(JAPAN) 21 st November | 2018 | Wednesday | 2:56:01 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:41:01 PM
 

अमेरिकी लिटल ब्वाईको बिध्वंशमा परेका हिरोसिमाबासीसँग किन ७३ बर्षपछि पनि बिहे गर्न हिच्किचाउँछन् ?

  POSTED ON : Sunday, 12 August, 2018 | Views : 235

अमेरिकी लिटल ब्वाईको बिध्वंशमा परेका हिरोसिमाबासीसँग किन ७३ बर्षपछि पनि बिहे गर्न हिच्किचाउँछन् ?

हिरोसिमा– २० औं शताब्दीको विध्वंशको प्रतीक ।

हिरोसिमा– २१ औं शताब्दीको सिर्जनाको पर्याय ।

सन् १९४५ अगस्ट ६ को घुर्मैलो बिहान । सूर्य उदानउसमेत भ्याएको थिएन । चरा–बचेरा उड्ने तरखरमा हुँदा हुन् । जापानको प्रमुख शहर हिरोसिमालाई अकल्पनीय आपत आइलाग्यो । अमेरिकी विद्रूप बम हमलाको शिकार भयो सुन्दर हिरोसिमा । आगोको लप्कामा परेर पलभरमै कुरूप भयो । २० हजार सैनिकसहित झन्डै १ लाख मानिसले तत्काल मृत्युवरण गरे । घाइते र अंगभंग हुनेको संख्या ५ लाख नाघ्यो । सिंगो शहर भग्नावशेषमा परिणत भयो । मानव सभ्यता खरानी भयो ।

जीवजन्तुको नाममा आकाशमा उडेका पन्छीसम्म बाँकी रहेनन् । बोट–विरुवा, घाँसपात वर्षौंसम्म पलाएनन् । परमाणु बमको विकिरणका कारण वर्षौंसम्म क्यान्सर र अपांगतामात्र पैदा भइरह्यो । शहरको पर्यावरणलाई वर्षौंसम्म ‘खुनी’ बनायो ।

मानव सभ्यता र मानवीयतालाई खरानी बनाउने ‘बी–१९ लिटल ब्वाइ’ नाम दिइएको परमाणु बम हमलाको साक्षी मिदोरी साकामोतो (४६) हुन पाइनन् । बम आक्रमणबाट झन्डै ४० किलोमिटर दक्षिणकी मिदोरीका परिवार पनि भाग्यवश बाँचे । भौतिक एवं मानवीय क्षति उनका पुर्खाको पोल्टामा परेन ।

तर, हेर्दाहेर्दै आफन्त अँगार भएका, सुन्दर हिरोसिमा ध्वस्त बनेका कथा उनले आमा–हजुरआमाको मुखबाट सुन्न पाइन् । दुःख र पीडाका पर्यायका रूपमा होइन, निर्माण र सिर्जनाको आयामका रूपमा ।

अवर्णनीय, अकल्पनीय र अनिवर्चनीय बम हमला भोगेको हिरोसिमा पूर्ववत् लयमा होइन, विकासको आधुनिक बाटो समात्दै दुनियाँका विकसित भनिएका सबैजसो शहरलाई उछिन्न कसरी सक्यो होला ?

“यसका पछाडि हामीसँग आँसुका रसिला कथा छैनन्, संकल्प र प्रतिज्ञाका हँसिला कथा मात्रै छन्,” मुसुक्क हाँस्छिन् मिदोरी ।

शुक्रबार नेपाल कला परिषद्को ग्यालरीमा भेटिएकी मिदोरीको अनुहारमा हिरोसिमाको त्रासदीमय विगतको बाछिटासम्म थिएन ।

“जनतासँग उच्च अठोट र दृढ संकल्प हुने हो भने खरानी भएको संरचनामात्र होइन, सिंगो सभ्यतालाई पनि पुरानो लयमा फर्काउन सकिन्छ, तिमीलाई थाहा छ ? हामीले हिरोसिमा कसरी बनायौं ?” बिस्फारित नयनले उनले सोधिन् ।

यसरी बन्यो हिरोसिमा

उनको सामुन्ने दुई तस्बिर थिए । पहिलो— अगस्ट ६ को बिहान, अमेरिकी बम वर्षक विमानले हिरोसिमाको आकाशमा ‘लिटिल ब्वाइ’ खसाल्दै गरेको । दोस्रो— ‘लिटिल ब्वाइ’ले मच्चाएको नरसंहार र विध्वंश । त्यसपछि लहरै झुन्ड्याइएका थिए, क्रमशः हिरोसिमा बन्दै गरेका तस्बिरहरू ।

परमाणु बमको शक्ति अकल्पनीय थियो । हिरोसिमाको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै उडिरहेका चरा फुतफुती भुइँमा झर्न थाले । हिँडिरहेका मानिस ठाउँको ठाउँ खरानी भए । घर, महल, व्यापारिक केन्द्र जगैसहित नासिए । आगोको दहन सहन नसकेर समुद्रमा फाल हालेका मानिस ‘तावाको माछो भुंग्रो’मा परेझैं भए । भकभकी उम्लिइरहेको समुद्रले कतिलाई निल्यो, त्यसको कुनै हिसाब छैन ।

त्यस्तो अत्यासलाई इतिहास बनाउन उनीहरूलाई तीन दिन पनि पर्खनु परेन ।

“विश्वमा मानिस यो जान्न उत्सुक छन् कि हामीले तीन दिनमै रेल कुदायौं । बत्ती जोड्यौं । राजधानीसँग सम्पर्कबिच्छेद थियो, टेलिफोन जोड्यौं । सडक शवले भरिएको थियो, आँसुले भिजेका तर आँटिला हातले पन्छायौं !” उनका आँखा पुनः आश्चर्यजनक भावमा हावामा तैरिए ।

“के हामी रोएरै मात्र बसेको भए या हेर्दाहेर्दा हाम्रा पुर्वजलाई खरानी बनाउने अमेरिकी सरकारलाई र हामीमाथि कुदृष्टि राख्ने विश्वभरका समुदायलाई गालीमात्रै गरेर बसेको भए हिरोसिमा बन्थ्यो त ?” भावुक तर गम्भीर प्रश्न गरिन् उनले ।

बम हमला भएको दिन बाँचेका हिरोसिमाबासी बाहिर निस्कन सकेनन् । पर्यावरणमा फैलिएको धूलो, धूवाँ र आगोको झिल्काले प्राण हर्ने भयले भित्रै निसास्सिए । दोस्रो दिन पनि भय र त्रासको तुवाँलोमै रंगमंगियो ।

जब तेस्रो दिन आयो, हिरोसिमाबासी एकाएक घर बाहिर निस्किए । त्यो दिन नै हिरोसिमाबासीको गर्विलो इतिहास हो । हिरोसिमामा त्यस दिनजति मानवता खोला लागेको विश्वमा बिरलै इतिहास होला ।

“तिमीलाई थाहा छ, त्यस्तो कतै कहिल्यै हुनेछैन,” उनको छाती गर्वले चौडा भए । ओठमा जुनेली आभा छायो । आँखामा सात घाम उदायो ।

त्यही दिन हो हिरोसिमाबासीले आँसुले भिजेका खरानी समातेर कसम खाएको । मुलुक बनाइछाड्ने संकल्प गरेको । जब हिरोसिमाबासीले समवेत स्वरमा देश बनाउने शंघखोष गरे, सिंगै शहरबासी कम्मरमा ‘पटुका बाँधेर’ सडकमा निस्किए ।

“हाम्रा पुर्खासँग बमको गन्ध, जोखिमयुक्त विकिरण र जताततै लाशको दुर्गन्धबाहेक केही थिएन । तर, प्रतिज्ञा र दृढताले भरिएका थिए,” हजुरआमाको सहारा लिएर त्यसदिन सम्झिन्छन् मिदोरी ।

जलेका ठुटाजस्ता मानव शरीर, खरानीका थुप्राजस्ता घर–कटेरा पन्छाउन थाले । त्यतिबेला हिरोसिमाबासीलाई सघाउने कोही थिएन । बाह्य देशबाट होइन, देशभित्रैका मानिसहरू समेत आउन सकेनन् ।

हावामा विकिरण मिसिएकाले प्राण उखेलिने भय उत्तिकै थियो । त्यत्ति नै बेला जापानकै अर्को शहर नागासाकी आगोको लप्कामा बदलिँदै थियो । अमेरिकी वम वर्षक विमानले एकाबिहानै नागासाकीमा ‘फ्याट म्यान’ बम खसालेको खबर शहरमा छ्याप्छ्याप्ती भइसकेको थियो । ३९ हजार सिपाहीसहित ८० हजार मानिस त्यहाँ पनि स्वाहा भए ।

“यस्तो अत्यासलाग्दो आगोको भुंग्रोमा हामफाल्न को आउँथ्यो र !” उनी फेरि फ्ल्यासब्याकमा पुगिन् ।

तर, हिरोसिमाबासीले पर्खिएर बसेनन् । न अमेरिकी बम हमलाले मर्माहत बन्न पुगेको सरकारको मुख नै ताकेर बसे । बरु घरमा भएका साबेल, बेल्चा बोकेर सडकमा निस्किए ।

उनले डोर्‍याउँदै एउटा रेलको अस्थिपञ्जरजस्तो लाग्ने फोटोमा पु¥याइन्, जहाँ कबाडखानाले समेत किन्न नमान्ने पाटपुर्जाको फोटो थियो ।

परमाणु बम हमला भएको ठाउँनजिकै फेला परेको त्यो आगोको लप्काले पूरै निलेको थियो । उनी भन्दै थिइन्— त्यसमा सवार कोही पनि बाँचेनन् । आगोको जलन सहन नसकेर मान्छे सडकमा उछिट्टिएका थिए । शवले घेरिएको रेलका डिब्बा मुर्दाघर जस्तै थियो ।

त्यसलाई पन्छाउँदै मर्मत–सम्भार गर्न हिरोसिमाबासीलाई तीन दिन पनि लागेन । फलामको भएकाले रेलका लिक सहीसलामत थिए । भत्किएका घरको भग्वनाशेष थुप्रिएकाले पन्छाएमात्रै पुग्थ्यो ।

बत्ती र टेलिफोनको हालत पनि उस्तै थियो । सिंगै शहरको भीष्मप्रतिज्ञाका अघिल्तिर अभावले घुँडा टेक्यो । शोकलाई शक्तिले उछिन्यो । घर–घरमा आफूले जुगाड गरेका सामग्री शहरबासीको हितमा सुम्पिइए । परमाणु बम हमलाको अपूरणीय घाउमा मल्हमपट्टी लगाउने काम गर्‍यो त्यसले । यो समय मर्नेका नाममा समवेदनाको आँसु चुहाउने होइन, बाँच्नेका नाममा चिराग जगाउने र मान्छेको पीडालाई प्राप्तिमा बदल्ने अवसर हो भन्ने तथ्यलाई हिरोसिमाबासीले गहिरोसँग हृदयंगम गरे । फलतः हिरोसिमा बदलिन १० वर्ष पनि पर्खन परेन ।

उनी देखाउँदै थिइन्, “ग्यालरीको भित्तामा हाँसिरहेको सुन्दर शहर, हिरोसिमाबासीको अठोट हो ।”

मिदोरी जन्मँदा ‘लिटिल ब्वाइ’को आतंक संग्रहालयमा सीमित भइसकेको थियो । कंकालमाथि उभिएको हिरोसिमा अहिले आमा– हजुरआमाका पालाका भन्दा निकै विस्तृत, फराकिलो, विकसित भइसकेको छ । ७३ वर्षको अन्तरालमा परमाणु बम हमलाको अवशेषसमेत पाइँदैन त्यहाँ ।

कुराकानीकै क्रममा मिदोरीका आँखा आधा जलेको जापानी येन (मुद्रा)मा पर्‍यो । उनका दृष्टि पुनः भिजे । दुवै आँखाका छेउकुनाबाट फुत्त आँसु चुहिएलाझैं भयो । भन्न थालिन्, “तिमी आश्चर्य मान्छौ होला, हिरोसिमा बनाउँदा हामीसँग एक पैसा पनि थिएन । पैसा होइन, पैसा आउने बाटोसमेत खरानी भएको थियो । तर, पनि कसैसँग एक पैसा नमागी देश बन्यो ।”

त्यसैको प्रतीकात्मक तस्बिर हो यो ।

मिदोरी नेपाल बस्न थालेको २० वर्ष पुगेछ । प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्समा जापानी भाषा पढाउँछिन् । नेपालीलाई जापानी सिकाउँछिन् । नेपाली कला, संस्कृति र नेपाली मनबाट उत्तिकै अनुग्रहित पनि छिन् ।

उनी त्रिभुवन विमानस्थलमा अवतरण हुँदै गर्दा नेपाल सशस्त्र संघर्षको रापतापमा थियो । युद्धको आगोले हिरोसिमा बिर्साउने हो कि भन्ने भय थियो । केही समय नबित्दै युद्ध चिसियो । भय दूर भयो भनौं । १७ हजार नागरिकको मृत्युवरणपश्चात् मुलुक शान्ति–प्रक्रियामा अवतरण भयो ।

तर, उनको चिन्ता रहेछ, “नेपाल किन बनेन ?”

नेपालीहरू अल्छी छन् भन्ने हो भने संसारभर उनीहरूको जाँगर फिँजिएको छ । दुनियाँका बडेबडे सभ्यता, विकास निर्माणमा उनीहरूको पसिना मिसिएकै छ । आफ्नै देश किन बनाउन सकेनन् होला ? यही प्रश्नले उनको मन बेलाबखत आगोमा परेको माछोझैं फटाफटाउँदो रहेछ ।

त्यतिमात्रै होइन । ०७२ सालको शुरूआतमै भूकम्पले विनाशलीला मच्चायो । १४ जिल्ला क्षतिग्रस्त भए । ९ हजारले ज्यान गुमाए । ५ लाख परिवार ओतविहीन बने । संसारभरबाट सहयोगको ओइरो लाग्यो । जापनले समेत थेरथोर सघायो । अहिलेसम्म पनि भूकम्पले ढलाएका संरचना उठ्ने सुरसार छैन ।

“कतै हाम्रो संकल्प र आत्मविश्वासमा पो खिया लागेको छ कि ? कतै हामी भुत्ते, आशे हुँदै गयौँ कि ?” पुनर्विचार गर्न आग्रह गर्छिन् उनी ।

“देश बनाउन अरूको सहयोग निकै गौण कुरा हो, प्रधान कुरा त तपाईंहरूको संकल्प र दृढ इच्छाशक्ति नै हो,” उनी सुझाउँछिन् । इच्छाशक्तिमा अभाव कहिल्यै बाधक नबन्ने बरु साधक बन्ने जिरह छ उनको ।

छेवैमा आधा जलेको बुद्धको मूर्ति थियो । कम्मरदेखि मुनिको भाग जलेको उक्त मूर्ति लगभग भकुण्डो आकारको थियो ।

“हामीकहाँ बुद्धमात्रै होइन, हुन सक्छ— यशु पनि जले । अन्य धर्मका ‘भगवान’ समेत सद्दे रहेनन् । यसकारण कि, युद्धको कुनै जात, धर्म हुँदैन, शिवाय विध्वंश !” आँखा पुनः सजल भए उनका ।

हिरोसिमाबासीसँग बिहे गर्न हिच्किचाउँछन्

बबरमहलस्थित कला परिषद्को ग्यालरीमा नेपालमा कार्यरत विभिन्न जापानी संस्थाले शनिबारदेखि फोटो प्रदर्शनी शुरू गरेका छन् । तस्बिर विज्ञान र प्रविधिले निर्माण गरेको परमाणु बमले मानवीय सभ्यतामाथि गरेको नग्न उपहासदेखि खरानीबाट उठेको हिरोसिमासम्मका इतिवृतान्त समेटिएका छन् ।

“उत्तर कोरिया, पाकिस्तान, इरानदेखि भारतसँग समेत छ भनिएको आणविक शस्त्र–अस्त्र ‘लिटल ब्वाइ’ र ‘फ्याट म्यान’भन्दा कयौं गुणा शक्तिशाली र घातक मानिन्छन् । र, यिनले निमेषभरमै सिंगो मानव सभ्यता क्षणभंगुर तुल्याइदिन सक्छन् । अतः हाम्रो चेतना खरानी हुनुपूर्व नै हामी ब्युँझनुपर्छ, आजको परिस्कृत युगलाई २० औं शताब्दीजस्तो मानवीय विवेकलाई परमाणु बलमे जितेको युग बनाउनु हुँदैन,” उनले तस्बिर प्रदर्शनीको निहितार्थ प्रष्ट्याइन् ।

कुराकानीको उत्तराद्र्धतिर आइपुग्दा उनका आँखा फेरि भावुक देखिए । स्वर भिजेकोजस्तो सुनियो । भन्न थालिन्, “हिरोसिमाबासीसँग बिहे गर्न अझै हिच्किचाउँछन् । हिरोसिमाको हुँ भन्दा साथी बन्न कोही तयार हुँदैनन् ।”

विश्वका केही मानिसलाई अझै लाग्दो रहेछ— हिरोसिमाबासीको शरीरमा अझै परमाणु बमको असर छ । उनीहरूसँग संगत गर्नु भनेको क्यारन्सरको जोखिम निम्त्याउनु हो । बिहे गर्नु त झनै जोखिम हो । जन्मने सन्तान होइन, दरसन्तान पनि क्यान्सरले निलिदिन्छ ।

हिरोसिमाबासी भन्ने थाहा पाउनेबित्तिकै अत्यन्त बुज्रुक भनिएकाले पनि उनलाई दशफेर हेर्छन् । शिर–पाउ अद्योपान्त नियाल्छन् । कुतूहलमय प्रश्न तेस्र्याउँछन्, “आर यु ओके ?”

उनी भन्दाभन्दा वाक्क भइसकिन्, “हो, म ठीक छु !”

त्यसो त उनका काकाको छोरालाई समेत रक्तक्यान्सर देखियो । हिरोसिमामै जन्मिएको हुनाले परमाणु बमकै असर ठानियो । चिकित्सकले सोहीअनुसार उपचारसमेत गरे । पूर्णतया निको भए उनी ।

“हेर त युद्धको असरले कहाँसम्म पछ्याउँदो रहेछ ! अतः युद्ध यो युगमा मात्रै होइन, कुनै पनि युगमा, कसैले पनि भोग्न नपरोस्, हिरोसिमाबासी संसारभर यही सन्देश फिँजाउँदैछन् ।”

बाह्रखरी अनलाईनका लागि अक्षर काकाले लेख्नुभएको यो सामग्री साभार गरिएको हो ।