टोकियो, जापान ।
गैर आवासीय नेपाली संघ जापानले आइतबार टोकियोमा संघसंस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जापानमा बढ्दो नेपालीहरुको समस्यालाई सम्बोधन गर्न साझा धारणा बनाई साझा मिशनमार्फत अगाडि बढ्ने उद्देश्यले संघसंस्थाहरुबीच बृहत छलफल र बहस गर्न आवश्यक ठानिएकोले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा जापानका नेपालीहरुको वर्तमान अवस्थाको बारेमा एनआरएनका पूर्व महासचिव जिज्ञानकुमार थापा, नेपाली संघसंस्थाहरुबीच सहकार्य र समन्वय कायम गर्दै समस्या समाधानका लागि साझा धारणा बनाई अगाडि बढ्नका लागि तय गरिनुपर्ने मार्गचित्र बिषयक अवधारणपत्र पत्रकार तिलक मल्ल, जापानमा एनआरएन, संघसंस्था र नेपाली राजदूतावासबीचको कार्यगत एकता सम्बन्धमा एनआरएन आइसीसी उपाध्यक्ष भूषण घिमिरे र जापानमा बस्दै गर्दा अत्यन्त ध्यान दिनुपर्ने फौजदारी तथा श्रम सम्बन्धि कानूनी प्रावधानका बारेमा जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलाराम श्रेष्ठको विशेष प्रस्तुती रहेको थियो । प्रस्तोताहरुद्वारा प्रस्तुत गरिएको सामग्रीसंग सम्बन्धित रहेर सहभागीहरुले आफ्ना सुझाव तथा प्रतिक्रिया दिएका थिए ।
एनआरएन जापानका अध्यक्ष नविन निउरेको सभापतित्व र नेपाली राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यतामा भएको सो संयुक्त अन्तरक्रिया कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सिध्दार्थ श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो । यसैगरी प्रवक्ता खगराज गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बिषयमा प्रवेश गराएका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै उपनियोग प्रमुख जोशीले संघसंस्थाहरुबीच कार्यगत एकता गर्दै समस्याको समाधानमा केन्द्रीत रहने उद्देश्यले गरिएको उक्त कार्यक्रमबाट ठोस नतिजा हासिल हुनेमा आफु बिश्वस्त रहेको बताए । नेपालीहरुको समस्यालाई सम्बोधन गर्ने हेतुले गरिने यस्ता गतिबिधिहरुमा राजदूतावासको सँधै सहयोग र सहकार्य रहने समेत उनले प्रतिबद्धता ब्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले खुलेर आफ्ना विचार ब्यक्त गरेका थिए । कार्यक्रमका लागि कार्यक्रम गरिने बढ्दो प्रवृत्ति, पिकनिक ९बिबिक्यु०, तीज, नाचगान जस्ता उस्तै उस्तै प्रकृतिका कार्यक्रमहरुको देखासिकी, चन्दा आतंकले पारेको हैरानी, कार्यक्रमहरुको खस्कदो गुणस्तर, वक्ता चयनमा असावधानी जस्ता कारणले संघसंस्थाहरुले गर्ने कार्यक्रमप्रति सर्बसाधारणको आकर्षण घट्दोक्रममा रहेको बताएका थिए । यस्ता बिषयमा ध्यान दिएर संघसंस्थाहरुले आफुलाई अविलम्ब सुधार गर्दै जानुपर्ने सुझावहरु उनीहरुले दिएका थिए भने संघसंस्थाहरुद्वारा समयमा कार्यक्रम सुरु नहुने रोगलाई चिर्दै एनआरएन जापानले पहिलोचोटी निर्धारित समयमै उक्त कार्यक्रम सुरु गरेर प्रशंसा बटुलेको थियो । समयमै कार्यक्रम सुरु गर्ने प्रयासको थालनीले निरन्तरता पाउनुपर्नेमा मतैक्यता जाहेर गरिएको थियो ।
यसैगरी कार्यक्रममा टिप्पणीकारको भूमिकामा रहेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष रबिन शर्माले कार्यक्रमका सम्बन्धमा आफ्नो समीक्षात्मक टीप्पणी प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तमा, छलफलमा उठेका बिषयहरुसंग सम्बन्धित जिज्ञासाको अध्यक्ष निउरेले जबाफ दिनुका साथै उनले प्रस्तोताहरु मार्फत प्रस्तावित बिषयमा सहभागीहरुको राय र सुझावलाई मनन गर्दै आवश्यक गृहकार्य गरी साझा फोरमको ढाँचा र स्वरुप निर्माण गर्न ५ सदस्यीय कार्यदलको घोषणा गरेका थिए । जसअनुसार भूषण घिमिरे, तिलक मल्ल, डा. बलाराम श्रेष्ठ, जिज्ञानकुमार थापा र शालिकराम भण्डारी कार्यदलमा रहेका छन् । कार्यदललाई १ हप्ताभित्र आफ्नो जिम्मेवारी पूरा गर्न म्याण्डेट दिईएको समुद्रपारि अनलाइनमा उल्लेख छ ।
संघसंस्था डेढ सय उपस्थित दुई दर्जन, संस्थाकै अग्रज अनुपस्थित
औपचारिक तथा अनौपचारिक रुपमा टोकियो र आसपासको क्षेत्रमा गरेर अनुमानित १ सय ५० वा सो भन्दा वढि संघसंस्था रहेको बताइएपनि कार्यक्रममा केवल करिव दुई दर्जन संघसंस्थाका प्रतिनिधि मात्र उपस्थित भएका थिए । अझ समयमै कार्यक्रममा उपस्थितको संख्या एक दर्जन भन्दा कम रहेको एनआरएनए जापानले प्रशारण गरेको लाईभ भिडियोमै देखिन्छ ।
कार्यसमितिका प्रमुख पदमा रहेका आधा सहभागी ढिलोगरि कार्यक्रममा उपस्थित भएका थिए भने टोकियो क्षेत्रमै रहेका एक तिहाइ कार्यसमिति सदस्यहरु उपस्थित नै भएनन् ।
रोचक त के भने जापानबाट एनआरएनए आईसिसिमा २०२३-२०२५ कार्यकालका लागि आईसिसि सदस्यमा निर्वाचीत व्यक्तिहरुको महत्वपूर्ण रुपमा हेरिएको अन्तरक्रियामा एक जना बाहेक उपस्थिति देखिएन ।
आएका सहभागीहरुपनि विषयगत जानकारीको अभावमा विषयान्तर भएर आफ्ना धारणा राखिरहेका देखिन्थे भने महत्वपूर्ण प्रस्तुतीकरण सकिएर सहभागी उपस्थित हुँदा अन्तरक्रियाको मुख्य चुरो कुरोमा सहभागीहरुले छलफल गर्न सकेको देखिएन ।
कार्यक्रममा ढिलो आएका सहभागीहरुलाई पनि अन्तरक्रियाको मुख्य विषयहरुमा जोडेर छलफलमा समेट्न नसक्दा छलफलमा सहभागी हुन भन्दा पनि अधिकाशं व्यक्तिहरुले उपस्थिति जनाएर फर्किएको देखिन्थ्यो ।