टोकियो, जापान ।
विगत दुई वर्षमा जापानले उपभोक्तालाई घाँटि अँठ्याउनेगरि भइरहेको उच्च मूल्य वृद्धिलाई बेवास्ता गरिरहेको स्वयं जापानीहरु बताइरहेका छन् । तर पछिल्लो पटक भएको मूल्य बृद्धिले उपभोक्तामा सबैभन्दा बढी मार पार्ने देखिएको छ ।
उदाहरणको रुपमा लिगौं बन्दागोभी । गत बर्ष जस्तै यस बर्षपछि जापानमा हजारौं खाद्यान्नको मूल्य बढ्दैछ । तर सरकारको पछिल्लो सर्वेक्षणमै उच्च मूल्य बृद्धि भइरहेको ताजा तरकारी मध्ये बन्दागोवीको आकासिएको मूल्यले केही रेस्टुरेन्टहरू संकटमा पर्ने अवस्थामा छ ।
यसअघि अण्डा र चामको उच्च मूल्य बृद्धिले ढाड सेकिएका उपभोक्ता र रेष्टुरेण्ट व्यवसायहरु बन्दागोभीको मूल्य आकासिंदा खानमा यसको प्रयोग घटाउने, खानाको मेन्यूबाटै बन्दागोभी हटाउने देखि असिमित मात्रामा थपेर खान पाइने नियम फेरेर थप्न नपाउने वा एकपटक मात्र थप दिन सक्ने नियमहरु लागू गर्न बाध्य हुन थालेका छन् ।
जापानमा बन्दागोभी सामान्यतया एउटाको ४०० येन आसपासमा विक्रि हुने गरेको छ । तर अहिले टोकियोका केही सुपरमार्केटहरूमा हेर्नु भयो भने एउटा बन्दागोभीको मूल्य ५ सय येन भन्दा माथि ठूलो साइजको ९ सय येनसम्म बेचिरहेको देखिन्छ । ह्योगो प्रिफेक्चरको एउटा सुपरमार्केटमा एउटै बन्दागोभीको मूल्य १,०९० येनमा विक्रिमा राखिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बन्दागोवीको मूल्य पहिले नै बढिरहेको थियो, जुन एक वर्ष अघिको तुलनामा डिसेम्बरमा ३ गुणा बढेको थियो । आइची र चिबा जस्ता बन्दाकोपी उत्पादन गर्ने प्रान्तहरूमा गत गर्मीमा तातो, सुख्खा मौसमले बाली उत्पादन घटेको थियो ।
जापानको वृद्ध जनसंख्या र श्रमिक अभावले पनि बन्दागोभीको उत्पादन घट्नु र मूल्य बृद्धिमा भूमिका खेल्न सक्छ । मूल्य वृद्धिपछि चोरहरुले बिरलै चोरि हुने गरेको तरकारीहरुमा समेत आँखा लगाउन थालेका छन् । केहि स्थानमा चोरिका घटनाहरु पहिले नै भइसकेका छन् ।
मूल्य वृद्धिले जापानका तोन्कात्सु रेस्टुरेन्टहरू बढि समस्यामा परेका छन् । जापानको क्लासिक फ्राइड पोर्क कटलेटको छेउमा बन्दाकोपीको प्रशस्त मात्रा राखेर ग्राहकलाई सेवा गरिन्छ । तर हालै बन्दागोभीमा भएको मूल्य बृद्धि पछि त्यो मात्रा घटेको ग्राहकहरु अनुभव गर्न थालेका छन् भने संचालकहरु समेत मूल्य बृद्धिले दबावमा राखेको बताउन थालेका छन् ।
एउटा तोन्कात्सु रेस्टुरेन्टका मालिक, कात्सुकिचीले पत्रकारहरूलाई सुँगुरको मासुको मूल्य सामान्य मूल्यमा फर्किएको तर बन्दागोभीको मूल्य आकाशिएपछि हालको मूल्यमा सेवा संचालनमा कठिनाइ भइरहेको बताएका छन् । उनले सुँगुरको मासु भन्दा बन्दागोभी महंगो पर्न जान थालेको बताए ।
केही जापानी सामाजिक सञ्जाल टिप्पणीकर्ताहरूले यी परिस्थितिहरूमा बन्दागोभी त्याग्न सक्ने र सलाद र 'हाकुसाई' जस्ता सस्ता तरकारीहरू खानतिर लाग्न सक्ने बताएका छन् । दुर्भाग्यवश, सामान्यतया तरकारीको मूल्य औषत रहने जापानमा आगामी दिनमा अझै मूल्य बढ्न सक्ने सरकारी पूर्वानुमानका बिच उपभोक्ताहरु सिमित कमाईले असिमित मूल्य बृद्धिको मारलाई स्विकार्दै रोजेको खाना भन्दापनि पेट अघाउने खाना खाने सोच बनाउन बाध्य भइरहेका छन् ।