काठमाडौं, नेपाल ।
सम्भवत नेपाली बजारमा सुनको मुल्यमा अहिलेसम्मकै धेरै मूल्य गिरावट आज भएको छ । नेपाल सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ सोमबार एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको छ ।
आईतबार एक लाख ६७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको भाउ कात्तिक अन्तिममा लगातार घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ ।
मङ्सिर लागेपछि निरन्तर बढेको सुनचाँदीको भाउ सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै आज एकैदिन ठूलो अङ्कले घटेको हो ।
सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।
भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो ।
ठूला सुन व्यापारीहरु सुनको मूल्यमा अझै गिरावट आउनसक्ने भन्दै भएका सुन बेच्न र नयाँ किन्न हिच्किचाइरहेको बताइन्छ ।
तोलामा एक लाख ४० हजार रुपैयाँसम्म आउने अवस्था रहेको अनुमानका बिच सुनमा उच्च मुल्य गिरावटपछि किन्ने उपभोक्तहरु समेत हच्किएर पर्ख र हेरको अवस्थामा पुगेका छन् । तर हिजो मात्र सुन किन्नेहरुलाई भने एकैदिनको मूल्य फरकले ठूलो झड्का दिएको छ ।