(Japan) 3 rd July | 2022 | Sunday | 5:12:52 AM || (Nepal) 1:57:52 AM
 
 

अगस्टबाट कोरियन एयरले सोल काठमाडौं नियमित उडान गर्ने, जापान यात्राको लागि नयाँ बिकल्प

  POSTED ON : Thursday, 23 June, 2022 | Views : 2006

अगस्टबाट कोरियन एयरले सोल काठमाडौं नियमित उडान गर्ने, जापान यात्राको लागि नयाँ बिकल्प


सोल, दक्षिण कोरिया ।

कोरियन एयरले आगामी अगस्ट महिनादेखि सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । प्रत्येक सोमबार र बुधबार साताको दुईदिन उडान गर्ने एयरले जनाएको छ । कोरोना महामारीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो ।

नियमित उडान भएसँगै लामो समयदेखि कोरिया आउन प्रतिक्षारत युवाहरु सहजै रोजगारका लागि यहाँ आउन पाउने छन् । साथै कोरियामा रहेका नेपालीले पनि अन्य एयर मार्फत नेपाल जान र कोरिया आउन ट्रान्जिटको झन्झटिलो व्यहोरिरहेका थिए । अब ट्रान्जिटको बाध्यता हट्ने छ । साथै उडान रद्द भइरहने समस्या पनि भोग्नु पर्ने छैन ।

चर्को कामदार अभाव खेपिरहेको कोरियाले कोरोना महामारी पछि सबै क्षेत्रको जनजीवनलाई सामान्य बनाउने नीति अपनाएको छ । सोही नीति अन्तर्गत कोरियाली राष्ट्रिय ध्वजावाहक कोरियन एयरले विभिन्न देशसँग रोकिएको उडानहरु नियमित गर्न लागेको हो । यसअघि नै धेरै देशसँग नियमित उडान गरे पनि नेपालमा भने अगस्ट महिनाबाट मात्र उडान गर्ने भएको हो ।

महामारी पछि कोरियन एयरले चार्टर उडानको मार्फत काठमाडौ उडान गर्दै आएको थियो । यसरी गरिएको उडानमा यात्रुहरुले एकतर्फी उडान गर्दा सस्तोमा १० लाख ९० हजार वन (१ लाख ९ हजार रुपैयाँ) दुई तर्फी उडान भर्ने यात्रुले १९ लाख वन (१ लाख ९० हजार ) तिर्दै आएका थिए । चर्को शुल्क तिरे पनि कहिले उडान रद्द हुने र कहिले उडान तालिका परिवर्तन भइरहने समस्या भोग्दै आएका थिए ।

कोरोना संक्रमणकाल भन्दा पहिले एकातर्फी उडानका लागि ६ लाख ८० हजार वन (६८ हजार रुपैया) दुई तर्फी उडान गर्ने यात्रुले ८ लाख ६० हजार (८६ हजार रुपैया) मात्रै यात्रुले तिरे पनि इकोनोमी क्लासको टिकट पाइन्थ्यो ।

कोरियन एयरले नियमित उडान गर्ने भए शुल्क केही कम हुने भए पनि पहिलेकै शुल्क भन्दा बढि नै मूल्य तोकिएको छ । अगस्ट महिनाको लागि भनेर कोरियन एयरले एकतर्फी उडानका लागि ईकोनोमी क्सासको टिकट सबै भन्दा सस्तो ९ लाख वन (९० हजार) तोकेको छ भने दुई तर्फी उडानका लागि १६ लाख वन (१ लख ६० हजार) लाग्ने जनाएको छ ।

यसैबिच कोरिया र नेपालबिच नियमित उडान हुनेभएपछि जापानबाट यात्रा गर्ने यात्रुहरुको लागि पनि बिकल्प खुल्नेछ । 

हाल नेपाल र जापान यात्रा गर्ने यात्रुहरुका लागि सिंगापुर, मलेसिया, दुबई, कतार लगायत देश हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । नेपाल र जापान सिधा यात्राको लागि भने एक मात्र हवाई उडान नेपाल वायुसेवा निगमले गर्दै आएको छ ।  

नेपाल वायुसेवा निगमले नेपाल र जापानको लागि सातामा दुई दिन नियमित उडान गर्दै आएको छ । कोभिड महामारी अघी दुईतर्फी यात्राको करिव १ लाख रुपैया पर्ने गरेकोमा नेपालबाट जापान आउने यात्रुले एकतर्फिकै १ लाख भन्दा बढी तिर्नुपरिरहेको छ ।