(JAPAN) 15 th August | 2018 | Wednesday | 6:35:46 PM
(Nepal) 15 th August | 2018 | Wednesday | 3:20:21 PM
 

मनको कुरा भनौं-मृत्युले समस्या टर्दैन बल्झाउँछ, आफन्तलाई जीवनभर पिडा दिन्छ

  POSTED ON : Friday, 18 May, 2018 | Views : 6065

मनको कुरा भनौं-मृत्युले समस्या टर्दैन बल्झाउँछ, आफन्तलाई जीवनभर पिडा दिन्छ

पछिल्लो समय जापानलाई आर्थिकोपार्जनका लागि गन्तव्य बनाउने हामी नेपाली प्रसस्तै भएका छौ 

जापानको टोकियो, नागोया, ओसाका, फुकोओका,सिजोओका लगाएतका मुख्य शहरदेखि अन्य शहरहरुमा समेत हामी नेपाली बिभिन्न पेशा,ब्यबसाय,अध्ययन लगाएतका क्रममा छरिएर रहेका छौ।जति हाम्रो संख्या बढ्दै गयो त्यति नै हामी बिचमा समस्या बढ्नु स्वभाविक नै हो।तर दुई हप्ताको बिचमा असामान्य तरिकाले पोखराका २८ बर्षीय राजु के सी, गल्कोट हटियाकी २२बर्षीय सोनु श्रेष्ठ,गल्कोट ताराखोलाकी पुर्णा थापा र ललितपुरका २९ बर्षीय राजेन्द्र महर्जन गरी जापानमा चार नेपालीहरुको असहामायिक निधन र त्यसमा पनि दुई जनाको आत्महत्याबाट निधन भए पछि केही सहयोगी हुन्छ कि भनेर मैले आफ्नो बिचार यहाहरु समक्ष राख्ने प्रयास गरेको छु ।

मैले यो बिचार राख्दै गर्दा जापानमा हुने आत्महत्या र असामहिक मृत्यु न्युनिकरणका लागि डाक्टर बिजय ज्ञवाली ज्युहरुको टीम र बिभिन्न सामाजिक संघसंस्थाले कहिले स्वास्थ्य परिक्षण त कहिले बिभिन्न सेमिनार संचालन गरेर समस्या न्युनिकरण गर्नका लागि जापानमा गरेका प्रयासहरुको सम्झना नगरेको होईन । वहाहरुको सामूहिक प्रयासका अगाडि यो शुन्यप्राय नै होला तर बाच्नेहरुका लागि र आफन्तहरुका लागि केही न केही सहयोगी अबस्य हुने छ भन्ने आशा सहित यहाहरु समक्ष राखे ।

मैले आफैले अनुभव गरेका केही प्रतिनिधी घटना यहा उल्लेख गरेर बिषय बस्तुमा जान चाहन्छु

१-एकजना दाई नेपालमा गाडि चलाएर सपरिवार दुख सुख बाडेर मासिक १५/२० हजार बचत गर्ने कुरा गर्नु हुन्थ्यो । जापान आउने ईच्छा देखाउदा मैले यहाको बारेमा सकभर जाने बुझेको जानकारी दिन्थे ।

सायद पत्याउनु भएन क्यारे अनेक गरेर कुकका रुपमा जापान आउनु भो वहासंग अहिले पनि कुरा हुन्छ । भाई तपाईले जे भन्नु हुन्थ्यो त्यही ठिक रैछ पत्याईन । अहिले अलि गार्हो भयो के गर्दा होला केही सरसल्लाह पाउ न भन्नु हुन्छ ।

हातमा सिप नहुदा समस्या भएको हो । सीप सिक्नुस् अलिकति समय धैर्य गर्नुस् बिस्तारै बानी पर्छ भनेर सुझाव त दिन्छु । मेरो सुझावले वहालाई कतिसम्म सहयोग गर्छ छुट्टै कुरा हो तर वहाको टाउकोमा साहुको रिन र मनमा चिन्ता छ भन्ने कुरा बुझ्न मलाई गार्हो परेको छैन ।

२-एकजना दिदी जो बिध्यार्थी भिषामा जापानमा हुनुहुन्छ, जापान आउदाको खर्च र यहाको कमाई,ब्यस्त दैनिकी,घर परिवार तथा बालबच्चा संगको बिछोड,आफ्नो शारिरिक अस्वस्थता र भिषा थप्न कलेजमा तिर्नु पर्ने रकमका बारेमा यति चिन्तित हुनुहुन्थ्यो 

हामी घण्टौ कुरा गर्थ्यौ । स्वयं आफुले समाधान गर्न नसके पनि केही अग्रजहरुलाई सुझावका लागि आग्रह गरेर वहाको समस्या समाधानमा प्रयास गर्यौ । अहिले वहाका सामाजिक संजालमा मुस्कुराएका फोटा देख्दा खुसी लाग्छ, वहाले आफ्नो समस्या समाधान गर्न हामी संग सेयर गरेकोमा र हाम्ले प्रयास गर्न पाएकोमा पनि ।

३-एकजना भाई जसले दिनको १२/१४ घण्टा तन्दुरमा पाखुरा पोलेर काम गर्थे । रोजगार दाता संग सामान्य कुरामा बिबाद जस्तै भए पछि कहिले काममा आउन भन्ने कहिले नआउन भन्ने गर्दा उनले काम छोडे तर त्यसको सजाए स्वरुप महिना भरिको तलब र काम छोड्दा दिने कागज पत्र नपाउने सजाए दिईयो । उनि तनावमा आफ्नो ब्यथा मलाई पोखे, केही अग्रजहरुको सहयोग लिदै अनेक कसरत गरेर उनलाई तलब र पाउनुपर्ने कागज दिलाईयो । अहिले अर्को काम गर्न शुरु गरिसकेका छन् ।

४-एक जना बहिनी जो श्रीमानको डिपेन्डेन्टमा जापानमा आएकी थिईन उनीहरुको बिचमा केही असमझदारी थिए भन्ने कुरा बुझ्न कठिन नभए पनि उनको जापान बस्नका लागि भिषा नै नथपिदिएर नेपाल फर्कन बाध्य भए पछि त्यो बिचको अबधिमा उनिहरुका बिचमा कति मानसिक तनाव सिर्जना भएहोला भन्ने कुराको कल्पना गर्दा पनि कहाली लाग्छ । हाम्रा अनेक प्रयास असफल भए जापानमा बसी २/४ पैसा कमाएर सुन्दर भविस्य निर्माण गर्ने उनको सपनामा सहयोग नभए पनि सकुशल नेपाल फिर्ता भएकोमा भने खुसी नै मान्नु पर्छ ।

५-एक जना दाई जो लामो समय देखि जापानमा हुनुहुन्छ । सम्पुर्ण परिवार जापानमा सेट गरेर बस्नु भएको छ । बाहिरबाट हामीले हेर्दा सबै राम्रो देखिन्छ । तर वहाले परिवार बाट आफुले गरेको योगदानको कदर नगरेकोमा कैयौ पल्ट दुख पोख्नु हुन्छ । आफ्नै परिवार हुन उनीहरु आफुले आफ्नो भविस्य बनाउछन् भने त्यसैमा सन्तुष्ट हुन प्रयास गर्नुस भनेर त भनिन्छ तर वहाको मनले माने जस्तो लाग्दैन ।

मैले माथि उल्लेख गरेका यी प्रतिनिधी घटनालाई जापानमा हुने सम्पुर्ण आत्महत्याका कारक हुन् भन्नु गलत होला यसले मानसिक तनावको बिजारोपण अबस्य हुन्छ भन्दा पक्कै म गलत हुने छैन ।

यसरी मैले जापानमा अनुभव गरेका केही घटनाका आधारमा जापान भन्ने बित्तिकै जुन भिषामा भए पनि आखा चिम्लेर हाम फाल्ने।जापानमै रहेका मान्छेले भनेको सम्म नसुन्ने प्रवृतिले कहि न कहि समस्याको शुरुवात गरेकै हो।यसरी नया ठाउ परिवेशमा सोचे अनुकुल नहुदा शारीरिक र मानसिक दुवै रुपमा कमजोर हुदै जानु पनि स्वभाविक हो।बिधार्थी भिषामा रहने हरुका लागि पनि नेपाल देखि लाख लाख टिप्ने योजना तर यहा आए पछि बिधालय नगई नहुने बाध्यता ।

बिधालयको शुल्क र नेपालको ऋण नतिरी नहुने दवाव, दिन रात निद भोंक नभनि काम गर्नु पर्ने बाध्यता,त्यसैमा पारिवारिक बिछोडले बिक्षिप्त मनमा आफन्तबाट कहिलेकाही फोन गर्दा पनि फलानो गएको यतिमा यति सम्पति जोड्यो, यति पैसा पठायो जस्ता कुरा सुन्न परे सहन सम्म सहने हो नसके मानसिक रोगि हुदै आत्महत्या सम्म पुग्न कति समय लाग्छ ।

त्यस्तै प्राय धेरैका घरमा पैसाले गर्दा पारिवारिक समस्या बढाएको छ।मैले माथि उल्लेख गरेका अन्तिमका दुई उदाहरण यसको लागि पर्याप्त हुन्छ।कैयौ दुख कष्ट गरेर हुर्काई पढाई बढाई जापान भित्राएका परिवारका सदस्यले दुईचार पैसा कमाउन थाले पछि अभिभावकलाई नगन्ने उदाहरण हामी प्राय धेरैको घर भित्रै छ तर कतिपय ले पारिवारिक ईज्यतका लागि बाहिर नलिनु फरक कुरा हो ।

त्यसो त सबैमा लागु हुन्छ भन्ने गलत अर्थमा नबुझ्न आग्रह गर्दै जापानमा अहिले पनि श्रीमतीलाई डिपेण्डेण्ट भिषामा बोलाएर कमाउने र रमाउने भाडो बनाएका पुरुषहरु पनि छन् । भने श्रीमानलाई सास्ति दिने श्रीमती छदै छैनन् भन्न खोजिएको पनि होईन।जापानको ब्यस्त जीबनशैली एकातिर छदै छ । अर्को तर्फ पारिवारिक रुपमा मनमुटाव हुनु त झनै नराम्रो नै हो । यस्ता साना साना कुराले पनि जापानमा आत्महत्या जस्तो समस्याले जघन्य रुपलिन अभिप्रेरित गरेको छ।

अन्तमा आफ्नो स्वास्थ्य भन्दा ठुलो अरु केही छैन पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखौ।त्यस पछि बल्ल अन्य।जापानमा सबैको आ आफ्ना ब्यस्तता छन्।नेपालमा आफन्तका पनि आआफ्नै प्रकारका आशाहरु छन्।समस्या हरेकमा हुन्छ।समस्या समाधानको उपाए पनि छ।मनमा लागेका कुरा गुम्साएर होईन । नजिकका आफन्त संग सेयर गर्दा घट्ने नभए पनि केही उपाए निस्कन सक्छ।मैले माथिका उदाहरण सेयर गर्दा उपाए निस्केका उदाहरण नै हुन् । त्यसैले आफन्त हरु संग दुख सुख सेयर गरौ।चाहे त्यो फोनमा होस् या प्रत्यक्ष भेटमा किन नहोस् ।

एउटै कोठा भित्र बस्दा पनि पारिवारिक कुराकानीलाई भन्दा बिभिन्न सामाजिक संजाललाई प्राथमिकतामा राखेर मोबाईल वा कम्प्यूटर मा भुल्ने जस्ता ब्यबहारले आफ्नो पनालाई टाढा बनाउन सक्छ।त्यसमा पनि ध्यान पुर्याऔ।नेपालमा रहने आफन्तले पनि के कति कमायो भन्ने पक्षमा मात्र ध्यान नदिएर आफन्तले प्रदेशमा के कसरी जीवनयापन गरेको छ।स्वास्थ्य,मानसिक समस्या छ छैन लगाएतका कुरामा ध्यान दिन जरुरी छ जसले आफन्तलाई बाच्न ऊर्जा प्राप्त होस्।समस्या पर्यो भन्दैमा आफ्नै ज्यान फाल्ने प्रयास नगरौ।आत्महत्या गरेर आफन्तलाई पीडा होईन,आफन्त संग दुखसुख सेयर गरौ अबस्य केही न केही उपाय निस्कन्छ।आफन्तलाई मृत्यको पिडा दिनु भन्दा मनको पीडा भनौ बाचौ र खुसी बाडौ ।