(JAPAN) 18 th July | 2018 | Wednesday | 9:13:35 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:58:10 AM
 

जापानमा लगनशिलता, ईमान्दारिता र दृढ संकल्पले सफल भईन्छ, गलत धन्दा वा बाटोले मात्र होइन : केशव थापा

  POSTED ON : Thursday, 05 July, 2018 | Views : 4642

जापानमा लगनशिलता, ईमान्दारिता र दृढ संकल्पले सफल भईन्छ, गलत धन्दा वा बाटोले मात्र होइन : केशव थापा

गोरखाबाट दुई दशक अघि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका 'उनि' स्नातकोत्तर अध्ययनलाई बिचमै थांती राखी बाटो मोडेर जापान हानिए । छोटो समयमा ऋणबाट सञ्चालन गरेको प्लास्टिक तथा हार्डवेयर व्यापार विस्तार, आफ्ना सपना र लक्ष्य पुरा गर्न आर्थिक रकमको जोहो गर्ने लक्ष्य बोकेर अध्ययनको लागि परदेश हानिएका उनी फेरी बाटो मोड्दै यस्तो बिन्दुमा पुगे जसले उनलाई रित्तै हात नेपाल फर्काउन पनि सक्थ्यो र नयाँ सुत्रपातको पात्र बनाउन पनि ।

मनको ईच्छा, आफु भित्रको क्षमता र लगनशिलताको निरन्तरतालाई बुझेका उनले आफ्नो चाह मार्न चाहेनन् र जापानमा थालनी गरे डिजाईन र प्रिटिगं कामको बजार प्रर्वद्धन ।

जापानीहरुले नै कठिन मान्ने व्यवसायमा बिदेशी युवा, त्यो पनि भाषामा औषतमात्र रहेको समयमा उनलाई कमजोरीको डर भन्दा पनि ईच्छाशक्तिको आँटले हौस्यायो र थालनी गरे मात्र ५ मान मासिक काममा त्यो पनि कुनैपनि बेला कामबाट निकालिनसक्ने मन्जुरीनामा गरेर ।

महिनाको लाखौं आम्दानी हुने ढुक्कको काम छाडेर चुनौतिलाई स्विकार्दै नया व्यवसाय स्थापित गरेरै जापानमा व्यवसायीको रुपमा स्थापित तथा नेपालीहरुमाझ फरक व्यक्तित्व निर्माण गर्न सफल युवाहरुको प्रेरणाका एक पात्र उनि हुन् 'केशव थापा' ।


रहरले शहर पसेका थापाको सात समुन्द्र पार यात्रा


गोरखा दरवार नजिक तत्कालिन नारेश्वर गाविस थापाको जन्मथलो हो । सतपिपल बजारमा हुर्किबढी द्रव्य शाह क्याम्पसमा प्रविणता प्रमाणपत्र तह सकेर राजधानी पसेका उनले नेपाल कमर्स क्याम्पसमा स्नातक तह पुरा गरेपछि शंकरदेव क्याम्पसमा स्नातकोत्तर तह अध्ययन थाले ।

अध्ययनकै बिचमा आफ्नै व्यापार व्यवसाय गरेर राम्रै काम र दाम कमाई रहेका केशव त्यतिखेर खल्बलिन पुगे जतिखेर संकटकाल लागु भयो अनि द्धन्द्धकालीन अवस्था चरम उत्कर्षमा पुग्यो । न व्यवसायमा रहन सक्ने अवस्था, न त अध्ययन वा अन्य नयाँ काम थालनीको सम्भावना नै ! आफैंले बजार विस्तार गरेर उपत्यका सहित बनेपासम्म व्यवसाय फैलाएका केशवले हठात निरन्तरको यात्रामा अल्पबिराम लगाए र हानिए सात समुन्द्र पार 'जापान' ।


अध्ययनलाई अल्पबिराम दिएर यसरी बन्यो बैकल्पीक पेशा


पौरखले जोडेको व्यापार अनि झण्डै दुई दशकको पढाई उपलब्धिलाई अल्पबिराम दिएर जापान हानिएका केशव थापा भन्छन्-'जापानीज भाषा अध्ययनको एक वर्षे अवधि बल्ल तल्ल सकिनै लाग्दा अन्य साथिहरु थप अध्ययनको लागि सेन्मोन गाक्को खोज्न थाले, मैंले चाहिँ काम गर्ने कम्पनी खाजें तर त्यो वारपारको अवस्था थियो ।'

जापानमा जसरी पनि बस्न रहर गर्ने अनि ढुक्कको कमाई हुने काम छाडेर वारपारको त्यस्तो रोजाई आफैं रोजेका केशवलाई अहिले त्यही पेशाले पहिचान दिलाएको छ । उनि भन्छन्-'जापानमा डिजाईन र प्रिन्टीगंको काम गर्ने तथा बजार प्रर्वद्धन गर्ने पहिलो नेपालीको रुपमा चिनिन पाउँदा खुशी लाग्छ ।' अझ त्यो भन्दा खुशी आफुले सुरुवात गरेको पेशामा दर्जनौं नेपालीहरु लागिपरेर व्यवसाय गरिरहेको देख्दा थापा गर्व महसुस गरिरहेका थिए ।

व्यापार बढाए काम र दाम अन्यथा कुनैपनि बेला निस्कासन हुन तयार पत्रमा हस्ताक्षर गरेर काम थाल्दै गर्दा 'बुद्धि बिगारेको', 'नेपाल फर्कने भयो' तथा 'मुर्ख' सम्म भनेर सम्झाइ बुझाई र सुझाव दिनेमध्ये कयौं नेपाल फर्कीसक्दा केशव भने जापानमै छन् । त्यसमा पनि थापा जापानमा 'औषत' रुपमा मात्र बसिरहेका छैनन् । अझ भनौं औषत व्यवसायी वा व्यापारीको रुपमा नभई आफ्नै पेशा व्यवसाय स्थापित गरेर जापानी, नेपाली सहित दर्जन बढी व्यक्तिलाई खुशीको काम दिलाएर उदाहरणीय अनि केही फरक काम गर्न चाहने नेपालीहरुको लागि उत्प्रेरक व्यवसायि बनिरहेका छन् ।


एउटा 'कार्यालय' जहाँ 'सबैजना सँधै जित्छन्'


कुनैपनि पेशा वा व्यवसायमा एकजना वा केही व्यक्ति मालिक हुन्छन् बाँकी कामदार । अझ भनौं तोकिएको निश्चित तलबमा काम लगाएर वा गर्ने कामदार मुनाफामा कहिल्यै भागेदार बन्दैन । जसले लगानीकर्ता वा प्रमुखलाई उँभो लगाइरहन्छ तर कामदार यथास्थानमै रहीरहेको हुन्छ ।

'बिजि प्लस मिडिया'को बिचारधारामा कामदार र कम्पनी दुवै पक्ष 'विन-विन' अनि खुशी सहित क्षमता विकास गर्ने सोचका साथ अग्रसर छन् । थापा भन्छन्-'कामगर्ने सबैलाई नियमीत काम सँगै अतिरिक्त काम दिलाएर व्यस्त बनाउँने अनि जति काम र क्षमता देखाउन सक्छन् उनिहरुले आफ्नै क्षमता अनुसार कमाई गर्दैजाने शैलीनै बिजि प्लसको विशेषता हो ।'

जापानमा सञ्चालित नेपाली कम्पनी तथा नेपाली व्यवसायीहरुको नियती र प्रबृत्तिप्रति असहमत मात्र होइन बिरोध सहित फरक मत राख्दै आएका थापाको सटिक विश्लेषण छ-कामदारलाई न्युन पारिश्रमीक, सेवा सुविधा कटौती, छुट्याएको पारिश्रमीकमा आँखा गाडेर तथा अनेक बन्धन र बाध्यतामा पारेर शोषण मात्र होइन लुट मच्चाएर कमाएको सम्पत्ती र धनबाट म कसैलाई सहयोग गरेको नाममा खादा ओड्न जान सक्दिन, अनि अतिथि बन्दै र अनेक संघसंस्था र समाजहरुका प्रमुख बनेर हिँडिरहन सक्दिन ।' थापा भन्छन्-'यसले मलाई खुशी होइन पोल्छ तर बिडम्बना यस्तै गर्नेहरुनै यहाँ अग्रज बनेर हिँडिरहेका छन् ।'

कर्मले आर्जेको केशवको कमाई


संघर्ष सुरुवातको समयमा बाटो देखाउने भन्दा अर्ति बढी अनि हतोत्साहित पार्ने प्रवृत्ति ज्यादा रहेको जापानका अग्रज नेपालीबाट भोगाई व्यहोरेका केशवले यस्ता अनेक उतारचढाव पार गर्दै डिजाईन, प्रिन्टिगं सँगै होर्डिगं बोर्ड, फ्लेक्स निर्माणको कार्यालयसँगै आफ्नै कारखाना सञ्चालनमा ल्याएका छन् ।

जापानमा रहेका नेपालीहरुको आम समस्या समेतलाई सम्वोधन गर्नेगरि न्युन आम्दानी उच्च जोखिम रहेपनि सेवा भावले कुनै शुल्क नलिइ वकिंगं भिषामा सघाउने काम कम्पनीनै स्थापना गरेर सहयोग गरिरहेका छन् ।

केशव भन्छन्-'सम्वन्धित कम्पनीले दिने निश्चित सहयोग शुल्क बाहेक काम लगाइदिएका कोहीपनि व्यक्तिसँग कुनैपनि शुल्क लिंदैनौं र लिएका छैनौं, हाम्रो यही कामले गर्दा जति जना हाम्रो 'बिजि प्लस मिडिया' कम्पनीबाट विभिन्न कम्पनीमा काम गर्न जानुभएको छ सबै खुशी र सन्तुष्ट छन् ।' केशव भन्छन्-'कतिपय पैसा नै नखाई पनि काममा लगाईदिन्छन् र ! भनेर छक्क पर्छन् यसको अर्थ जतिपनि काम लगाईदिने नेपाली कम्पनीहरु छन् उनिहरुले केही न केही नाममा शुल्क उठाइरहेका छन् भन्ने देखाउँछ । जुन गलत छ ।'

आर्थिक कमाई र अवस्थाबारेको जिज्ञासालाई रोचक ढंगमा अर््थ्याउँदै केशव भन्छन्-'काठमाडौंमा एउटा छानो अनि खानलाई मानोको जोहो गरेको छु, त्यसबाहेक देखाउने गाडी, बंगला, ठूलो अफिस वा अन्य सम्पत्ती जोडेको छैन ।' जीवनको कमाईलाई रकममा भन्दा व्यवहारिक जवाफमा टुंग्याउँदै केशवले भने-'त्यो भन्दा ठूलो कमाई जापानमा रहेका नेपाली माझ परिचय अनि विश्व बजारको केन्द्र रहेको टोकियोमा नेपाली व्यवसायीको रुपमा आफुलाई उभ्याउन सफल भएको छु ।'

लो प्रोफाइलमा रहेर काम गर्न रुचाउने, धनसम्पत्ती देखाएर घमण्ड वा प्रचार गर्नु लाज शरमको विषय ठान्ने थापा आफ्नो ईमान, जमानले गर्वका साथ कमाएको बेदाग परिचयमा गर्व महशुस गरिरहेका थिए ।


जीवनको कमाईकै रुपमा केही अनुभवलाई स्मरण गर्दै थापा भन्छन्-"नेपाली राजदूतसँगको एउटा भेटमा 'यो मान्छे सक्कली गोर्खाली हो, सँधै 'क्रियटिभ' नयाँ खालको काम गर्छ' भनेर परिचय गराईदिंदा, अनि केही समयअघि डा.महाविर पुन उपस्थित कार्यक्रममा 'उहाँ अलि फरक खालको पेशा व्यवसाय गर्ने खालको हुनुहुन्छ' भनेर अरुबाट परिचय पाउँदा मैंले आफ्नै बलबुताले केही पृथक परिचय बनाउन सकेछु जस्तो लाग्छ ।"

नेपालमा विनाशकारी भूकम्प गएको समयमा जापानमा सबैभन्दा धेरै आर्थिक सहयोग गरेको सेभेन इलाभेन कम्बिनि स्टोरमा चन्दा बक्स राख्न लगाएर करोडौं रुपैयाँ संकलनमा नेतृत्वदायि भुमिका, खाद्यान्न सहित अन्य सामग्री संकलनमा पहल, जापान आएको डेढ महिनामै निधन भएका एक विद्यार्थीका परिवारलाई एनआरएन लगायत सहयोगी व्यक्तिहरुको साथ र पहलमा ठूलो आर्थिक ऋण भारबाट मुक्त गराउने पहल तथा रुपन्देहीमा आश्रय स्थलमा रहेका बालबालिकाहरुलाई महिनौं गाँसबाँस उपलब्ध गराएर आफ्नो मनकारी भावना देखाएका केशव थापा भन्छन्-'सेवा भावले काम गर्ने मान्छेले प्रचार गर्दैन प्रचार गर्नेले सेवाभावले गरेको नहुन पनि सक्छ !'

जापानमा इमान्दारिताले मात्र दिगो परिचय बन्ने विश्वास गर्ने थापा नेपाल र नेपालीप्रतिको जापानीजहरुको विश्वासलाई सँधै उँचो बनाउन इमान्दारिता देखाउन सबैमा आग्रह गर्छन् । आफुले फेला पारेको लाखौं येन रकम सहित सामग्रीहरु फिर्ता गरेको केही सन्दर्भ सुनाउँदै थापा भन्छन्-'आफ्नो हराएको भए के हुन्थ्यो ? भन्ने सोचे मात्र पनि जापानको असल संस्कार हामीले सिक्न सक्छौं ।'

स्पष्ट बोली, मिजासिलो स्वभाव इमान्दारिता अनि मेहनत र लगनशिलताले सफलताको सिँढि चढिरहेका थापाले आफुले जापानी भाषा अध्ययन गरेकै विश्व विद्यालयले सफल विद्यार्थीको रुपमा निमन्त्रणा दिएर बेलाबखत आफ्ना अनुभव आदान प्रदान गर्न लगाउँदा विद्यार्थीहरुबाट प्राप्त प्रतिक्रिया र प्रेरणाले जीवनमा अझै केही गर्न उर्जा थपिरहने गरेको बताए । छोटो संवादबाट छुटिने क्रममा थापाले जीवन र जिन्दकिको आफ्नो बुझाई समग्रमा खुशी र आत्म सन्तुष्टि अनि 'मानवको लागि मानव' भन्ने भाव राख्दै साहित्यिक भावमा सामाजिक सञ्जाल फेसबुकमा राखेका यी पंक्तिहरु आफैंले पढेर सुनाए

जिन्दगी र जिरो

जिन्दगी र जिरो

आउँदा जिरो

जादाँ जिरो

जिन्दगी भरी किन सबै सधै रातो र पिरो

कोहि भएर खान नहुने

कोही नभएरै खान नहुने

कोही धेरै खाएरै मर्ने

कोहि खाना नपाएरै मर्ने

कोही ८४ व्यनजन ,सम्पूर्ण भौतिक सुखसहेलमा पनि दुष्ट

कोही अनकन्टार ओडार र २ छाकमा पनि सन्तुष्ट

आउँदा जिरो

जादाँ जिरो

जिन्दगी भरी किन सबै सधै रातो र पिरो...

प्रस्तुती : गोकर्ण अधिकारी