(JAPAN) 19 th December | 2018 | Wednesday | 2:16:39 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:01:39 PM
 

पत्रकार हुनु त रबि लामिछाने जस्तो नसके धमला जस्तो ! -गोकर्ण अधिकारी

  POSTED ON : Friday, 21 September, 2018 | Views : 2053

पत्रकार हुनु त रबि लामिछाने जस्तो नसके धमला जस्तो ! -गोकर्ण अधिकारी

म पत्रकार छैन अहिले । पत्रकारितामा पेशागत रुपमा लाग्न सकेको छैन । स्नातकोत्तरसम्म पत्रकारिता अध्ययन गरेपनि आशिंक पत्रकारिता गर्ने गैर पत्रकार भन्दा फरक पर्दैन ।

म सहभागी भएको कार्यक्रमको समाचार आफैं लेख्छु र आफ्नै अग्रसरतामा सञ्चालनमा ल्याएको वेवसाईटमा प्रकाशित गर्छु । केही व्यक्तिसँग कुरकानी गर्छु उनिहरुका अनुभव, संघर्ष, जीवनकथा, सफलता अनि भोगाई जुन अरुलाई पनि केही जानकारीमुलक, रोचक लागोस् अन्तवार्ताको रुपमा लेख्छु र प्रकाशित गर्छु । फिचर लेखन, आक्कल झुक्कल लेख, युट्युवमा भिडियो, फेसबुकमा लाईभ जे जतिसक्छु समयले साथ दिएसम्म गर्ने गर्छु । र पनि म छातिमा हात राखेर भन्छु पत्रकारितालाई प्राण मान्ने म पूर्णत पत्रकार होइन ।

आफुलाई खुलाएर अरुसँग दाँजेर भन्नुपर्दा वेवसाईट डिजाईन, पर्चा पाक्प्लेट डिजाईन, कार्यक्रम आयोजक, अन्य पेशा सम्हालेका फुर्सदिला, फेसबुकमा लाईभ ज्यादा समाचारमा कलम कम, साहित्य, खेलकुद, मनोरञ्जनात्मक सहभागीता, बलबुताले ज्युँका त्युँ काटकुट पारेर समाचार लेख्ने म त्यस्तो होनाहार पत्रकार होइन । हाललाई म अन्यकुनै पेशालाई मुल कर्म बनाएर समय मिलेसम्म ज्ञान भएको विधामा कलम चलाउने अल्पकालिन तर एक पूर्णकालिन भुतपूर्व पत्रकार भने हुँ । 

म न रेडियोमा कार्यक्रम चलाउँछु, न टेलिभिजनमा अनुहार देखाउँछु । झन् पत्रपत्रिकामा त नामै नभेटिने तर सँधै भनिने पत्रकार हुँ । तर अचेल टेलिभिजनमा बहस चलाएर, रेडियोमा मनोरञ्जन दिलाएर, नेता र बिकेका अनुहार अघि सारेर प्रश्न राख्दै बनेका र बनाइएका पत्रकारहरुसँग दाजिँदा बेकारमा ८ बर्ष खेर फालिएछ पत्रकारिताको पत्र केलाउन भन्ने लाग्छ ।

अझ केही हप्ता अघि एक सहकर्मीले भनेको भनाईपछि मनमा हरेकदिन छटपटी चलिराखेको छ र मानस्पटलको गहिराइमा यसरी आगो दन्किराखेको छ जसलाई बिस्फोट गराएर यहाँ लागेका कुरा लेखिराखेको छु ।

पत्रकार हुनु त रबि लामिछाने जस्तो, नभए धमला जस्तो ! 'हुनु रबि' अनि 'नभए धमला' ! मित्रको यो भनाईले मलाई मनैदेखि चिमोटिरहेको छ र सोधिराखेको छ-'तँ रबि लामिछाने कि धमला ?

पत्रपत्रिकामा समाचार लेख्ने पत्रकारहरुको नाम भनेर सम्झिएको पहिलो व्यक्ति थिए कृष्ण सेन 'ईच्छुक' । म विद्यालय तह पढिरहँदा गाउँमा पाइएको जनादेश पत्रिकामा उनले लेखेका द्धन्द्धकालिन विषयका लेख र समाचार प्राय म पढिरहन्थें पछि उनि माओवादी कार्यकर्ता भएको आरोपमा प्रहरीको पक्राउमा परे र नियन्त्रणमै मारिएछन् । जसलाई मैले कहिल्यै भेटिन वा भेट्न पाइन ।

क्याम्पस पढ्न थाल्दा टेलिभिजनमा इन्द्र लोहनी, बिजय कुमार घिमिरेहरु अनि रेडियो बिबिसिमा रबिन्द्र मिश्र, पत्रपत्रिका र पत्रकारितामा पि खरेल, युवराज घिमिरे, नारायण वाग्ले नाम सुनिनेमा पर्दथे । पछिल्लो पुस्तामा प्रेम बानियाँ जसले मेरो पत्रकारितामा स्वाभिमानको बिउ हुर्काउन मलजल गरे त्यसपछि देखिएका छन् रबि लामिछाने ।

मेरो आजसम्मको अध्ययनमा मैले कतै कहिल्यै नोटिस नगरिएको नाम हो ऋषि धमला । टेलिभिजनमा सँधै जर्वजस्त देखिने अनुहार भएपनि, रेडियोमा सुनिने आवाज भएपनि म उनको उदय, वर्तमान र गैर पत्रकारितामार्फत आर्जेको आर्जनको तुजुकले कहिल्यै न प्रभावमा परें न पर्नेनै छु ।

बरु मैंले विगतमा स्वविवेकले प्रण गरेको उनिद्धारा श्रोत नखुलाई बाँडिने पत्रकारिता नामको पुरस्कार कहिल्यै नलिने निर्णयमा म अडिग र अचल छु र रहनेछु ।

रबि लामिछाने बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश सहित ७२ घण्टा टेलिभिजनमा कार्यक्रम चलाएर गिनिज बुकमा नाम लेखाउँदा देखिनै मेरो नोटिसमा परेका पत्रकारिता पेशामा आवद्ध व्यक्ति थिए ।

बिचमा ४ बर्ष अमेरिका बसाईपछि उनको पुनरागमन 'सिधा कुरा प्रधानमन्त्रीसँग' नेपाल टेलिभिजनमा देखिएको थियो । फरक सोचमा आएपनि सरकारी आवाज बाहिर ल्याउने कार्यक्रम पहिलो पटक सन् २०१६ अप्रिलमा देखेको थिएं ।

राजनीतिक घटनाक्रमले उनि आफ्नो योजनाको कार्यक्रमबाट आफैैं फालिएपनि त्यसलाई पुर्ननामाकरण गरेर न्युज २४ टेलिभिजनमा 'सिधा कुरा जनतासँग' मार्फत उदाएका थिए । जसको लोकप्रियता र उचाईले बाँकी नेपाली टेलिभिजन कार्यक्रम यो समय फिक्का बनाइदिएको सत्य हो ।

अपहरण गरिएका व्यक्तिलाई छुटाउन फिरौती मागेर कमिसन खाने कताको ऋषि धमला कताको बिचल्लीमा परेकी चेलिलाई बिदेशमा भएपनि स्वदेशबाटै पहल गरेर उद्दार गर्ने रबि ! फिरौती रकम मिलाइदिने भन्दै कमिसन माग्दा जेल परेर छुटेका धमला, भारतीय दूतावासको दुत बनेर काँग्रेस पार्टीका सदस्य बनेर उम्मेद्वार बनेका धमला अनि व्यापारि, ठेकेदारहरुसँग साँठगाँठ गरेको घटनामा मुछिरहने धमला । मैंले कहिल्यै तुलना र नतौलिएका यि दुई व्यक्ति पत्रकारितामा तौलनै नमिल्ने दुई फरक पात्र हुन् ।

राजनीतिक आड, भारतीय दूतावासको भरोसा, श्रोत नखुलेको आम्दानीको तडकभडकमा अध्ययन र ज्ञानविनाको प्रश्न मात्र सोधेर जान्ने टोपलिने धमला भन्दा अमेरिकामा पसिना सिर्जेर कमाएको मेहनतले ढिलै भएपनि सम्झन लायक सुरुवात गरेका लामिछानेको पत्रकारिता यात्राले बनाएको व्यक्तित्व लसुन र सुन तौलिए सरह हो ।

म पत्रकारिता अध्ययनपछि पेशागत रुपमा बामे सरिरहँदा प्रेम बानियाँ बिदेश हानिए । उनिमाथि आश गरेका म जस्तै र असहमत हुनेहरुले टिप्पणी गरेजस्तै देश छाडेर पर...देशमा ज्ञान आर्जननै गरिरहँदा पनि देशबाट पर हुनुपर्दाको पिडा म मा पनि उत्तिकै छ जति प्रेम बानियाँ मात्र होइन खाडिका देश देखी युरोप अमेरिका र यहाँ जापानमा रहेका नेपालीमा उत्तिकै पाउने गरेको छु ।

परिवार, आफन्त, नातागोता र प्रिय मान्छे सम्झेर रुनेहरुको भिँडमा पेशा र देश सम्झेर रुने म जस्ता कयौं यात्रीहरु यात्रामा भेटेको छु जो देशमा अझैपनि लामिछाने र धमलाहरु बिचको फरक छुट्याउन सक्दैनन् र पनि सहि र गलतको व्याख्या गरिरहेका हुन्छन् ।

मलाई पत्रकारिता गरेर नाम कमाइएला जस्तो त लाग्यो तर दाम कमाउँ र कमाएला भन्ने कहिल्यै परेन । किनभने मैंले पढेको र पत्रकारिता पढाउने प्राध्यापक पि खरेल र मलाई पत्रकारिता बुझाउने जीवनाथ खनालनै नै त्यस्तै थिए जसले पत्रकारिता व्यापार होइन सेवा हो भनेर सिटिजन एफएममा काम गरिरहँदा घोकाइरहन्थे ।

जो एक सरकारी जागिरे भएर पनि पत्रकारिता प्रतिको लगाव र देशभक्तीको त्यो समर्पणले मलाई भनिरहेका हुन्थे-'गोकर्ण जी देशलाई कस्तो बनाउने भन्नेमा हाम्रो शब्दले ठूलो भूमिका खेल्छ, त्यसैले शब्द ठाउँमा खर्चनुस् ।'

अनि ठाउँ न बेठाउँको धमलाकारिता र पत्रकारिता पेशामा रहेर कर्म गरिरहेका रबि लामिछानेलाई दाँज्नेहरुसँग म कसरी आफुलाई उभ्याउँ र भनुँ 'म धमलाको जस्तो न परजिविकारिता नै गरिरहेको छु न त रबिको जस्तो पत्रकारिता पेशामा रहेर खोजी पत्रकारिताका नै । म त एक औषत पत्रकार हुँ जो गैर भूगोलमा रहेर गैरपत्रकारिता गरिरहेको छ आफ्नै बलबुतामा आफ्नै देश र समाजका लागि ।'


नेपाल पत्रकार महासंघ जापान शाखाले प्रकाशित गरेको 'प्रवास पत्रकारिता-२' मा प्रकाशित लेख

गोकर्ण अधिकारी
सम्पादक
जापानसमाचारडटकम (www.japansamachar.com)

[email protected]


नुवाकोट, लिखु गाऊँपालिका (थानसिंग-४), नेपाल
हाल ः टोकियो, जापान ।