्टिकका सस्ता छाता महिला भन्दा पुरुषले धेरै प्रयोग गर्ने


टोकियो, जापान ।

जापानमा वर्षातको मौसममा मात्रै होइन शिशिर अनि ताइफुका बेलामा पनि वर्षा हुन्छ । पानी परेको बेलामा जापानीहरुमाझ प्लाष्टिकका सस्तो खालको छाता निकै लोकप्रिय रहेको हालै भएको एक सर्वेक्षणले देखाएको छ । 

अनुसन्धान कम्पनी प्लानेटले करीब ४ हजार मानिसहरुलाई पानी पर्दा के प्रयोग गर्ने गरेको छ भनेर सोधिएको थियो । बहुउत्तर लिइने यस सर्वेक्षणमा ६७ दशमलव ४ प्रतिशतले दोबार्न नमिल्ने छाता बताएका थिए ।

त्यस्तैगरी, ६७ प्रतिशतको रोजाई दोबार्न मिल्ने छाता थियो । यद्यपि, हरेक दुई मध्ये एक उत्तरदाता अर्थात् ४९ दशमलव ४ प्रतिशताले प्लाष्टिकको छाता प्रयोग गर्ने गरेको बताएका थिए । अधिकांशले ५०० देखि ९९९ येनबीच मूल्य पर्ने छाता प्रयोग गरेका थिए । यस्तो बताउनेको संख्या २८ दशमलव १ प्रतिशत थियो । 

त्यस्तैगरी, २० दशमलव ९ प्रतिशतले भने छातामा १ हजार देखि १ हजार ९९९ येन खर्च गर्ने गरेको बताए । १६ दशमलव ९ प्रतिशतले भने छाताका लागि ५०० येन भन्दा पनि कम तिरेको पाइएको छ ।

प्लाष्टिकको छाता नै प्रयोग नगरेको भएपनि ६० प्रतिशतभन्दा धेरैलाई २ हजार येन भन्दा कम मूल्य पर्ने सस्तो खालका छाता मन पराएको थिए । विशेषगरी, पुरुषहरुले सस्तो खालको छाता मन पराएको पाइएको छ । यिनीहरुले यस्ता छाताका लागि ५०० येनभन्दा कम वा ५०० देखि ९९९ येनसम्म खर्च गर्ने गरेका छन् ।

महिलाहरुले भने बढी पैसा तिरेर छाता किन्ने गरेका छन् । अकस्मात पानी पर्दा वर्षातबाट बच्न कत्तिको छातालगायत सामान किन्ने गरेको छ भनेर सोधिएको प्रश्नमा ४४ दशमलव ४ प्रतिशतले कहिले पनि किन्ने नगरेको बताए । 

कुल गरेर ४५ प्रतिशतले भने वर्षमा एक पटक भन्दा कम वा करीब एक पटक भन्ने जवाफ दिएका छन् । कार्यस्थलमा जगेडा छाता राख्ने गरेको छु भन्ने जवाफ दिनेमा महिलाको तुलनामा पुरुषको संख्या निकै धेरै थियो ।