(Japan) 30 th November | 2022 | Wednesday | 11:59:56 AM || (Nepal) 8:44:56 AM
 
 

पार्ट्सको आपूर्तिमा अवरोध भएपछि टोयोटा रुसमा रहेको कारखाना बन्द गर्दै

  POSTED ON : Monday, 26 September, 2022 | Views : 452

पार्ट्सको आपूर्तिमा अवरोध भएपछि टोयोटा रुसमा रहेको कारखाना बन्द गर्दै


टोकियो, जापान ।

जापानी मोटर निर्माता कम्पनी टोयोटाले रुसमा रहेको आफ्नो कारखाना बन्द गर्ने भएको छ । कम्पनीले शुक्रवार यस्तो निर्णय गरेको हो । 

सवारी साधन बनाउन चाहिने मुख्य सामाग्री र पार्ट्सको आपूर्तिमा अवरोध भएपछि कम्पनीले सो निर्णय गरेको हो । टोयोटाले आपूर्ति शृङ्खलामा अवरोध भएको भन्दै मार्चमै सेन्ट पिटर्सबर्गमा रहेको कारखानामा उत्पादन रोकेको थियो, रुसमा आयात पनि बन्द गरेको थियो ।

तर ६ महीनापछि पनि कम्पनीले सामान्य गतिविधिहरु सञ्चालन गर्न नसकेको र भविष्यमा पनि गतिविधि सञ्चालन गर्न सकिने कुनै संकेत नदेखेको भन्दै कम्पनलिे रुसमा सञ्चालन बन्द गर्ने बताएको हो ।

टोयोटा र लेक्ससका विद्यमान ग्राहकहरुलाई आफ्टर सेल्स सेवा निरन्तर दिइने बताइएको छ । रुसले फेबु्रअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता कयौं अटो निर्माताहरुले रुसमा उत्पादन रोकेका छन्, कर्मचारीलाई अस्थायी रुपमा बिदा दिएका छन् भने कयौं कम्पनी रुसबाट बाहिरिएका छन् ।

फ्रेन्च अटो निर्माता कम्पनी रेनोले आफ्नो अधिकांश हिस्सा रुसी कम्पनीलाई एक रुबलमा बेचेको खबर आएको थियो । लक्जरी कार निर्माता कम्पनी जागुआरले पनि रुसमा निर्यात बन्द गरेको छ ।

फोर्ड र बीएमडब्लयूले केही उत्पादन स्थगित गरेका छन् । भोल्भोले जुलाईमे रुसी कम्पनीमा कर्मचारी कटौती थालेको थियो । केही भने रुसमा भएभरका व्यवसाय त्यागेर निस्किएका छन् ।