(JAPAN) 21 st July | 2019 | Sunday | 9:00:45 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:45:45 AM
 

एउटा राजा हटाएर जन्मेका बडे राजा र छोटे राजाहरु, जसले गणतन्त्रलाई बदनाम बनाउँदैछन्

  POSTED ON : Tuesday, 02 July, 2019 | Views : 81

एउटा राजा हटाएर जन्मेका बडे राजा र छोटे राजाहरु, जसले गणतन्त्रलाई बदनाम बनाउँदैछन्


सादगीपूर्ण जीवनका कारण सम्मानित पूर्वभारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री भन्थे रे, ‘सिट् लाइट्, नट् टाइट् ।’ अर्थ पक्कै यही हो, कुर्सीमा आसक्ति नदेखाऊ । तर, ‘टाइट्’ क्रान्तिबाट आएका हाम्रा ‘टाइट्’ नेतालाई ‘लाइट्’ हुन कसरी मान्य हुन्छ ?

ठूलो सोफामा अघिल्लो पंक्तिमा एक्लै बसेका हाम्रा प्रधानमन्त्री र अलि परै दोस्रो लहरका कुर्सीमा बसेका अरू नेताको एउटा तस्बिर अहिले चर्चामा छ । हाम्रा प्रधानमन्त्री, हाम्रो राजनीति, हाम्रो नेतागिरी, हाम्रो गणतन्त्र, हाम्रो वामपन्थ र नेताहरूका भक्तहरूको स्तरको त्यो सबैभन्दा प्रामाणिक तस्बिर हो । 

प्रधानमन्त्री मात्र होइन, यो देशको कुनै पनि नेता जनतासँग डराउँदैन । कसैलाई पनि छविको चिन्ता छैन । दूरगामी महत्वका गोप्य भेटघाट माफियाहरूका मध्यस्थतामा तिनैका दरबारमा हुन्छन्, तर स्वाभिमान मरेको कार्यकर्ता–पंक्ति ऐयासम्म गर्दैन । राजदूत र संवैधानिक निकायका पदाधिकारीको खुला किनबेच अब सामान्य भएको छ । दशकौँ लामो संघर्षमा साथ दिएको एउटा इमानदार कार्यकर्तालाई रुवाएर उदीयमान ठेकेदारलाई टिकट बेच्दा कुनै नेतालाई ग्लानि हुँदैन । कार्यकर्ताको आत्मा मर्दै जाँदा नेताहरू हामीले जे गरे पनि हुन्छ भन्ने निष्कर्षमा पुगिसकेका छन् । त्यसैले प्रधानमन्त्रीको अलग सोफा यो देशका ठूला राजनीतिज्ञको ठूलो ऐना हो र पिर्के सलामीहरू त्यसैका सह–उत्पादन ।

त्यसै पनि हाम्रो गणतन्त्रमा गाँडैगाँड पलाएका छन् । हिजो साम्यवादका लागि कालकोठरीमा नेल व्यहोरेका प्रधानमन्त्रीलाई अब मञ्चमा एक्लो सोफा चाहिन्छ । हिजो जनताको भकारो सोहोरेर सेल्टर बसेकी राष्ट्रपतिलाई सडक मात्र होइन, आकाश पनि खाली चाहिन्छ । लामो समय परदेशमा चौकिदारी गरेर जीवन र क्रान्ति धानेका मुख्यमन्त्रीलाई अब पाइलो सार्नुअघि जताततै रातो कार्पेट चाहिन्छ । र, एक वर्षअघि मात्र भेटेजतिलाई जम्लाहात गरेर पालिकामा पुगेका मेयरसाबहरूलाई अब आफ्नै बाबुआमासँग पिर्के सलामी चाहिन्छ । 

‘सोफा गणतन्त्र’का अरू उदाहरण पनि छन् । अघिल्लो साता निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमै निर्वाचनसम्बन्धी विशेष गोष्ठी राखेको थियो । त्यसमा पूर्वप्रधानमन्त्रीहरू पनि आमन्त्रित थिए । गोष्ठीसम्म त समाजवाद नै थियो, तर खाना खाने वेला समाजवाद ढल्यो । भान्सा दुईथरी थिए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र निर्वाचन आयोगका पदाधिकारीलाई बेग्लै ‘उपाध्याय’ भान्छाको व्यवस्था थियो, अरू ‘जैसी’लाई बेग्लै । प्रधानमन्त्रीकै वृक्षरोपण कार्यक्रममा पनि पछिल्लो लहरमा वरिष्ठ मन्त्रीहरू नै थिए । आफ्नै मन्त्रीसँग एउटै लहरमा बस्न प्रधानमन्त्रीलाई अरुचि भयो होला कि आयोजकले त्यसलाई प्रधानमन्त्रीको अपमान ठाने होलान् ?

दोष नेताको मात्रै पनि होइन । को होला त्यो चाकर, जसलाई पिर्कामा रातो टालो बेर्दा लाज लाग्दैन ? को होला त्यो मञ्च व्यवस्थापक, जसलाई प्रधानमन्त्रीका लागि सिंहासन टाइपको सोफा छुट्याउँदा संकोच हुँदैन ? त्यो होली वाइन पिएको वामपन्थ हो । आत्मा मरिसकेको विकृत वामपन्थ, जो कमरेडलाई राजा बनाउन र आफू चमर हल्लाएर बक्सिस लिन प्रयत्नशील छ । 


विशिष्टताको भ्रम सबैभन्दा बढी सरकारमा छ । शैली आत्ममुग्ध छ । बालुवाटारवासीहरू यस्तो भान पार्न चाहन्छन् कि केही थान विशिष्ट कुशलहरू देशको उद्धार गरिदिन दिनरात प्रयत्नशील छन् । त्यो ‘उद्धारक घेरा’ साह्रै सानो छ । त्यही घेरामा पनि भूमिकाको वितरण भद्रगोल छ । सबै आआफ्ना सिंहासन उचालेर हिँडिरहेका छन् । प्रधानमन्त्रीका शक्तिशाली सल्लाहकारले दिनमा तेह्रजना सचिवसँग पनि बेग्लाबेग्लै निर्देशनात्मक छलफल गर्नुभएको छ । उहाँ अत्यन्त व्यस्त हुनुहुन्छ तर सिंगो पार्टी र संसद् बेरोजगार छ । 

हिजो साम्यवादका लागि कालकोठरीमा नेल व्यहोरेका प्रधानमन्त्रीलाई अब मञ्चमा एक्लो सोफा चाहिन्छ । हिजो जनताको भकारो सोहोरेर सेल्टर बसेकी राष्ट्रपतिलाई सडक मात्र होइन, आकाश पनि खाली चाहिन्छ । लामो समय परदेशमा चौकीदारी गरेर जीवन र क्रान्ति धानेका मुख्यमन्त्रीलाई अब पाइलो सार्नुअघि जताततै रातो कार्पेट चाहिन्छ । र, एक वर्षअघि मात्र भेटेजतिलाई जम्लाहात गरेर पालिकामा पुगेका मेयरसाबहरूलाई अब आफ्नै बाबुआमासँग पिर्के सलामी चाहिन्छ । 

उता प्रतिपक्षको हालत त्यस्तै छ । नेता प्रतिपक्षका रूपमा कांग्रेस सभापतिसँग सत्ताविरुद्ध न नैतिक पुँजी छ, न राजनीतिक । सभापतिको निवास एउटा कर्पोरेट हाउस भएको छ । बालुवाटारको जग्गा होस् वा वाइड बडी, हरेक घोटालाका जरा जताबाट ताने पनि देउवानिवास बुढानीलकण्ठ नै पुगेका छन् । तेह्रमा बाह्र भ्रातृ संगठन अपूर्ण छन् । कतिको त तेह्र वर्षदेखि अधिवेशन नै भएको छैन । भद्रगोल कांग्रेसलाई दोबाटोमा छाडेर दुई दर्जन नेता कोपनहेगन पुगेर चार दर्जनलाई ‘विश्व प्रशिक्षण’ दिन्छन् तर ‘विश्व प्रशिक्षण’को अद्भूत उपलब्धिसँग कोही लजाउँदैन । 

नेताहरूका सिंहासनमोह मात्र होइन, माला–मोह पनि विचित्र छ । घरिघरी लाग्छ, कुन दिन मालाको बोझ थाम्न नसकेर कुन नेता भाँचिन्छ । माला पनि मध्य भारतदेखि आयात गरिन्छन् । सय किलोभन्दा तलका मालाले त अब लगभग इज्जत गुमाइसके । भनिरहन पर्दैन, ती माला ठेकेदारले किनिदिनुपर्छ । नेतालाई अब जनताको प्रेमभन्दा ठेकेदारका माला प्रिय छन् । 

राजनीति विज्ञान मात्रै होइन, गणित पनि हो । त्यो गणितले भन्छ, साख गुमेपछि ढिलोछिटो सिंहासन पनि गुम्छ । नेताहरूका शाही नौटंकीले हाम्रो गणतन्त्रका जरा काटिरहेको छ । ठुटे राजाका चर्तिकलाहरूले गणतन्त्रको साख सकिरहेको छ । ‘मूर्तिचोरहरू’लाई कटाक्ष गरेर मात्रै गणतन्त्रको वैधानिकता स्थापित हुँदैन । साम्यवाद र समाजवादका सपना देखाएर नेतृत्वमा पुगेकाहरू नै सिंहासनका यति भोका देखिएपछि जनतामा मोहभंग नभए के हुन्छ ?

अघिल्लो वर्ष अमेरिकी अखबार ‘न्युजविक’सँगको संवादमा बेलायती राजकुमार ह्यारीले भनेका थिए, ‘शाही परिवारमा कोही पनि राजा हुन इच्छुक छैन ।’ शाही सिंहासनका यी पाँचौँ दाबेदारको खुलासा सुनेर हाम्रा नेताहरू मुस्कुराउँदा हुन् । नेताहरूको व्यवहार हेर्दा शंका लाग्छ, यिनीहरू गणतन्त्रको रक्षा गर्दै छन् कि गणतन्त्रसँग बदला लिँदै छन् ? संविधानले भनेको समाजवाद यही ‘सोफा–समाजवाद’ हो ?

कृष्णज्वाला देवकोटाले नयाँ पत्रिका दैनिकमा लेख्नुभएको यो विचार साभार गरिएको हो ।