(Japan) 20 th May | 2022 | Friday | 2:47:44 AM || (Nepal) 11:32:44 PM
 
 

खोप कोष बलियो बनाउन जापान ५ खर्ब येन जोहो गर्दै

  POSTED ON : Saturday, 16 October, 2021 | Views : 1274

खोप कोष बलियो बनाउन जापान ५ खर्ब येन जोहो गर्दै


टोकियो, जापान ।

जापानले ५ खर्ब येन (४ अर्ब ४० करोड डलर)को खोप कोष खडा गर्ने भएको छ । संक्रामक रोग विरुद्धको खोप र नयाँ औषधिको विकास गरिरहेका कम्पनीहरुलाई टेवा दिन सरकारले सो कोष स्थापना गर्ने योजना बनाइरहेको हो ।

यसलाई प्रधानमन्त्री फुमिओ किशिदा गत हप्ता कार्यभार सम्हालेपछि बनाउन थालिएको पहिलो आर्थिक प्याकेजमा समावेश गरिने बुधबार सरकारी स्रोतहरुको भनाइ उद्धृत गर्दै क्योदो न्यूजले समाचार छापेको हो ।

किशिदाले कोरोना भाइरस विरुद्धको प्रतिक्रियालाई मजबूत बनाउनुको साथै जापानको विज्ञान र प्रविधिलाई पनि बलियो बनाउने वाचा पनि गरेका छन् । कोभिड–१९ विरुद्धको खोप विकासमा जापानी कम्पनीहरु विदेशी प्रतिस्पर्धी कम्पनीहरुभन्दा पछाडि परेको र खोप कार्यक्रमका लागि विदेशी कम्पनीमाथि पूर्ण रुपमा निर्भर पर्नु पर्ने अवस्थाबीच सरकारले कोष स्थापना गर्न लागेको हो ।

जापानले खोपको लागि विश्वमै उत्तम खालको अनुसन्धान र विकास आधारको स्थापना गर्नेछ भनेर योजनाको मस्यौदामा भनिएको छ । आर्थिक प्याकेज अक्टोबर ३१ मा तल्लो सदनको निर्वाचन भएपछि तयार पारिनेछ ।

अनुसन्धान गतिविधि बढाउन र जापानलाई विज्ञान र प्रबिधिको देश बनाउन सरकारले विश्वविद्यालयलाई कोषको आकार पनि ६ खर्ब येनले बढाउने स्रोतहरुले बताएका छन् । ४५ खर्ब येन बराबरको कोष मार्चसम्ममा शुरु गरिनेछ । यसले जापानका विश्वविद्यालयहरुलाई भविष्यमा गरिने अनुसन्धानहरुमा मद्दत गर्नेछ । यस कोषको आकार अन्ततः बढाएर १०० खर्ब येन बढाउने किशिदाको योजना छ ।