(Japan) 3 rd July | 2022 | Sunday | 5:23:39 AM || (Nepal) 2:08:39 AM
 
 

हानेदा र सोलबिचको उडान सुचारु हुने, सोल र काठमाडौंबिच पनि सुचारु हुँदै

  POSTED ON : Thursday, 23 June, 2022 | Views : 576

हानेदा र सोलबिचको उडान सुचारु हुने, सोल र काठमाडौंबिच पनि सुचारु हुँदै


टोकियो, जापान ।

दक्षिण कोरियाली सरकारले कोरोना भाइरस महामारीका कारण दुई वर्षभन्दा बढी समयदेखि रोकिएको दुई देशका राजधानीहरूबीच अर्को हप्ताबाट उडानहरू सुचारु गर्न जापानसँग सहमती जनाएको छ ।

सियोलको जिम्पो एयरपोर्ट र टोकियोको हानेदा एयरपोर्ट बीचको रुट जुन २९ मा पुन खोलिने भएको छ । चार एयरलाइन्स कम्पनीहरु कोरियन एयर र दक्षिण कोरियाको एशियाना एयरलाइन्स र जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले हप्तामा कुल आठ राउन्ड ट्रिपहरू सञ्चालन गर्ने भएका छन् ।

मागअनुसार जुलाईदेखि उडान संख्या बढाउने मन्त्रालयले जनाएको छ ।

दुबै एयरपोर्टहरू आ आफ्ना राजधानी शहर केन्द्रहरू नजिक छन् । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले युद्धकालका मुद्दाहरूमा वर्षौंको विवादपछि दुई देशहरू बीचको सम्बन्ध सुधार गर्ने वकालत गर्दै आएका छन् । एसियाली छिमेकीहरूका जनताहरू बीचको आदानप्रदानलाई प्रवर्द्धन गर्न उडानहरू पुन सुरु गर्न इच्छुकता देखाएपछि यो कदम चालिएको हो ।

दक्षिण कोरियाले पनि जापानबाट आउने पर्यटकको संख्या बढाउन सहयोग गर्ने अपेक्षा गर्दै विदेशी पर्यटकलाई भिसा जारी गर्न थालेको छ ।


जापानबाट नेपाल यात्रा गर्न नयाँ विकल्प खुल्यो

यसैबिच बुधवार नै दक्षिण कोरिया र नेपाल बिचको हवाई उडानपनि सुचारु गर्ने कोरियन एयरलाईन्सले घोषणा गरेको छ । आगामी अगष्ट महिनाबाट साताको दुई दिन सोमबार र बुधवार कोरियन एयरले काठमाडौंको लागि सोलबाट उडान भर्ने जनाएको छ ।

मलेसिया, दुवई, कतार जस्ता देश हुँदै लामो ट्रान्जिट र लामो हवाई यात्रा गरेर नेपाल यात्रा गरिरहनुपरेका यात्रुहरुले कोरियाको छोटो रुट प्रयोग गर्न विकल्प खुल्ने भएको छ । 

ट्रान्जिट बाहेक नेपाल जापान यात्रामा सिधा र सहज यात्रा भने नेपाल एयरलाईन्सले गराउँदै आएको छ । जसको हवाई यात्रा दुरी केवल ८ घण्टा मात्र रहेको छ ।

महामारी पछि कोरियन एयरले चार्टर उडानको मार्फत काठमाडौ उडान गर्दै आएको थियो । यसरी गरिएको उडानमा यात्रुहरुले एकतर्फी उडान गर्दा सस्तोमा १० लाख ९० हजार वन (१ लाख ९ हजार रुपैयाँ) दुई तर्फी उडान भर्ने यात्रुले १९ लाख वन (१ लाख ९० हजार ) तिर्दै आएका थिए । चर्को शुल्क तिरे पनि कहिले उडान रद्द हुने र कहिले उडान तालिका परिवर्तन भइरहने समस्या भोग्दै आएका थिए ।

कोरोना संक्रमणकाल भन्दा पहिले एकातर्फी उडानका लागि ६ लाख ८० हजार वन (६८ हजार रुपैया) दुई तर्फी उडान गर्ने यात्रुले ८ लाख ६० हजार (८६ हजार रुपैया) मात्रै यात्रुले तिरे पनि इकोनोमी क्लासको टिकट पाइन्थ्यो ।

कोरियन एयरले नियमित उडान गर्ने भए शुल्क केही कम हुने भए पनि पहिलेकै शुल्क भन्दा बढि नै मूल्य तोकिएको छ । अगस्ट महिनाको लागि भनेर कोरियन एयरले एकतर्फी उडानका लागि ईकोनोमी क्सासको टिकट सबै भन्दा सस्तो ९ लाख वन (९० हजार) तोकेको छ भने दुई तर्फी उडानका लागि १६ लाख वन (१ लख ६० हजार) लाग्ने जनाएको छ ।

यसैबिच कोरिया र नेपालबिच नियमित उडान हुनेभएपछि जापानबाट यात्रा गर्ने यात्रुहरुको लागि पनि बिकल्प खुल्नेछ । 

हाल नेपाल र जापान यात्रा गर्ने यात्रुहरुका लागि सिंगापुर, मलेसिया, दुबई, कतार लगायत देश हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । नेपाल र जापान सिधा यात्राको लागि भने एक मात्र हवाई उडान नेपाल वायुसेवा निगमले गर्दै आएको छ ।  

नेपाल वायुसेवा निगमले नेपाल र जापानको लागि सातामा दुई दिन नियमित उडान गर्दै आएको छ । कोभिड महामारी अघी दुईतर्फी यात्राको करिव १ लाख रुपैया पर्ने गरेकोमा नेपालबाट जापान आउने यात्रुले एकतर्फिकै १ लाख भन्दा बढी तिर्नुपरिरहेको छ ।