(JAPAN) 19 th December | 2018 | Wednesday | 1:49:00 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:34:00 PM
 

एउटा विद्यार्थीको जापान अनुभव र प्रश्न-ध्वस्त जापान समृद्ध बन्दा नेपाल किन सँधै अभावमा ?

  POSTED ON : Sunday, 10 June, 2018 | Views : 1784

एउटा विद्यार्थीको जापान अनुभव र प्रश्न-ध्वस्त जापान समृद्ध बन्दा नेपाल किन सँधै अभावमा ?

विष्णु रोकाया-श्रमको सम्मान र उचित ज्यालाको ब्यवस्थापन गर्नेहो भने हाम्रो देशमा युवाको लागि असीमित सम्भावना र अवसरहरु रहेका छन् । जति हामी बिदेशमा पसिना बगाएर जवान युवाहरुले लगानी गरिरहेका छौं त्यती आफ्नै देशमा मेहनत र पसिना बगाउने हो भने हामी फोहरमा मोहर फलाउन सक्छौं ।

बिदेशमा फोहोर लाई मोहर बनाउन श्रम गर्ने अनि मरुभुमिलाइ हराभरा र झिलीमिली बनाउन सक्ने नेपाली युवा देशमा सहि बाताबरण र अबसर नपाउँदा बिदेशीन बाध्य भइरहेका छन् । आज लाखौं नेपाली युवाहरु बिदेशमा पसिना बगाउन बाध्य छन् अनि त्यही लाईनमा हजारौं युवा बसिराखेका छन् जसलाई हामीले देशभित्रै रोजगारी दिने तथा अवसरहरु पहिचान गरेर श्रममा लगाउन मात्र सक्यौं भने पनि देशले समृद्धिमा ठूलो फड्को मार्नसक्छ ।

हरेक सरकार, दल तथा नेतृत्व वर्गले युवाको नाममा अनेक भाषण र आकर्षक नारा बनाएपनि अहिलेसम्म एक हजार युवा सम्मलाई देशभित्रै रोजगारी र स्वदेशमै उचित वातावरण बनाउने ठोस काम गर्न सकेका छैनन् ।

जब सम्म सर्ट र पाइन्ट लगाउने अनि टाई सुटमा ठाँटिएर हिँड्नेहरुलाई मात्र सभ्य र ठुलाबढा सम्झिने अनि कृषि, उद्योग धन्दा, कलकारखाना बिकास निर्माणका काममा खटिनेदेखी दैनिक ज्यालादारी र कृषकलाई दोस्रो दर्जाका नागरिकको रुपमा आम धारणा रहिरहन्छ र नीति निर्माण तहले त्यसलाई मलजल गर्ने काम गरिरहन्छ तब सम्म देशले बिकासमा फड्को मार्ने रहर र सपना कोरा कल्पना मात्र हुन जान्छ ।

श्रम र सिपको सम्मानले नागरिकलाई आफ्नो देश अनि राज्यप्रती र आफ्नो काम प्रति जिम्मेवारी बोध गराउनुका साथै अपनत्व प्रदान गर्छ । श्रमको सम्मान र श्रमको उचित ज्यालाकै कारण धेरै देशले बिकास र आर्थिक समृद्धिमा छोटा अवधिमै ठुलो फट्को मारेका छन् ।

कसैले उच्च शिक्षा हाँसिल गरेको छ भन्दैमा वा केही आर्थिक हैसियत राम्रो छ भन्दैमा उसले कुटो कोदालो र हलो समात्नु हुन्न यस्ता काम अनपढ र गरिवले मात्र गर्ने हो भन्ने मानसीकता रहिरहन्छ तबसम्म देश निर्माण र समृद्धिको थालनी सुरु हुनै सक्दैन ।

देशको झण्डै आधा जनसंख्या युवा जनशक्ति हुँदापनि देश जहाँको तहीँ छ । युवाहरू बिदेशमा गएर जस्तोसुकै काम गर्न तयार छन् तर देशमा बिदेशमा गरेकै काम गर्न चाहँदैनन् या भनौं हिचकिचाउँछन् । यसको मुख्य कारण भनेकै श्रमको सम्मान नहुनु र कामदारले पाउने न्युन ज्याला हो ।

लगानी कर्ता सँधै नाफा र मुनाफामा गईरहने कामदारलाई सँधै दैनिकी चलाउनै धौधौ हुने अहिलेको अबस्थाले मान्छेलाइ मानसिक रुपमा समेत श्रमबाट विमुख गराउने काम गर्छ ।

त्यसैले पनि श्रमको सम्मान नभएकै कारण नेपालमा केही पेशामा आवद्ध भएकै कारण दलितको रुपमा हेरिने असामाजिक काम हुने गरेका छन् । जसले समाजलाई विभाजन अनि समाज विग्रहसँगै देशलाई नै पछि पार्ने काम भइराखेको छ ।

यहाँनेर मेरो छोटो जापान बसाईको अनुभव र यथार्थता जोड्ने हो भने यहाँ कामलाई न कुनै जातले रोकेको छ न त कुनै पढाइ वा वर्ग विशेषले नै ।

जसले हामिलाइ पनि केही सोच्ने र काम गर्ने परिपाटीमा परिबर्तन ल्याउन सघाउँदछ । जापानमा मैले देखेअनुसार यहाँ सबैले आफुलाई दिएको काम जिम्मेवारी पुर्बक बहन गर्ने गर्दछन् ।

कुनैपनी कम्पनीको मालिक होस् म्यानेजर, सुपरभाइजर वा सामान्य कामदार सबैले सबैको समान सम्मान र श्रमको तारिफ गर्नेगर्दछन् । समयमै काम थालनी र सक्ने दृढ संकल्पित जापानीहरुको यही बानीले कामदारको मनोबल बढाउने कामसँगै उच्च विकास र समृद्धिलाई सँधै उचाईमै राखिराख्न सफल भएको छ ।

लेखक रोकाया केही महिना अघि मात्र विद्यार्थीको रुपमा जापान आउनुभएको हो, उहाँ जापानसमाचारडटकमका संवाददाता समेत हुनुहुन्छ ।