(Japan) 26 th April | 2024 | Friday | 3:49:35 AM || (Nepal) 12:34:35 AM
 
 


जापान पढ्न जान अब हामीले कति कुर्नुपर्ने ?

आर.के. पोख्रेल   POSTED ON : Saturday, 20 March, 2021 | Views : 13640

जापान पढ्न जान अब हामीले कति कुर्नुपर्ने ?


विगतमा जापानले नेपाली विद्यार्थीहरुको अध्ययन तथा प्रवेशमा सहजता निभाउँदै सहयोग गर्दै आएको हामीले देखेका थियौं । त्यहि सुनेको र देखेर म जस्ता हजारौं विद्यार्थीहरुले जापान अध्ययनका लागि आफ्नो गन्तव्य बनाए ।

सोही अनुसार जापान अध्ययनका लागि भाषा अध्ययन, कागजात प्रक्रिया देखी आवेदनमा महिनौं खर्चियौं । आफुसँगै आवेदन दिएका धेरैको सिओई नआउँदा बल्लतल्ल आफ्नो आएपनि धेरै खुशी लाग्यो ।

सोचेको थिएं कि अब छिट्टै जापान जान पाईन्छ । अध्ययनसँगै आफ्ना लक्ष्यहरु छिट्टै मेहेनतले कोर्न पाईन्छ । तर अहिले जे भएको वा भइरहेको छ लाग्दैछ यसले हाम्रा सारा सपना तुहाइदिंदैछ ।

सर्ब प्रथम जापान सम्वद्ध र सरोकार राख्ने अन्तर्राष्ट्रिय विद्यार्थीको हितमा काम गर्ने निकायहरुमा म हजारौं जापान प्रवेशको पर्खाइमा रहेका विद्यार्थीहरुको तर्फबाट यो बिनम्र अनुरोध गर्न गइरहेको छु । जापान सरकारले विद्यार्थीको हितमा विगतमा जसरी काम गर्दै आएको थियो । त्यहि देखेर सोही आसा र भरोसाका साथ उच्च शिक्षाको लागि जापान चयन गरेका थियौं ।

तर बिगत एक बर्ष देखि जापान सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई त्यति महत्त्वका साथ नहेरको स्पष्ट देखिन्छ । कोरोना महामारीबिच हरेक पटक प्रत्येक ईन्टेकको सिओई आइरहेको छ । यस्तो अवस्थामा पनि विद्यार्थीहरुले बिश्वासको साथ कलेज शुल्क र आवास शुल्क बुझाईरहेका छन् । किनभने हामीहरुलाई कलेजको भन्दा पनि जापान राष्ट्रको विश्वास बढी लाग्छ ।

तर अहिले धैर्यताले सिमा नाघ्दै भइरहेको छ । यस्तोमा जो एक बर्ष देखी जापान अध्ययनको लागि पर्खाइमा बसिरहेका थिए उनिहरुमा अनेक प्रश्न उठ्न थालेको छ । तर दु:खको कुरा जापान प्रवेश त पाईएको छैन नै हाम्रो जिज्ञासा र प्रश्नहरुको जवाफ समेत कसैले दिंदैन । के जापान सरकारको अन्तर्राष्ट्रिय शिक्षा नीति यहि हो रु जापान विद्यार्थीहरुको भविष्यप्रति कति चिन्तिन छ ? बारम्बार 'सिओई ईस्यु' गर्ने शुल्क तिर्न बाध्य बनाउने तर समयमै उच्च शिक्षाको लागि बन्चित गराउने यो कस्तो नीति हो ? हामी संकटमा पारिएका छौं । यस्तै अवस्था रहे कहिले सम्म जापान प्रतीको हाम्रो विश्वास टिक्छ होला ? 

कोभिड-१९ संक्रमणकै कारण हामीलाई रोकिएको भनिन्छ । तर जापानले उसले तोकेका अन्य भिषा वाहकहरुलाई आउजाउ गर्न दिइराखेको छ । के हामी विद्यार्थीलाई चाहिँ त्यहि नियम पालना गर्न लगाएर जापान अध्ययनका लागि लैजान नसकिने हो त ? कि अन्य कारण छ हामीलाई जापान नलैजानुमा रु हाम्रो जवाफ न कसैले दिएको छ न देलान् भन्ने आशा नै अब बाँकी छ । हामी भनेको स्वास्थ साबधानी अपनाएर जान तयार छौं बस हामीलाई अब धेरै नकुराईयोस् भन्ने मात्र हाम्रो चाहना हो । तर दुखको कुरा अहिलेसम्म यस्तो हुन सकेको छैन ।

ओलम्पिक गर्नु पर्छ हाम्रो त्यसमा कुनै आपत्ति छैन तर ओलम्पिककै लागि लाखौं विद्यार्थीको भविष्यमा बेवास्ता गरिराखिएको छ कि भन्ने हामीलाई गम्भिर आशंका छ ।

किनभने जापानले बिदेशबाट अध्ययनका लागि आउने तयारीमा पर्खाईमा बसेका विद्यार्थीको भविष्यको लागि कुनैपनि कदम चालेको छैन ।

प्रत्येक 'ईन्टेक'को 'सिओई' आइराखेको छ, सिओईसँगै कलेजहरुले दिन तोकेर पैसा बुझाउन भन्छ । पैसा नबुझाउँ रद्द हुन्छ बुझाउँ भने एक बर्ष अघिदेखी पैसा बुझाएर बसेकाहरुले अहिलेसम्म प्रवेश पाएका छैनन । पैसा बुझाएर सुटकेस तयार पारेकाहरु मुसाले सुटकेस प्वाल पार्दा आफ्ना सपनाहरुमा नै दुलो परेको ठान्न थालेका छन् ।

विद्यार्थी मात्र होईन हाम्रो देशनै ठगिएको महसुस भइरहेको छ । यस्तो परिस्थितिमा पनि नेपाल सरकारले 'एनओसी' जारी गरेर विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि बाटो खुल्ला गरिदिएको छ । तर यसले नतिजा केही हात लाग्न सकेको छैन ।

अहिले लाग्न थालेको छ कि कतै हामी कानुनी रुपमै ठगिइरहेका त छैनौं ?