टोकियो, जापान ।
जापानी चिप निर्माता कम्पनी रिनेसास इलेक्ट्रोनिक्स कर्पोरेशनले बन्द भएको कारखाना ममर्त सम्भार गरेर पुनः सञ्चालनमा ल्याउन ९० अर्ब येन (६९ करोड ६० लाख अमेरिकी डलर) खर्च गर्ने भएको छ ।
कम्पनीले विद्युतीय सवारी साधनमा प्रयोग हुने शक्तिशाली चिप बनाउनका लागि मध्य जापानमा रहेको कारखाना पुनः खोल्न लागेको छ ।
विश्वभर चिप अभावका कारण सवारी साधन निर्माता कम्पनीहरु उत्पादन घटाउन बाध्य भइरहेकै समयमा कम्पनीले लगानी गर्न लागेको हो ।
कम्पनीले यामानाशी प्रिफेक्चरमा रहेको कोफु कारखाना सन् २०२४ देखि पुनः सञ्चालनमा ल्याउने योजना बनाएको छ । सो कारखाना सन् २०१४ देखि बन्द थियो । यसमा उन्नत खालको उपकरण जडान गरेर चिप उत्पादन दोब्बर बनाउने तयारी कम्पनीले गरिरहेको छ ।
पछिल्लो समय विश्वभर चिपको अभावको मार समार्टफोन देखि अटोसम्म सबै क्षेत्रमा देखिएको छ । कम्पनीले सो कोफु कारखानामा सय देखि १५० जनालाई काममा पनि राख्ने बताइएको छ ।
यो कम्पनीको सबैभन्दा ठूलो चिप उत्पादन लाइन हुन रिनेसासका सीईओ हिदेतोशी शिबाताले पत्रकार सम्मेलनमा भनेका थिए ।