टोकियो, जापान ।
जापानी वायु सेवा प्रदायक कम्पनी अल निप्पोन एयरवेज (आना)ले पेचिङ र नारिताबीचको उडान सेवा पुनः सुचारु गर्ने भएको छ ।
कम्पनीले बिहिबार गरेको घोषणाअनुसार जुलाई ११ देखि नारिता अन्तरराष्ट्रिय विमानस्थल र पेचिङबीच यात्रुबाहक उडान सेवा पुनः सञ्चालन गरिनेछ ।
कोरोना भाइरसको महामारी फैलिन थालेपछि कम्पनीले २ वर्षभन्दा बढी समयदेखि सो सेवा स्थगित गर्दै आएको थियो । कम्पनीले अहिलेको लागि पेचिङ-नारिताबीच हरेक हप्ता सोमबार एकतर्फी उडान मात्रै सञ्चालन गर्नेछ ।
आनाको विमानमा जाने कुनै यात्रीलाई कोभिड पाइएमा प्रत्यक्ष उडान तत्कालै बन्द हुन सक्ने विज्ञहरुले बतताएका छन् । कोरोना भाइरसको महामारी शुरु हुन थालेपछि सन् २०२० को शुरु देखि नै चीनले पेचिङ र जापानका हरेक शहरबीच हुने प्रत्यक्ष उडान स्थगित गरेको थियो ।
मंगलबार चीनले विदेशबाट आएका यात्रीहरुको केन्द्रीकृत क्वारन्टिन १४ दिनबाट घटाएर ७ दिनमा ल्याउने निर्णय गरेको छ ।
चीनले महामारीले चौपट भएको पयर्टन क्षेत्रलाई टेवा दिन कोभिडका कारण लगाइएको प्रतिबन्धहरु खुकुलो पारेपछि पेचिङ र नारिताबीचको उडान पुनः सञ्चालनमा ल्याउन चीन सहमत भएको स्रोतले बताएका छन् । बुधबारदेखि टोकियो र सोलबीचको प्रत्यक्ष उडान शुरु भएको छ ।