(Japan) 19 th April | 2024 | Friday | 12:33:18 PM || (Nepal) 9:18:18 AM
 
 


जापानमा बुढ्यौलीमा २ करोड ८० लाख येन बचत चाहिने !

  POSTED ON : Friday, 08 October, 2021 | Views : 2536

जापानमा बुढ्यौलीमा २ करोड ८० लाख येन बचत चाहिने !


टोकियो, जापान ।

बुढेसकाल कस्तो होला भनेर हामीमध्ये धेरैलाई चिन्ता छ । जापानमा पनि हालै भएको एक सर्वेक्षणमा ८३ दशमलव ३ प्रतिशत उत्तरदाताहरुले बुढेसकालबारे चिन्तित रहेको वा केही हदसम्म चिन्तित भएको बताएका छन् ।

उनीहरुलाई चिन्ता पैसाको थियो । मेट लाइफ इन्सुरेन्सले गरेको यस सर्वेक्षणमा २० देखि ७९ वर्षबीचका करीब १४ हजार १०० जापानीहरुलाई समावेश गरिएको थियो ।

सर्वेक्षणमा सहभागीहरुले सेवानिवृत्ति पछि आवश्यक पर्ने बचतको आकार औसत २ करोड ८३ लाख येन बताएका छन् । तर उनीहरुसँग अहिले औसत १ करोड १८ लाख येन बराबरको वित्तीय सम्पत्ति भएको पाइएको छ । यो भनेको उनीहरुले चाहेको आकारको आधा भन्दा पनि निकै कम हो ।

औसतमा ५० देखि ५९ वर्षबीच अर्थात् सेवा निवृत्तिको अवस्थामा पुग्दै गरेकाहरुले आफूलाई २ करोड ९५ लाख चाहिने बताएका छन् । उनीहरुसँग अहिले आफूसँग १ करोड १५ लाख मात्रै छ । यसको अर्थ उनीहरुले आशा गरेको भन्दा १ करोड ८० लाख येन कम बचत छ ।

आफूलाई सेवानिवृत्तिबारे चिन्ता नभएको बताउनेसँग भने २ करोड ३३ लाख येन बचत भएको पाइएको छ । आफू वा परिवारका सदस्यहरुलाई नर्सिङ केयर हेरचाह उपलब्ध गराउनेबारे चिन्तित छन् कि भनेर सोधिएको प्रश्नमा ७५ दशमलव ८ प्रतिशत उत्तरदाताहरुले धेरै आफ्नै बारे चिन्तित रहेको बताएका थिए ।

७४ दशमलव ७ प्रतिशत उत्तरमा भने आफ्नो जहानको बारे चिन्ता भएको पाइयो । आफ्नो आमाबारे चिन्ता व्यक्त गर्नेको संख्या ४८ दशमलव ९ प्रतिशत थियो भने बुबा र जहानको बुबाको बुढेसकालमा नर्सिङ केयरबारे चिन्ता गर्नेको संख्या क्रमशः ३७ दशमलव २ प्रतिशत र ३० दशमलव २ प्रतिशत थियो ।

परिवारका सदस्यहरुबारे नर्सिङ केयरबारे पहिला देखि नै छलफल गरिरहेको छु भन्नेको संख्या १३ दशमलव ३ प्रतिशत मात्रै देखिए । १९ दशमलव४ प्रतिशतले भने यसबारे कुरा नगरेको बताए । ६७ दशमलव ४ प्रतिशतले भने यस विषयमा छलफल फिटिक्कै गरेका छैनन ।

मानिसहरुमा बुढयौलीबारे चिन्ता भएपनि उनीहरु वास्तविकता भोग्न भने तयार नभएको जस्तो देखिएको छ । ६० देखि ७९ वर्ष उमेर समूहमा पनि ५६ दशमलव ७ प्रतिशतले यसबारे कहिले कुराकानी नै नगरेको अभिव्यक्ति दिएका छन् ।

आफ्नो खर्च आफैं बेहोर्न तयार छन् त भनेर सोध्दा ७१ दशमलव ५ प्रतिशत उत्तरदाताहरुले आफूले यसका लागि पैसा नै नछुट्याएको बताएका छन् । ६० देखि ७९ वर्ष उमेर समूहमा पनि यस्तो जवाफ दिनेको संख्या आधा भन्दा धेरै थियो ।