(JAPAN) 17 th October | 2018 | Wednesday | 5:29:22 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 2:14:22 PM
 

जापानबाट परदेशी चेलीको प्रश्न-'सरकार म आउने बेलासम्म घरमा आमा, बहिनि र छोरी सुरक्षित त हुन्छन् ?'

  POSTED ON : Thursday, 27 September, 2018 | Views : 5229

जापानबाट परदेशी चेलीको प्रश्न-'सरकार म आउने बेलासम्म घरमा आमा, बहिनि र छोरी सुरक्षित त हुन्छन् ?'


कोही खाडिमा लुटिदै छन् त कोही झाडिमा, आखिरमा लुटिंदै छन् त चेलीहरु, अनि छुटिंदैछन् त अकालमा संसारबाटै ।

आखिरमा कहा छन् छोरिहरु सुरक्षित ? सायद मेरो देशमा छोरीहरुको लागि कहिं ठाउँ नभएर होला कोही आफ्नो बाट लुटिदै छन् त कोही पराई बाट लुटिदै छन् । अब हामिले घरमा कुन नजरले हाम्रो दाजुभाइ, बुवाहरुलाई बिस्वास गर्ने ? अनि जुनि जुनि संगै जिन्दगी बिताउँछु भन्नेहरुलाई कसरी भरोसा गर्ने ? कसरी टुलुटुलु हेरेर बस्ने देखे पनि नदेखे झै गरेर, अनि सुने पनि नसुने झैं गरेर यो सब ।

अब त एउटै चाहना छ हामिलाई कहाँ सुरक्षित ठाउँ छ देखाईदेउ, हामिलाई जहाँ सुरक्षित महसुस हुन्छ त्यही राखिदेउ ।

छोरि भएर जन्मलिनु पाप हो या श्राप ?

कहिले १० वर्षिय बालिका बलात्कारको सिकार अनि कहिले ३ वर्षिय नाबालिका । जसलाई म मान्छे हुँ भन्ने समेत ज्ञान भइसकेको हुँदैन, अनि हुँदा हुँदा ६० बर्षकी हजुरआमा समेत बलात्कारको सिकार भएको सुन्नुपरेको छ ।

कतातिर मोडिदैछ हाम्रो देश ? छि...हाम्रो देश भन्न पनि घिन लागेर आउँछ । धर्म, नैतिकता अनि संस्कृति किन बदलिदै छ ? मानबबाट दानब बन्ने सोचहरु किन बढ्दैछ मान्छेमा ?  अब त यस्तो लाग्दैछ कि छोरि भएर जन्मलिनु कसैको क्षणिक उत्तेजनाको स्वार्थ पूरा गर्नु हो । कसैको थकाई मेटाउने चोैतारि हौं हामी । धिक्कार छ यस्तो सोच्न बाध्य बनाउने पुरुष रुपी ति कुरुप दानविय मानवहरुलाई ।

जापानको अतिनै ब्यस्त शहर टोकियो । धेरै काम, पढाई त्यसमाथि थकाई । कोठामा आयो मन भुलाउनलाई मोबाइल समायो दैनिक तिनै चेलीका परिवारजनको रुवाई, चेलीहरुका चित्कार, बलात्कृत चेलीहरुका पिडा, बेदना अनि पिडकको सँधै लापताको खवर सुन्दा मन अमिलो मात्र हुँदैन भक्कानो फुटेर आउँछ । ठूलो भारीले जिउ थिच्छ अनि सोध्छु आफैंलाई के मेरो देशमा मानवियता हराउँदै गएको हो र ?

सोच्दा पनि डरलागेर आउँछ । मैंले पनि घरमा १५ वर्षिय बहिनि, ६० वर्षिय हजुरआमा अनि ५ वर्षिय मेरो मुटुको टुक्रा नाबालक छोरि छोडेर आएको छु । के साच्चै तिनिहरु सुरक्षित त छन् ?

कहिलेकाहीं नमन गर्न मन लाग्छ ति आमाहरुलाई जसले पेटमा छोरी छ भनेर थाहा पाउँदा जन्मन नपाउदै पेटमै भ्रुण हत्या गरे वा गरिरहेका छन् । कमसेकम जन्माएर दुख गरेर हुर्काई ति नरपिचासहरुको हातमा सुम्पिएर दिन दिनै तड्पी तड्पी मरेको हेर्नुत परेको छैन ।

एकदिन सबैले मर्नुनै छ । ए...नरपिचासहरु तिमिहरुमा अलिकति मानवियता, नैतिकता र डरपनि भएन है जन्मिंदैका कोपिलालाई चुडेर अस्तित्व मेटाउँदा । फक्रनै नपाएका रजस्वला हुँदा आउने रगतको अर्थपनी थाहा नपाएका कोपीलाहरुलाई रगताम्मे पारेर हत्या गर्दा तिमिले आमा, दिदि बहिनी वा आफ्नी जिवनसंगीनिको कतै छायाँ पनि देखेनौ है ?

निर्दोश ति कोपिलाहरुको गला निमोठ्दा अलिकति पनि मन डराएन, हात कापेन अनि अलिकति पनि ख्याल भएन मलाई जन्मदिने आमा पनि महिला नै हुन् भन्ने ? कानुन र न्यायलाई त किनलाउ वा बल र शक्तिले बसमा पारौला तर अलिकति पाप र धर्मको त चेष्टा गर जुन अर्को जुनीमा होइन यही जुनीमा धुरीबाट कराएर ढिलै सहि तिमि सुलीमा चढ्नै पर्छ ।

मानवरुपी दानवहरुका कारण आज हरेक घरका अभिभावकहरु डराएका छन् । खेल्न निक्लिएकी तोतो बोल्ने नातीनि, स्कुल गएकी छोरी, बजार गएकी दिदि बहिनी, मेलापात भर्न गएकी श्रीमती, घर रुंग्दै बसेकी आमा अनि अस्ताउन लागेकी हजुरआमा सकुसल छन् वा छैनन् भनेर त्रास लिनुपर्ने यो कस्तो डरलाग्दो बेला आएको ।

घरमा हुने दाजुभाई, आमाबुवा, हजुरवुवाको अनुहार सम्झिरहँदा ति नरपिशाचहरुको पाप र कुकृत्यको अगाडी के भनेर कहिलेसम्म आँखा चिम्म गरेर विश्वास गरिरहेन । छोरा जन्माए भाग्यमती ठान्ने समाजमा के अब छोरा जन्मंद्या डरमान्नुपर्ने भय पलाउन थालेकै हो त ?

भो अति भो अब । न्याय मरे समाज नैतिक रुपमा मर्छ । कानुन बांगिए बाठा र बलियाहरुको राज चल्छ । सरकार कम्तिमा तिमि छौ भन्ने आभाष त देउ ! तिमिले बिकास र समृद्धिको सपना धेरै दिइसक्यौ कम्तिमा त्यसअघि अमनले बाँच्ने सक्ने, चैनले सुत्न सक्ने निर्धक्कले चेलीहरु कतै जानसक्ने वातावरण देउ ।

भयको यस्तो कालरात्री चाहिएन जहाँ अपराधी नपक्रेकोमा तिमिलाई धारे हात लगाउने होइन आफ्ना लालाबालामाथि अपराध भएकोमा आमाबुवाले आफैंलाई धारे हात लगाउनु नपरोस् । निर्मला, श्रेया जस्ता हजारौं चेलीहरुमाथि भएको बलात्कार र बिभत्स हत्यामा संलग्नलाई कारवाही गर भनेर न्यायकै लागि नरबली चढ्नु नपरोस् ।

रितु गौतम-पोखरा 

हाल-टोकियो