(Japan) 20 th May | 2022 | Friday | 4:10:51 AM || (Nepal) 12:55:51 AM
 
 

घुम्ने हैन जापान ? पीच एयरको ट्राभल पास : एक महिनासम्म जापानभर जति यात्रा गरेपनि पाईने

  POSTED ON : Saturday, 16 October, 2021 | Views : 7220

घुम्ने हैन जापान ? पीच एयरको ट्राभल पास : एक महिनासम्म जापानभर जति यात्रा गरेपनि पाईने


टोकियो, जापान ।

पीच एयरले पर्यटन प्रर्वद्धन गर्न मंगलबारबाट ट्राभल पास जारी गर्ने भएको छ । निश्चित रकमबाट जापानभर असिमित यात्रा गर्न पाईने विशेष यो पास भारी छुट सहितको रहेको छ ।

सस्तो हवाई यात्राको रुपमा परिचित पीच एभिएशन लिमिटेडले असीमित यात्रा पास जारी गर्ने भएको हो । जसले पास पाएकाहरुलाई एक महिनाको लागी एयरलाइन्सको घरेलु उडानहरुमा सहुलियत प्रदान गर्नेछ । कोरोना भाइरस महामारीबाट प्रभावित पर्यटन उद्योगलाई पुनर्जीवित गर्नको लागी एयरलाइन्सले यस्तो योजना ल्याएको बताएको छ ।

ओसाकामा आधारित कम्पनीले देशव्यापी रुपमा १५० यस्ता यात्रा सहुलियत कार्ड विक्रि गर्नेछ । एयरलाइन्सले सहुलियत पासको मुल्य १९,८०० येन देखि ३९,८०० येनसम्म तोकेको छ । यस्तो विशेष सहुलियत टिकट मंगलबार दिउँसोदेखि १५० वटा बिक्री गर्न थाल्नेछ ।

पास पाउन सफल व्यक्तिहरु नोभेम्बर महिनामा प्रस्तावित सबै ३३ घरेलु हवाई मार्गहरुमा यात्रा गर्न सक्नेछन् । एयरलाइन्सले मानिसहरु देशको बिभिन्न भागहरुमा घुमफिर वा कामको क्रममा पनि मजा लिन सकुन् भन्ने अपेक्षा लिएको छ । टेलिवर्क अनुमति पाएकाहरुले यात्रा गर्दै रमाउन सकुन् भन्ने कम्पनीले आशा गरेको छ ।

जापानमा यस गर्मीको संक्रमणको पाँचौं लहरको क्रममा कोरोना भाइरस संक्रमणको किर्तिमानी संख्या देखिएको थियो । जसले सरकारलाई टोकियो र देशका अन्य भागहरुमा आपतकालिन अवस्था जारी गर्न बाध्य पारेको थियो । आपतकालका कारण मानिसहरुलाई अनावश्यक बाहिर निस्कन र प्रिफेक्चुरल सीमाहरु पार गरेर नजान सरकारले आग्रह गरेको थियो ।

पीच एभिएशनले दुई प्रकारका असीमित यात्रा पास प्रदान गनेर्छ । जुन एउटा 'लाइट योजना' हो । यस योजनामा यात्राको भाडा मात्र कभर गर्दछ । अर्को 'विशेष योजना'मा यात्रुहरुलाई आफ्नो सीट छनौट गर्न र सामानको एउटा लगेज नि:शुल्क लैजान छुट दिन्छ ।

लाइट पासको लागि १९,८०० र विशेष पासको लागि २९,८०० येन लाग्नेछ । पहिलो कुल ३० वटा पासको लागी न्यूनतम रकम लाग्नेछ । बाँकी १२० को लागी प्रत्येक पासको १०,००० येनको दरले बढी खर्च पर्नेछ । अर्थात् जति छिटो यस्तो पास लिन सक्यो उति सस्तो पर्नेछ ।

गत बर्ष जुलाईमा जापानले महामारीको बेलामा भोगेको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न गो टु ट्राभल सहुलियत कार्यक्रम सुरु गरेको थियो । तर सरकारले डिसेम्बरमा कोभिड महामारीमा आएको बृद्धिपछि निलम्बन गरेकोमा अझै सुचारु गरेको छैन ।

जापानका नयाँ पर्यटन मन्त्री तेत्सुओ साईतोले यसै महिनाको सुरुमा आपतकालिन अवस्था हटाईएपछि यसलाई कहिले सुचारु गर्ने भन्ने बारे सोचिरहेको बताएका थिए ।

धेरैले आगामी साता भित्रमै 'गो टु इट' तथा 'गो टु ट्राभल' जस्ता अभियान सुरु हुने अपेक्षा गर्दै आएका छन् ।

तर संसद भंग गरेर आम निर्वाचन घोषणा गरेकाले सरकारले निर्वाचन अघि यस्तो अभियानलाई गम्भिरताका साथ विस्तारै खुलाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।