(Japan) 19 th April | 2024 | Friday | 1:41:26 PM || (Nepal) 10:26:26 AM
 
 


दुई जन्मदिन-प्रधानमन्त्री ओलीको बर्थ डे केक अनि गुमनाम जापानी सम्राटको सन्देश

Hemanta Giri   POSTED ON : Wednesday, 26 February, 2020 | Views : 4076

दुई जन्मदिन-प्रधानमन्त्री ओलीको बर्थ डे केक अनि गुमनाम जापानी सम्राटको सन्देश


२२ फेब्रुअरीमा मेरो जन्मभूमिका कार्यकारी प्रमुख के पी ओलीको जन्मदिन थियो । जन्मदिन कसरी मनाइयो तस्वीर र खबरहरू तपाईंले देखिसक्नुभयो ।

संयोगले २३ फेब्रुअरीमा मैले काम गर्ने कर्मभुमीका सम्राट नारुहितोको जन्मदिन थियो ! सम्भवत: तपाईंले उनको जन्मदिन सम्बन्धी खासै खबर र तस्वीरहरू देख्नुभएन होला !

सेन्ट्रल टोकियोको चियोदा वार्ड भित्र १.१५ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको जापानी राज दरबार छ । विभिन्न उत्सव र समारोहहरूमा सम्राटलाई सम्मान र अभिनन्दन प्रदान गर्न हजारौंको शंख्यामा जापानी नागरिकहरू दरबार परिसरमा भेला हुने परम्परा छ । यसपाली पनि सम्राट बाट हजारौं नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम आयोजन गरिएको थियो तर विश्वव्यापी खतरा बन्दै गइरहेको कोरोनाभाइरस संक्रमणको कारण देखाई उक्त जन्मोत्सव समारोह स्थगित गरियो । जापानी सम्राट नारुहितोको राज्यरोहण पछिको पहिलो जन्मोत्सव थियो त्यो । त्यसको महत्व जापानी समुदायमा कति हुँदो हो तर नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी उक्त विशाल समारोह स्थगित गरियो । जापानी सम्राटको पूर्व निर्धारित कुनै कार्यक्रम स्थगित भएको यो दोश्रो पटक रहेछ जापानी इतिहासमा ! तथापि सम्राटले विभिन्न देशका राजदूत र सरकारी अधिकारीहरू संगको सामान्य चिया पार्टीमा कोरोना भाइरसको संक्रमण र नागरिक स्वास्थ्यमा चासो व्यक्त गरे । संक्रमितहरूको स्वास्थ्य लाभको कामना गरे । मृत्यु भएका प्रति श्रद्धान्जली अर्पण गरे । यसरी जापानी सम्राटको जन्मोत्सव मनाइयो ।

उता तेह्रथुममा नागरिकलाई धुलोको सुनामी भित्र लपेट्ने गरी हेलिकप्टर उत्रिएको दृश्य देखियो । केक बोकेर अर्कै हेलिकप्टर आयो रे ! (केक विवाद यो आलेखको मेरो विषय हैन ) ! प्रधानमन्त्रीको जन्मदिन भव्य रूपमा मनाइयो भन्ने खबर आए । विरोधीका गाली आए, आलोचकका टिप्पणी आए, समर्थकका प्रतिवाद आए ।

म सोंचिरहेछु, चियोदा वार्डमा रहेको राजदरबार परिसरमा म धेरै पटक पुगेको छु । खुला क्षेत्र छ । सफा पनि छ । जापानीले मास्कको जगेडा गर्न नसक्ने पनि हैनन । योकोहामामा रहेको क्रूजमा बाहेक टोकियो एरियामा त्यती संक्रमण फैलिएको पनि छैन । फेरि किन स्थगित गर्यो जापान सरकारले सम्राटको त्यो जन्मोत्सव समारोह ?!

यस्तो बेला म नेपाल र जापान लाई तुलना गर्ने अवस्थामा रहन्न । ममा सबैमा जस्तो राष्ट्रवाद हावी भइहाल्छ । ‘यिनीहरू डर छेरुवा हुन, हाम्रा प्रमुखले गरेको काम ठीक छ’ भनेर लेख्न मन लागिहाल्छ । मेरो तातो नेपाली खुनले प्रमको बचाऊ गर्दै ‘अन्तराष्ट्रिय अभ्यास हो’ भनेर प्रतिवाद गर्न प्रेरित गर्छ । बिरोध र आलोचना गर्नेहरूलाई खोजीखोजी नाम तोकीतोकी ‘पख्लास्’ भन्न मन लाग्छ !

उत्ति बेलै फेरी छोरीहरूलाई सम्झिन्छु- भोली उनीहरू ठूला होलान, ‘बाबा जापानमा के देख्नुभाथ्यो’ भनी सोध्लान, त्यती बेला मैले ढांट्न सकूँला कि नसकूँला ?!

आफ्ना सन्तानलाई दिने चेतना हेलिकप्टर चढी, झुपडीहरू माथि बाट उडी, बारीका मकै माडी बनाएको मन्चमा चढी कुर्लेर ‘हामी समाजवादको यात्रामा छौं’ भन्नु जस्तो हुन्छ र ?!

सोंच मग्न छु !