(JAPAN) 19 th December | 2018 | Wednesday | 3:05:49 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:50:49 PM
 

विभेदका नौ बुँदा-रत्नपार्कमा उभिंदा रेट सोधिन्छ, महिला वेश्या हुने पुरुष नहुने ?

  POSTED ON : Tuesday, 24 April, 2018 | Views : 787

विभेदका नौ बुँदा-रत्नपार्कमा उभिंदा रेट सोधिन्छ, महिला वेश्या हुने पुरुष नहुने ?

विभेदका नौ बुँदा

नर र नारी दुवै सृष्टिका सुन्दर रचना हुन्, तर पनि यी दुईका निम्ति समाजले बेग्लाबेग्लै थिति बनाइदिएको छ र तीमध्ये कतिपय प्रचलन र व्यवहार अनुचित र नाजायज हुँदाहुँदै पनि हामीले त्यसलाई पर्याप्त चुनौती दिन सकिरहेका छैनौं । उस्तै कोखमा पैदा भएका, उस्तै वीर्य–डिम्बबाट बनेका, उस्तै रगत बग्ने मान्छेबीचको विभेदलाई पहिचान गर्न नसक्दा हामी त्यस्ता अन्यायबाट अहिले पनि जकडिएका छौं ।

हामीले साँच्चै युगान्तकारी परिवर्तन चाहेका हौं भने त्यस्ता गलत अभ्यास छोड्नुपर्छ। समाजले बनाएका तिनै केही विभेदकारी संस्कारलाई नौ बुँदामा संक्षेपमा तल उल्लेख गरिएको छ। यी हाम्रो समाजमा भएका हजारौं विभेदका केही प्रतिनिधि अंश मात्रै हुन् :

अनौपचारिक दासी

यस्तो लाग्छ, भान्छा महिलाको पेवा हो। भान्छा सम्हाल्ने करारनामामा छोरी जातिले जन्मँदै हस्ताक्षर गरेको हुन्छ। पुरुषले भान्छा सम्हाल्नका निम्ति नै श्रीमती घर भित्र्याउँछ भन्ने तथ्य त कुनै घरमा श्रीमतीको मृत्यु हुँदा लोकले ‘बिचरा फलानोको घरको चुलो निभ्यो, अब अर्को विवाह नगरे कसले चुलो धुवाउँछ ? ’ भन्ने गरेबाटै थाहा हुन्छ ।

श्रीमान्– श्रीमती अफिसबाट सँगै घर फर्कन्छन्, लोग्नेलाई पानी टक्र्याएर श्रीमती भान्छातिर लाग्छे भने लोग्ने सोफा या बिछ्यौनामा। एकाध जोडीलाई अपवादमा छोड्ने हो भने भान्छामा पकाउने, लुगा धुने र घर सरसफाइको काम नेपाली समाजमा अहिले पनि महिलाकै जिम्मामा छ। छोरी मान्छे भएकै कारण भान्छा, पँधेरो र सरसफाइमा जिन्दगीको आधा समय खर्चनुपर्ने चलन पटक्कै मुनासिव होइन।

बिहान छिटो उठेर दैलो पोत्ने, सन्तानको हेरचाह गर्ने, वस्तुभाउको रेखदेख अनि रातमा कतिपय अवस्थामा चाहनैविना वासना बैठानको साधन बन्नु कतिपय नेपाली महिलाको दैनिक चर्या हो। आजसम्म मेरा बाबाले भान्छा सम्हालेको मैले देखेकी छैन। मेरी छोरीले मेरो भान्छामा पनि यस्तो ‘रिभर्स’ दृश्य देखेकी छैन ।

हाम्रा छोराहरूले पनि घरमा त्यस्ता दृश्य नदेखेपछि कसरी बुझ्लान् तिनले समानताको कुरो ? जबसम्म भान्छा र ‘नदेखिने श्रम’ मा महिला मात्रै देखिन्छन् तबसम्म परिवर्तन ‘एनजीओका बफे’ हरूमा मात्र आउनेछन्। कमाइको दम्भचाहिँ भालेजातिको एकलौटी विरासत बन्ने अनि घरखेतकी दासीचाहिँ महिला बन्ने यो चलन अनुचित र अस्वीकार्य छ।


वैधानिक–अवैधानिक वेश्या

वेश्या शब्द सुन्दा कतिलाई अपाच्य र असभ्य लाग्छ तर महिलालाई समाजले आज पनि भोग्यका रूपमा व्यवहार गरिरहेको छ । कहिलेकाहीं लाग्छ– व्यवहारका आधारमा हेर्ने हो भने त समाजमा उत्ति नै पुरुष वेश्या पनि छन् तर हाविभेदका नौ बुँदाम्रो समाजमा वेश्या भन्नेबित्तिकै प्रायः सबैले स्त्री जातिलाई बुझ्छन् ।

पोथी वेश्या हुन्छे भने भाले वेश्या पनि अवश्य हुन्छ किनकि वेश्या भोग्ने पनि वेश्या नै हो । मेरी साथीले मलाई बताएको एउटा कथाले समाजले राम्रो पहिरनमा सजिएर साँझबिहान हिँड्ने स्त्रीलाई पनि वेश्या देख्ने तथ्य उजागर गर्छ ।

मेरी साथी केहीअघि साँझको समय लाजिम्पाटबाट आफ्नो निवासतर्फ फर्कंदै रहिछन् । रत्नपार्क पुग्दा आफ्नो निवास कालिमाटी पुग्न उनले बस पाइनन् । उनले हिँडेरै कालीमाटी जाने निधो गरिछन् ।

त्यत्तिकैमा उनका श्रीमान्ले उनलाई फोन गरेर केहीबेर रत्नपार्कमै कुरिराख्न र आफू लिन आउने बताए । साथीका अनुसार उनी रत्नपार्कमा पाँच मिनेटजति मात्र उभिइन् तर त्यसबीचमा धेरै पुरुषले उनलाई ‘दाम कति हो ? , रेट कति हो ? ’ भन्दै उनको मोल सोधेछन्। मेरी साथीले रत्नपार्कमा उनी उभिएको त्यो पाँच मिनेट जीवनकै त्रासदपूर्ण र लामो भएको बताइन् ।

लाजिम्पाट, ठमेल र दरबारमार्गका केही घरानियाँ रात्रि जीवनबाहेक आज पनि साँझ र रात भनेको छोराहरूको मात्रै हो । समाजको नजरमा बेलुका हिँड्ने छोरीचेली सबै वेश्या हुन् या वेश्याजस्तै हुन् ।

कति स्त्रीहरू आफैं कमाउँदै पनि उच्च शिक्षा हाँसिल गरिरहेका होलान् यो सहरमा, तिनलाई रातसाँझ हिँड्नुपर्दो हो । ती पनि मेरी साथीजस्तै ‘रेट’ को प्रश्नले बारम्बार रेटिएका होलान्। रातसाँझमा बस कुर्न उभिएका सबै पोथी जाति ‘वेश्या’ हुँदैनन् भनेर कसले बताइदिने ? दुःख त यतिखेर लाग्छ, यस्ता प्रवृत्तिविरुद्ध महिला कुनै संगठित प्रतिक्रियासमेत जनाइरहेका छैनन् ।

कामचलाउ शिक्षा

समाजका धेरै बाउआमालाई आफ्नो भविष्यको चिन्ता छ। त्यसैले ती आफूलाई भोलि पाल्ने छोरोलाई राम्रो स्कुल पठाउँछन् तर छोरीलाई सस्तो शुल्कवाला स्कुल पठाउँछन्। हामीमा सरकारी स्कुललाई कमजोर र निजीलाई राम्रो ठान्ने प्रचलन जो छ। कतिपय अभिभावक त यति निष्ठुर र देखिने गरी नै अपराधी स्वभावका छन् कि छोरालाई मीठोमसिनो र छोरीलाई नमीठोसमेत खुवाउँछन् ।

छोराले पछि आफूलाई पाल्ने तथा छोरीलाई पढाए पनि आखिर अर्काको घर पठाउनुपर्ने हो भन्ने चिन्तनका कारण सम्भवतः यस्तो गरिएको हो। यो सोचमा विस्तारै परिवर्तन पनि आएको छ। एउटा नयाँ पुस्ताले कमसेकम शिक्षामा छोराछोरीबीच विभेद गर्न छोड्दैछ। त्योचाहिँ राम्रो संकेत हो ।

बिहेको अधिकार

छोरीले बिहे नगरी जन्मघरमै बसे त्यसलाई दपेट्ने र बिहे गर्न बाध्य तुल्याउने प्रचलन छ हाम्रोमा। ७० वर्षको बूढो शिव शर्मालाई सात वर्षकी बच्चीबीचको विवाहको कथा पढेर हुर्केको समाज आज पनि अविवाहित छोरीहरूका पक्षमा छैन। स्त्री जातिको दोस्रो विवाह त फलामको चिउरा नै हो आज पनि ।

किनकि हामीले भाले जातिले मात्रै कमाएर खुवाएका कथा पढ्यौं। उसैले घर चलाउने बहानामा दोस्रो बिहे गरेको संस्कृति झेल्यौं। पोथी जाति त केवल घरको चौघेराभित्र पतिव्रता बनेर बस्ने, पहाड नै खसे पनि सहेरै बस्नुपर्ने जातिका रूपमा चित्रित गरिए। पुराण र ग्रन्थ भाले जातिकै जितका कथामा बनाइए। त्यस्तै, विधवा विवाहको विषय पनि अझै पेचिलो छ समाजमा। विदुरहरूले कसैको प्रश्नविनै दोस्रो बेहुली भिœयाए पनि एकल महिलाले अर्को विवाह गर्दा त्यसलाई नाक खुम्च्याएर हेरिन्छ ।

अंगरक्षकको जिम्मा

शारीरिक रूपमा फरक जनेन्द्रिय लिएर जन्मेकै आधारमा आज पनि छोरी–बुहारीको घुमफिरको अधिकारको निर्णय परिवारका भाले जातिले गर्छ । स्त्री जातिको कोखमा हुर्की जन्मिएर आमाकै दूध खाएका र छातीको न्यानोबाट जीवनदान पाएका प्रत्येक पुरुषले आफूलाई सभ्य बनाउने हो भने समाजमा को असुरक्षित हुन्छ ?

घरबाट अलिपर जानुपर्ने अवस्थामा छोरी या बुहारीलाई भाइ, देवर या कुनै अभिभावकको जिम्मा लगाउनुको अर्थ हो– अहिले पनि समाज महिलालाई पिँजडामा कैद गर्न चाहन्छ। घरका आमाहरू आज पनि छोरीलाई हकार्छन्– छोरी मान्छे भएर यतियति रातिसम्म घर आउनु पर्दैन ? आमाहरू यसो किन भन्छन् भने आमालाई छोरीप्रति भन्दा पनि समाजले हुर्काएको विभेदकारी नीतिसँग विश्वास छ।

केटा पनि साथी हुन्छ ?

केही समयअघि म एकजना साथीसँगै थिएँ। उनको घरबाट फोन आयो। कुरा गर्दै जाँदा उनले आफू साथीसँग रहेको बताइन्। उताबाट आमाले उनलाई प्रश्न गरिन्– केटा कि केटी ? उनकी आमा चाहन्छिन्, छोरीको केटा साथी नै नहोस् ।

तर त्यही प्रश्न आफ्ना छोरासँग सोध्न जरुरी ठान्दैनन् बाबुआमा किनकि छोरो विशेषाधिकारले युक्त छ। केटाहरू जहाँ जान पनि निस्फिक्री छन्। स्वतन्त्रता मानव जीवनको सबैभन्दा ठूलो उपहार हो र पनि धेरै छोरीहरू कैद गरिएको स्वतन्त्रताभित्र आजका दिनमा पनि आफ्नो खुसी खोजिरहेछन्।

कमजोर र निम्छरो चित्रण

छोरी धरतीकी सृष्टि हुन् भने उनी कसरी कमजोर हुन्छिन् र ? तर पनि कमजोरीका कुरा हुँदा महिलाकै नाम आउँछ। ‘म पनि हातमा चुरा लगाएर बसेकी छैन नि निहुँ नखोज्न’ मेरो स्कुले जीवनको अन्तिम वर्षतिर गाउँमा भएको दाजुभाइको सामान्य झगडामा भाइले बोलेको यो वाक्यले आज पनि मलाई पीडा हुन्छ। चुरा लगाउनुले पीडा हुन्छ ।

चुरा उतिबेलैबाट कमजोरीको प्रतीक रहेछ भन्ने परेको छ ममा। सहरमा विवाहित कि अविवाहित भनेर छुट्टिने गरी नहिँड्नुलाई खासै चासोको विषय बनाइँदैन, तर यही विषय गाउँमा महŒवपूर्ण बन्छ अहिले पनि। केही समयअघि गाउँले आफन्तको घर जाँदा धेरै चिनजानका मान्छे भेटिए। त्यही बीचमा एकजना आमाले सोध्नुभयो– नानिको बिहे भएको होइन ? खैत र सिन्दूर–टीका ?

मैले आमालाई नम्र भावमा सोधें– सिन्दूर–पोते नलगाएका स्त्रीहरू पतिव्रता होइनन् भने पुरुषचाहिँ कसरी पत्नीव्रता ? आमाले जिब्रो टोक्नुभयो। मैले भनें– पतिव्रताको चिह्न सिन्दूर–पोते होइन। हामीसँग झुन्डिने हाम्रा नानीहरू नै हामी विवाहित भएको ठूलो प्रमाण हो नि !

मलाई अहिले पनि लाग्छ– खासमा सिन्दुर–टीकाको व्यवस्था पुरुषलाई हुनुपर्ने हो किनकि उसले गर्भवती हुनुपर्दैन, स्तनपान गराउनु पर्दैन। सन्तानोत्पादनपछि महिलाको शरीर बदलिएजस्तो उसको शरीर बदलिँदैन।

स्त्रीशक्तिलाई नस्विकार्ने

मुलुकमा यत्रा उहापोह भए तर अहिले पनि महिला कि ‘सेरेमोनियल’ पदमा छन् कि त उपप्रमुखहरूमा। बाध्यकारी कानुनले ठिंगुराए मात्रै, नत्र संसद्मा समेत महिलाको जुन उपस्थिति छ, त्यो नहुने थियो ।

ठूला पार्टीका मञ्च र बैठकहरूमा समेत विरलै महिला उभिएको देख्न पाइन्छ। बिछ्यौनामा महिलाको उपस्थितिमा रमाउने पुरुषले महिलाको सामाजिक उपस्थिति मन नपराउनु स्वाभाविक हो तर महिला स्वयंले महिला नेतृत्वलाई शंका गर्ने र अस्विकार्ने मानसिकता दुःखद हो ।

जातिविशेषकै कारण कसैमा विशेष क्षमता हुँदैन भनेर महिलाले कहिले बुझ्ने होला ? हाम्रै पुस्ताले बलजफ्ती यो विभेदकारी व्यवस्थामा हस्तक्षेप नगरे यो मानसिकता बदल्न गाह्रो छ।

जन्मनुपूर्व नै हत्या

कतिपय बाआमाले छोराछोरी जे भए पनि फरक पर्दैन भन्ने भावना आत्मसात गरिसकेको यो युगमा समेत अस्पतालमा लिंग पहिचान गरेर छोरी भए पेट काटेर निकालेर मारेर फालिदिने प्रचलन अहिले पनि छ ।

यसो गरेवापत कोही कसैले कानुनप्रति उत्तरदायी हुनुपर्ने अवस्था छैन। छोरी भएकै कारण दुनियाँ देख्नुपूर्व नै गर्भमा हत्या हुनुजति त्रासदपूर्ण घटना अरू के हुन सक्छ ? अनि दुःखको कुरो, हर महिला यस्तो अपराधमा संलग्न छन् ।

छोरीलाई गर्भमै हत्या गर्ने काममा महिलाभित्रको ‘पुरुष दासता’ जिम्मेवार छ। महिलाले नै छोरी मार्ने घटनाको साक्षी मात्र होइन, समर्थक हुने प्रचलन अन्त्य नभएसम्म महिलाले सम्मानपूर्वक जिउने युगको कहिल्यै स्थापना हुने छैन ।