टोकियो, जापान ।
प्रतिव्यक्ति १० मान येन अनुदान उपलब्ध गराउन जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र कोमेईतो पार्टीबिच सहमती जुटेको छ । जस अनुसार प्रतिबर्ष ९६ लाख येन भन्दा कम आय भएका परिवारका १८ बर्ष वा सो भन्दा कम उमेरका व्यक्तिलाई १००,००० येन उपलब्ध गराईनेछ ।
जापानको सत्तारुढ गठबन्धनले बुधबार सरकारको कोभिड-१९ प्रोत्साहन प्याकेजको भागको रूपमा १८ वर्ष वा सोभन्दा कम उमेरका प्रत्येक बालबालिकालाई १,००,००० येन र चौचर दिने आफ्नो योजनाबाट उच्च आय भएका घरपरिवारहरूलाई हटाउने सहमती गरेका हुन् । यसको अर्थ जापानमा उच्च घरानियाको रुपमा रहेका सम्पन्न परिवारले १९ बर्ष मुनिका बालबालिका भएपनि १० मान येन सरकारी अनुदान पाउने छैनन् ।
प्रधानमन्त्री किशिदा र कोमेईतोका प्रतिनिधि यामागुचीबीच नोभेम्बर १० तारिख बिहान प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएर यस बारेमा सहमती भएको हो ।
साथै, बैठकमा कोरोनाको साथ जीवनयापनमा समस्या परेका मानिसहरूलाई सहयोगको रूपमा, आवास करमा छुट भएका घरपरिवारहरूलाई प्रति परिवार १००,००० येन नगद उपलब्ध गराउने सहमती भएको छ । साथै विद्यार्थी र आवासको लागि सहयोग गरिने भएको छ ।
यस बाहेक माई नम्बर कार्डको प्रयोगलाई प्रवर्द्धन गर्न नयाँ सहयोग अंक प्रदान गर्ने सम्बन्धमा तीन चरणमा अधिकतम २०,००० येन प्रदान गर्ने सहमति भएको छ ।
यसबारेमा विस्तृ निर्णय सरकारले यहि नोभेम्वर १९ तारिख गर्ने बताएको छ । घोषित सहयोग रकम जापानमा १८ बर्ष भन्दा कम उमेरका ९० प्रतिशत घर परिवारले पाउने बताईएको छ ।