(Japan) 20 th May | 2022 | Friday | 3:44:07 AM || (Nepal) 12:29:07 AM
 
 

पेट्रोलको भाउ बढेर जापानमा ७ वर्षकै महंगो

  POSTED ON : Saturday, 16 October, 2021 | Views : 908

पेट्रोलको भाउ बढेर जापानमा ७ वर्षकै महंगो


टोकियो, जापान ।

जापानमा पेट्रोलको औसत भाउ बढेर यस हप्ताको शुरुमा सात वर्षकै उच्च स्तरमा उक्लिएको छ । अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले बुधबार बताएअनुसार नियमित खालको पेट्रोलको औसत भाउ प्रतिलिटर १६२ दशमलव १० येनमा पुगेको छ । यो सन् २०१४ को अक्टोबरयताकै उच्च भएको मन्त्रालयले बताएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको आपतकाल हटेपछि घरेलु यात्राको माग बढ्छ भन्ने अनुमान भइरहेकै समयमा पेट्रोलको भाउमा भएको यो वृद्धिले जापानमा घरपरिवारको खर्चमा वृद्धि गराउने अपेक्षा गरिएको छ ।

प्रति ट्याङ्क मट्टितेलको भाउ पनि लगातार ६ हप्ता बढेर १ हजार ८१४ रहेको छ । विश्वभर कोभिडका बिरामीको संख्या घट्ने र आर्थिक पुनःबहालीले माग बढाउने अपेक्षामा विश्व बजारमा कच्चा तेलको भाउ बढिरहेको छ ।

तर यो वृद्धिले कच्चा पदार्थको भाउ पनि बढाउने र कर्पोरेट मुनाफा खुम्च्याउने अपेक्षा गरिएको छ । आगामी हप्ता पनि पेट्रोलको भाउ निरन्तर बढ्ने अनुमान गरिएको तेल सूचना केन्द्रले बताएको छ ।

हालैका हप्ताहरुमा कच्चा तेलको भाउमा भएको वृद्धिले मुद्रास्फीति बढाउने र विश्व अर्थतन्त्रको पुनःबहालीमाथिको अनिश्चिय झनै जगाउने विश्लेषकहरुले बताएका छन् ।