(Japan) 3 rd July | 2022 | Sunday | 5:40:38 AM || (Nepal) 2:25:38 AM
 
 

एनआरएनए एशिया प्यासिफिक क्षेत्रको पहलमा अगष्टमा थाइल्याण्डमा 'मिलाप' हुँदै

Gokarna Adhikari   POSTED ON : Wednesday, 22 June, 2022 | Views : 260

एनआरएनए एशिया प्यासिफिक क्षेत्रको पहलमा अगष्टमा थाइल्याण्डमा 'मिलाप' हुँदै


टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ एनआरएनए एशिया प्यासिफिक क्षेत्रले अगष्ट महिनामा थाइल्याण्डमा एक विशेष कार्यक्रम मिलाप अयाोजना गर्ने भएको छ ।

'मिलाप, टुगेदर वि स्ट्याण्ड' नाम दिएर आयोजना हुन लागेको कार्यक्रम एनआरएनए एशिया प्यासिफिकको नवौं बैठक तथा दोस्रो विज्ञ सम्मेलन हो । कार्यक्रमको तयारी तिब्रताका साथ भइरहेको एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय संयोजक पारसमणी पोख्रेलले जानकारी दिनुभयो ।

गैर आवासिय नेपालीहरुको नेतृत्वमा देखिएका केही दरारहरुलाई एकसाथ गोलबद्ध बनाएर अघि बढ्ने अपेक्षा सहित कार्यक्रमको मूख्य नारा मिलाप टुगेदर वी स्ट्याण्ड (हामी सँगै उभिएका छौं) राखिएको पोख्रेलले जानकारी दिनुभयो ।

अगष्ट २६ तारिख देखी २८ तारिखसम्म तीन दिन चल्ने कार्यक्रम महिला शसक्तिकरण, युवा आवाज र नेतृत्व सहित बैदेशिक रोजगार र नेपालमा लगानिको विषयमा एतिहासिक बनाउने गरि पूर्व तयारी गरिरहेको आयोजकले जनाएको छ ।

जसको लागि आवाज सुनाउने, सुन्ने र कार्यान्वयन गर्ने सबै पक्षको सहभागीता कार्यक्रममा हुने भएको छ ।

संयोजक पोख्रेलका अनुसार महिला र युवाको क्षेत्रमा काम गर्ने सशक्त व्यक्तिहरु सहित एनआरएनएका केन्द्रिय अध्यक्षहरु, महत्वपूर्ण पदाधिकारी, नेपाल सरकारको तर्फबाट मन्त्रि स्तरिय सहभागीता, अर्थविद स्वर्णिम वाग्ले, उद्योगपति राज खेतान सहित महत्वपूर्ण नेपाली व्यापारी व्यवसायिहरुको सहभागीता रहने तय भएको छ ।

तीन दिने कार्यक्रम अन्तर्गत अगष्ट २६ तारिख थाइल्याण्डको बैंककमा रहेको नेपाली मन्दिरमा आराधना, आरती कार्यक्रम हुने भएको छ ।

एनआरएनए अभियन्ता तथा व्यवसायी कुमार कार्कीको नेतृत्वमा थाइल्याण्डमा निर्माण भएको नेपाली मन्दिरमा सो कार्यक्रम हुने छ ।

यसैगरि २६ तारिख साँझ क्रुज जहाँजमा नवौं एशिया प्यासिफक क्षेत्रिय बैठकमा सहभागी हुन आउने व्यक्तित्वहरुका लागि रात्रिकालिन पार्टी आयोजना गरिएको छ ।

कार्यक्रम अन्तर्गत अगष्ट २७ मा महिला कन्फ्रेन्स हुने छ । महिलाहरुलाई नेतृत्वमा ल्याउने, नेतृत्व विकासमा सहयोग तथा महिला शसक्तिकरणको क्षेत्रमा एनआरएनएले गरेका र गर्नसक्ने काम र योजना समेटिएको यो कन्फ्रेन्स तेस्रो पटक आयोजना हुन लागेको हो ।

यसैगरि सोहि दिन दोस्रो पटक युथ कन्फ्रेन्स सहित महत्वपूर्ण दोस्रो नलेज कन्फ्रेन्स समेत आयोजना हुनेछ ।

आपसी मिलापको साथ संस्था, समाज र देशको लागि टुगेदर वि स्ट्यान्ड भन्ने संकल्पका साथ मूख्य कार्यक्रम अगष्ट २८ तारिख उद्घाटन र समापन हुनेछ ।

२५ भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने सो सम्मेलनमा नेपाल सरकारको तर्फबाट मन्त्रिस्तरिय सहभागीता, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, उद्योगपति तथा व्यवसायिहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहने संयोजक पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीताको लागि अगष्ट १५ तारिखसम्ममा अनलाईन मार्फत नाम दर्ता गराइसक्नुपर्नेछ । https://docs.google.com/.../1FAIpQLSfketYqtwaPfb.../viewform

नाम दर्ता गराएर उपस्थित व्यक्तिहरुको लागि २०० डलर शूल्क तोकिएको छ । जुन रकमबाट सहभागीहरुको लागि बिहानी खाजा, खाना लगायतको सम्पूर्ण व्यवस्था आयोजकले मिलाएको छ ।