टोकियो, जापान ।
नेपाल पाल्पा जिल्ला स्थायी घर भई हाल जापानमा बिभिन्न पेशा व्यवसाय तथा अध्ययनका क्रमा रहेका पाल्पालीहरुको साझा संस्था पाल्पा समाज जापानले आफ्नो तेस्रो अधिवेशन गर्ने भएको छ ।
नयाँ नेतृत्व चयन सहित संस्थालागि गति दिनको लागि टोकियोको शिनओकुबोमा रहेको बारकाडे रेष्टुरेन्टमा आगामी अक्टुबर ८ तारिख अधिवेशन हुन लागेको आयोजक संस्थाका अध्यक्ष निरञ्जन गैरेले जानकारी दिनुभयो ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्ने अध्यक्ष गैरेको भनाई छ ।
पाल्पा समाज जापानका संस्थापक अध्यक्ष गैरेका अनुसार पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न पाल्पालीहरुलाई एकताबद्ध गराउँदै प्रवासका भैपरिआउने समस्याहरुको संस्थागत तवरले समाधान गर्ने र गृहजिल्लामा पनि सक्दो मानवीय र सामाजिक कार्यहरु गर्ने उद्देश्यले पाल्पा समाज जापानको २०१६ मा स्थापना भएको हो ।
समाजले हालसम्म जापानभित्र तथा जिल्लामा गरेर दर्जनौं मानवीय सहयोग लगायत अन्य सामाजिक गतिविधिहरु गर्दै आईरहेको गैरेले जानकारी दिनुभयो ।
ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक हरेक दष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्लाकारुपमा परिचित पाल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेका प्राकृतिक सौन्दर्य तथा पर्यटकीय गन्तब्यहरुको पहिचान गरी जापानमा पनि यथोचित प्रचार-प्रसार गर्ने र पर्यटक भित्र्याउने सन्दर्भमा समाजले ठोस पहल गर्ने लगायतका कार्यक्रमलाई अधिवेशनले मुर्तरुप दिने बताईएको छ ।
अधिवेशनमा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण पाल्पा जिल्लावासीहरुमा समाजका अध्यक्ष निराजन गैरेले आग्रह समेत गर्नुभयो ।