(Japan) 20 th April | 2024 | Saturday | 7:35:51 AM || (Nepal) 4:20:51 AM
 
 


टोयोटा कम्पनिले उत्पादन थप कटौती गर्ने

  POSTED ON : Friday, 17 June, 2022 | Views : 1362

टोयोटा कम्पनिले उत्पादन थप कटौती गर्ने


टोकियो, जापान ।

जापानी अटो निर्माता कम्पनी टोयोटाले जापानमा रहेका आफ्नो कारखानामा थप प्रडक्शन लाइनमा उत्पादन स्थगित गर्ने भएको छ ।

कम्पनीले बिहिबार बताएअनुसार यो महीना र जुलाईको बीचमा ११ दिन ती प्रडक्शन लाइनको सञ्चालन ठप्प हुने भएको हो ।

चिप किन्न समस्या र कोरोना भाइरसको महामारी प्रकोपका कारण चीनको साङ्हाईमा रहेको एउटा आपूर्तिकर्ता प्रभावित भएपछि कम्पनीले सो निर्णय गरेको हो । उत्पादन शुक्रबारदेखि जुलाई ८ को बीचमा सात ओटा कारखानाका ११ प्रडक्शन लाइनमा रोकिनेछ ।

यो निर्णयका कारण आईची, इवाते र मियागी प्रिफेक्चरहरुमा करीब ४० हजार थान उत्पादन कटौती हुनेछ । यस अघि कम्पनीले जुनमा विश्वभर ८ लाख थान सवारी साधन उत्पादन गर्ने अपेक्षा गरेको थियो ।

अब भने उत्पादन लक्ष्य घटाएर ७ लाख ५० हजारमा झारिएको छ । कम्पनीले जुलाईको विश्वव्यापी उत्पादनको योजना भने सार्वजनिक गरेको छैन । कम्पनीले आर्थिक वर्ष २०२२ को लागि भने विश्वव्यापी उत्पादन लक्ष्य यथावत् राखेको छ ।