(Japan) 30 th November | 2022 | Wednesday | 12:50:22 PM || (Nepal) 9:35:22 AM
 
 

नेपाली राजदूतावास टोकियोद्धारा घुम्ती सेवा सुरु, विद्युतीय राहदानी सहित अधिकाशं सेवा प्रमुख शहरमै उपलब्ध हुँदै

  POSTED ON : Thursday, 24 November, 2022 | Views : 530

नेपाली राजदूतावास टोकियोद्धारा घुम्ती सेवा सुरु, विद्युतीय राहदानी सहित अधिकाशं सेवा प्रमुख शहरमै उपलब्ध हुँदै


टोकियो, जापान ।

नेपाली राजदूतावास टोकियोले जापानका प्रमुख शहरहरुमा केन्द्रित गरेर घुम्ती सेवा सुरुवातको थालनी गरेको छ ।

जापानको विभिन्न प्रान्त तथा स्थानहरुमा बस्दै आएका नेपालीहरुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्य सहित दूतावासले घुम्ती सेवा सुरुवात गरिएको नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशिले जानकारी दिनुभयो । विद्युतीय राहदानी सहित दूतावासबाट उपलब्ध सम्भव रहेका अधिकाशं सेवा घुम्ती सेवामा उपलब्ध गराइन लागेको उपनियोग प्रमुख जोशिले जानकारी दिनुभयो ।

दूतावासले परीक्षणको रुपमा आगामी डिसेम्बर महिनाको ३ तारिख शनिवार साइतामा प्रान्तमा पहिलो घुम्ती सेवा उपलब्ध गराउने भएको छ । उपनियोग प्रमुख जोशिका अनुसार साइतामा केन खावागोए सिटि, वाकिता माची १७-०३ जेओवाई ०९ विल्डिगंको तेस्रो तला (सोलमारी रेष्टुरेण्ट)बाट घुम्ती सेवा संचालन गरिने भएको छ ।

पहिलो घुम्ती सेवा पश्चात आवश्यकता र माग अनुसार क्रमैसँग नेपालीहरुको जनसंख्या धेरै भएका नागोया, ओशाका, तोचिगी, फुकुओका, सेन्दाई, होक्काइदो, निगाता, गुन्माकेन, चिवा, हिरोसिमा, ओकिनावा लगायतका प्रान्त र स्थानहरूमा घुम्ती सेवा संचालन गरिने दूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।


घुम्ती सेवामा विद्युतीय राहदानी, अधिकृत वारेशनामा प्रमाणिकरण, यात्राअनुमतिपत्र (Travel Document), कागजात प्रमाणिकरण (जन्मदर्ता), नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र लगायतका सेवाहरु उपलब्ध हुने दूतावासले जनाएको छ ।

उल्लेखित स्थानहरुमा सन् २०२३ भित्रमा घुम्ती सेवा संचालन गरिने र सोको मिति, स्थान र समयका बारेमा राजदूतावासले पछि सूचना प्रकाशन गरेर जानकारी गराउने भएको छ ।

नेपाल सरकारले २०२१ नोभेम्बरदेखि लागू हुने गरी विद्युतीय राहदानी जारी थालेको थियो । जापानस्थित नेपाली राजदूतावासले फेब्रुअरी २४, २०२२ देखि विद्युतीय राहदानी सम्बन्धी कार्यको शुरुवात गरेको थियो ।

विद्युतीय राहदानीका लागि आवेदन गर्ने पाँच वर्ष भन्दा बढी उमेरका आवेदकहरु फोटो खिच्न, ल्याप्चे लगाउन र बायोमेट्रिक औंठा छाप सही गर्न अनिवार्य रुपमा स्वयं राजदूतावासमा उपस्थित हुनुपर्ने भएको हुँदा आवेदकहरुलाई आर्थिक एवं अन्य व्यवहारिक कठिनाइ पर्दै आएको आम गुनासो आइरहेको थियो ।

जापानवासी नेपालीहरुको जनगुनासोलाई सम्वोधन गर्दै राजदूतको रुपमा नियुक्त भएर जापान आएको पहिलो सम्वोधनमै राजदूत डा. दूर्गा बहादुर सुवेदीले जापानभर घुम्ती सेवा संचालन सहित दूतावासको सेवा र सुविधालाई छिटो छरितो बनाउने घोषणा गर्नुभएको थियो । सोही अनुसार दूतावासले आफ्नो सेवालाई प्रभावकारी बनाउन घुम्ती सेवा संचालन सुरुवात गरेको देखिएको छ ।