(Japan) 20 th May | 2022 | Friday | 3:47:21 AM || (Nepal) 12:32:21 AM
 
 

धादिगंमा भएको एनआरएनए हेल्थ क्याम्पमा ३२७ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण

  POSTED ON : Sunday, 01 May, 2022 | Views : 304

धादिगंमा भएको एनआरएनए हेल्थ क्याम्पमा ३२७ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण


काठमाडौं, नेपाल ।

गैर आवासिय नेपाली संघ जापानको आयोजनामा नेपालको धादिगं जिल्लामा बृहत स्तरको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

धादिगंको गंगा जमुना गाउँपालिका, फुलखर्कमा रहेको मण्डली मा.वि. मा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य परीक्षण तथा उपचार गराएका छन् ।

स्वास्थ्य शिविर आयोजनाको संयोजन गर्नुभएका एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीका अनुसार स्वास्थ्य शिविरमा गाइनो, नाक, कान, घाँटी, हाडजोर्नी, बाल चिकित्सा, आँखा लगायत जनरल परीक्षण सहित आधारभूत औषधिहरु समेत वितरण गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा नेपाल नेशनल हस्पिटल कलंकिको विशेष सहयोगमा २३ जना विज्ञ चिकित्सक सहितको टोली सहभागी रहेको थियो । यस बाहेक फुलखर्क ग्रामिण हस्पिटल धादिगंको समेत विशेष सहयोग रहेको थियो ।

कार्यक्रम सफल बनाउन मण्डली माध्यमिक विद्यालय, नेपाल रेडक्रम सोसाइटी फुलखर्क, फुलखर्क ईलाका प्रहरी कार्यालय, रोटरी क्लव, स्थानिय निकाय सहित स्थानिय नागरिकहरुबाट ठूलो समर्थन र सहयोग पाएको अधिकारीले जानकारी दिनुभयो ।

अप्रिल ३० तारिख शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बिहान पानी परेर केही वाधा परेपनि मध्यान्हपछि स्थानियको व्यापक उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरबाट विशेषगरि बृद्ध उमेरका व्यक्ति, आर्थिक अवस्था कमजोर भएका र खेती किसानीको समयमा स्वास्थ्य समस्या देखिएरपनि परीक्षणको लागि जान नपाएका ग्रामिण ईलाकाका नागरिकहरु लाभान्वित भएका थिए ।

चिकित्सकहरुले स्वास्थ्य परीक्षण पश्चात उपलब्ध औषधि वितरण गर्नुका साथै स्वास्थ्य समस्या अनुसार उपचारको लागि कुन अस्पतालमा जाँदा सस्तो र राम्रो हुन्छ भनि सल्लाह र परामर्श समेत दिएका थिए ।

स्वास्थ्य शिविर सफल रुपमा सम्पन्न गराउन एनआरएनए जापानका महिला उपाध्यक्ष संगिता अधिकारी सुवेदी, श्याम शितल लगायत व्यक्तिहरुको सक्रिय सहभागीता रहेको थियो ।