(Japan) 10 th August | 2022 | Wednesday | 7:26:34 PM || (Nepal) 4:11:34 PM
 
 

४७० येनबाट सुरु एनआरएनए जापान २२ लाख बचतमा, १ करोड ६५ लाख अझै पूर्व कोषाध्यक्षको नियन्त्रणमा (अपडेट)

  POSTED ON : Thursday, 07 July, 2022 | Views : 2142

४७० येनबाट सुरु एनआरएनए जापान २२ लाख बचतमा, १ करोड ६५ लाख अझै पूर्व कोषाध्यक्षको नियन्त्रणमा (अपडेट)


टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ जापानले ६ महिनाको अवधिमा डेढ करोडको कारोवार सहित २२ लाख येन बचत गर्न सफल भएको छ ।

एनआरएनए जापानको २०२१-२३ कार्यसमितिले कार्यभार सम्हालेको जनवरी ५ देखि जुन ३० सम्मको सम्पूर्ण हिसाबकिताब पारदर्शि रुपमा प्रस्तुत गर्दै संस्थाले २१ लाख ९८ हजार ६ सय २ येन बचन गर्न सफल भएको जनाएको छ ।

एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण गैरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार वर्तमान कार्यसमितिले ४७० येनबाट आफ्नो कारोवार सुरु गरेको थियो । अघिल्लो कार्यसमितिको खातामा रहेको मध्ये २ करोड ३५ लाख ६६ हजार ५० येन अवैध तरिकाले अन्यत्र सारिएको थियो । जस मध्ये एनआरएनए आईसिसिका भूतपुर्व अध्यक्ष समेत रहेका भवन भट्टको नाममा रहेको संस्थाको खाताबाट उक्त रकम मध्येबाट ७० लाख येन वर्तमान कार्यसमितिलाई फिर्ता आएको छ । खाता भट्टको नाममा रहेको भएपनि उक्त खाताबाट एनआरएनए जापानको नाममा सम्पूर्ण कारोबार पूर्व कार्यसमिति कोषाध्यक्ष कालिका थापाले गर्दै आएकी थिइन् ।

संस्थाको खाताबाट गायब भएको रकम मध्ये भट्टको नामको खाताबाट अकस्मात एक तिहाई रकम फिर्ता आएपनि अझै १ करोड ६५ लाख ६६ हजार ५० येन फिर्ता नभएको कोषाध्यक्ष गैरेले जानकारी दिनुभयो । उक्त रकम अझै निर्वाचनमा पराजित भएका केही पूर्व कार्यसमिति सदस्यहरुले आफ्नो नियन्त्रणमा राखेर उक्त खाता प्रयोग गर्दै आएको गैरेको भनाई छ । यस बारेमा पटक पटक बाँकी रकम फिर्ता गर्न विभिन्न माध्यम मार्फत आग्रह गरिएपनि गैर कानुनी रुपमा नियन्त्रणमा रहेको रकम पूर्व कोषाध्यक्षबाट प्राप्त हुन नसकेको कोषाध्यक्ष गैरेले जानकारी दिनुभयो ।

शिव प्रसाद पौडेल नेतृत्वको वर्तमान एनआरएनए जापानको कार्यसमितिले कार्यभार सम्हाले यता एनआरएनए आईसिसिलाई सदस्य शुल्क बापत ५९० मान २ हजार ६ सय १५ येन बुझाएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

आम्दानी तर्फ सबैभन्दा धेरै एनआरएनए जापानले आयोजना गरेको फुटसल प्रतियोगिताबाट ५८३,२९९ येन बचत भएको पाइएको छ । यसैगरि रक्तदान कार्यक्रममा सहयोगीहरुबाट जुटेको सहयोगबाट १२ मान २ हजार ५०० येन बचत हुन आएको देखिन्छ ।

एनआरएनए जापानले नेपालमा धादिगं जिल्लामा आयोजना गरेको स्वास्थ्य शिविरबाट समेत ५ मान ५ हजार ८ सय ६८ येन बचत गर्न सफल भएको छ ।

आम्दानी र खर्च विवरणहरु अनुसार संस्थाको मनोनित पदहरुबाट ४७ मान मनोनित शुल्क तथा १४ मान ४ हजार कार्यसमिति लेबि उठेको छ ।

एनआरएनए जापानको कार्यसमिति मध्ये केही सदस्यबाट स्वेच्छाले पहिलेनै पूर्ण कार्यकालको लेबि समेत गरेर हालसम्म १ सय १६ मान २ हजार येन संकलन भइसकेको छ । पूर्ण कार्यकालको लेबि एकैपटक उठाउने नियम नभएकाले यसमा अन्य कार्यसमिति सदस्यबाट भने मासिक रुपमा लेवि प्राप्त भइरहेको गैरेको भनाई छ ।

समग्रमा एनआरएनए जापानले हालसम्म कुल १ करोड ४६ लाख २८ हजार ९ सय ८० येन आम्दानी गर्दा १ करोड २४ लाख ३० हजार ३ सय ७८ येन खर्च गरेको छ ।

जस अनुसार अहिले एनआरएनए जापानको खातामा २१ लाख ९८ हजार ६ सय २ येन बचत हुन आएको छ ।

यसमा पूर्व कार्यसमितिको खातामा रहेको तर वर्तमान कार्यसमितिलाई प्राप्त हुन नसकेको रकम फिर्ता भएमा एनआरएनए जापानको खातामा १ करोड ८७ लाख ६४ हजार ६ सय ५२ येन हुन जानेछ ।

कोषाध्यक्ष कृष्ण गैरेले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाको सम्पूर्ण आयव्यय विवरण जस्ताको तस्तै जापानवासी नेपाली माझ सार्वजनिक गरिएको बताउँदै संस्थाको रकम कहिँ कतै हिनामिना हुन नदिने स्पष्ट पार्नुभयो । संस्थालाई फिर्ता गर्न बाँकी रकम सम्वन्धित व्यक्ति र पक्षले यथासक्य छिटो उपलब्ध गराउन अनुरोध गर्दै कोषाध्यक्ष गैरेले आगामी दिनमा समेत आर्थिक हिसाब पारदर्शि रुपमा प्रस्तुत गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।