(JAPAN) 19 th September | 2019 | Thursday | 5:31:19 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:16:19 PM
 

जापान सिस्टममा चल्दा समृद्ध, नेपाललाई सिस्टम चलाएरै बिगारे -अर्जुन आचार्य

  POSTED ON : Friday, 03 May, 2019 | Views : 938

जापान सिस्टममा चल्दा समृद्ध, नेपाललाई सिस्टम चलाएरै बिगारे -अर्जुन आचार्य


म  बिदेश मा छु, जापानको टोकियो शहरमा । मैंले यहाँ बसेर काम गरे बापत आएको तलबबाट हरेक महिना राज्यलाई आय कर बुझाउनु पर्छ !

यहाँ आएको ४ बर्ष पुरा भयो । विद्यार्थी भिजामा रहँदा स्वयम् आँफैले कर तिर्नु पर्ने थियो तर बिबिध कारणले मैले समयमै कर बापतको रकम भुक्तानी गर्न सकिन ।

म जापान सरकारको मातहतमा रहेर यहाँको निजी कम्पनीको कामदारको रुपमा बिगत १ बर्ष देखी कार्यरत छु ।

मैंले १ बर्ष अगाडि विद्यार्थीबाट कामदार भिसा बनाउदा निकै समस्या भोग्नु पर्यो । यसको एकमात्र कारण थियो विद्यार्थी अवस्थामा रहँदा मैंले कर बापत तिर्नुपर्ने रकम भुक्तानी नगर्नु । त्यती बेला केही रकम तिरेर जसो तसो भिसा लाग्यो । १ बर्षको भिसा पनि आयो ।

अहिले पुनः भिसा थप गर्ने बेलामा कर बुझाएको कागज पेश गर्न भन्यो । मैले बाँकी रहेको रकम नतिरे सम्म त्यो कर भुक्तानीको कागज पाउन असम्भब थियो यसको लागि कर बुझाउनुको बिकल्प थिएन ।

बाँकी रकम बुझाउनको लागि जब प्रकृया अगाडि बढाए तिर्नु पर्ने रकम १ लाख ८७ हजार येन झन्डै (नेपाली १ लाख ८० हजार) बाँकी देखियो ।

एकपटक त खलखली पसिना नै छुट्यो । एक पटक फेरी चेक गर्न अनुरोध गरें । बल्ल थाहा पाएं १ लाख २० हजार तिर्न बाँकी रहकको ब्याज बढेर त्यती पुगेको रहेछ । मलाई त्यो रकम एकै पटक भुक्तानी गर्न समस्या थियो ।

यहाँको कर कार्यालयलाई केही रकम कम गर्न अनुरोध गरें तर उनी हरुले मेरो अनुरोधलाई अस्विकार गरे बरु किस्तामा तिर्न सुझाए ।

इमिग्रेसनमा पुरा पैसा बुझाएको कागज पेस नगरे मलाई समस्या पर्ने निश्चित थियो । त्यसैले अन्नत मैंले सरसापटी गरेर भनेपनि एकै पटक तिर्ने निर्णय गरें ।

ओठ मुख सुकाएर कमाएको पैसा थियो तर गल्ती मेरो नै थियो । शायद समयमा तिरेको भए त्यो समस्या आउँदैन्थ्यो । एकै पटक पैसा तिर्छु भन्दा कर त्यहाँका कर्मचारीहरुनै अचम्ममा परे । किन कि यहाँ मानिसहरु सिस्टममा चल्छन ।

सरकार वा कुनैपनि ठाउँमा तिर्नुपर्ने रकम नियममा रहेर समयमै तिर्छन् । छल कपट गर्दैनन, राज्यलाई बुझाउनु पर्ने जुन सुकै रकम समयमा बुझाउनुपर्छ भन्ने जिम्मेवारी बोध र परीपाटी छ । जसले गर्दा हामीलाई जस्तो समस्या उनिहरुलाई बिरलै पर्ने गर्दछ ।

यहाँ सन्दर्भ कोट्याउन खोजेको मात्र आज मेरो देशमा कर छली, भ्रस्टाचार यती मौलाई सक्यो कसैले रोक्न खोज्यो भने उसै लाई फसाइन्छ ।

यस्तो अराजकता राज्यले नियन्त्रण गर्नु पर्ने हो तर बिडम्बना राज्य सन्चालन गर्ने निकायले नै संरक्षण र बढावा दिएको पाईन्छ । एक दुई जनाले मात्रै इमान्दार भएर कहाँ हुन्छ र हरेक ब्यक्ती इमान्दार र कर्तब्य निस्ठ हुनु जरुरी छ ।

आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्नको लागि राज्यको रकम दुरुपयोग, पदको दुरुपयोग गर्नेहरु पाईलै पिच्छे भेटिन्छन् ।

जनताबाट उठाएको कर लगाएत अन्य रकम पुन जनताको हितको लागि खर्चिन पनि आफ्नै कमाई वा सम्पत्ती दिनुपरे जस्तो कन्ज्युस्याईं गर्ने लोभीपापीहरु जनताका जनप्रतिनिधिहरु छन् ।

देशमा राम्रो कुरा को सुरुवात हुँदा बिदेशमा बसेका नेपाली जती खुशी शायद कोही हुँदैन होला । केही रहरमा बिदेशीए होलान तर अधिकांशको बाध्यता र परिस्थितीले बिदेशि भुमीमा जानु बाध्यता बनिरहेको छ ।

देशमा जस्को शक्ती उस्को भक्ती छ । आम सर्बसाधारणको लागि न कसैको भक्ती गर्न समय हुन्छ न शक्ती प्रप्ती को लालच नै । बस् उनीहरु अमन चयनले आफ्नो परिवारसँग २ छाक मिठो मसिनो खाएर आफ्नै देशमा शान्तीसँग बस्न चाहन्छ्न ।

त्यही सानो ईच्छा समेत पुरा गर्ने अवस्था नभएपछि आफ्नो प्यारो परिवार र मातृभुमीलाई छोडेर अर्का को देश मा पसिना बगाउन बिबस छन् ।

मैंले देखे भोगेका यि कुराहरु देख्दा सामान्य र सुन्दै आएका कुरा हुन । तर यिनै कुराहरुबाट मैंले सिक्दै र बुझ्दै छु मेरो जन्मभूमी र कर्मभूमिको बिकास र समृद्धिमा किन फरक परिरहेको छ ।

जब सम्म देशमा पद्द्ती 'सिस्ट्म'को बिकास र अबधारणा कडा रुपमा सबैमा समान किसिमले लागु हुँदैन । त्यहाँ काम गर्ने हरेक ब्यक्तीलाई आफ्नो जिम्मेवारी र दायित्व बोध हुँदैन तबसम्म जतीसुकै समृद्धिका परीकल्पना र भाषण गरेपनि त्यसको कुनै अर्थ हुँदैन । त्यो केवल बालुवामा पानी खन्याएर रोपाईं गर्न खोजे जस्तै हो ।

नेपालका नेताहरु विश्वमै सबैभन्दा धेरै बिदेश भ्रमण गर्नेमा पर्छन् होला । तर दुनियाँ बदलिएको आफ्नै आँखाले देखिरहेका उनिहरु देश बदल्न मानसिक रुपमा तयार र चिन्तनले तत्पर छैनन् । भाषणमा भने बिकास र समृद्धिमा बदलिएका देशका नेतृत्वभन्दा प्रखर परिवर्तनकारी देखिन्छन् ।

भ्रस्टाचार किन हुन्छ ? जबसम्म मान्छे र पैसाको भेट भै रहन्छ् तब सम्म अनिमियता रोकिन मुस्किल छ । पैसाको मुख कालो हुन्छ भन्ने उखान थाहै छ । गलत तरिकाले दुई नम्बरी गरेर सजिलै पैसा कमाउन पाईन्छ भने मान्छे किन दुख गर्न र इमान्दार बन्छ ?

अरबौं भ्रस्टाचार गर्यो अनि मात्र ५,७ करोड जरिवाना धरौटी तिर्यो र फुलमाला लगाउँदै निस्कियो । सिस्टमलाई आफु अनुकुल बनाएर लुट्नलाई सजिलो बनाएपछि देश कसरी बन्छ ? पद्द्ती बनाएर त्यो अनुसार चले ब्यबस्थपिका, कार्यपालिका, न्यायपालिका कतैपनि अनियमितता हुनै सक्दैन । भएमा कानुले नै नियमानुसार दण्डित गर्छ । तर सिस्टममा चल्नुको साटो सिस्टमलाई आफु अनुकुल चलाएर दुनो सोज्याउने अनि समृद्धी र बिकासको भाषण गरेर समृद्धि आउने भए सुडान, दक्षिण अफ्रिकि देशहरु उहिल्यै पश्चिमा देशको बिकासको स्तरमा पुगिसकेका हुन्थे होला ।

विद्यार्थीले पढोस्, शिक्षकले तनमन लगाएर पढाओस्, कर्मचारीले आफ्नो कर्तब्य नबिर्सिउन, नेताले देशलाई समृद्ध बनाउन लागि परुन्, पत्रकार सत्य तथ्य प्रकाशन प्रसारणमा प्रखर रुपमा उभियोस्, कलाकारले आफ्नो कलालाई निखार्ने कोशीस गरुन् सकारात्मक् सन्देश प्रबहा गरुन् अनि कहाँ हुन्छ भ्रष्टाचार र अनियमितता ।

जस्को जे कामको जिम्मेवारी हो उसले त्यो काम इमान्दार, कर्तब्य निस्ठ र दायित्व बोध गरेर पुरा गर्‍यो भने देश आफैं बन्छ ।

बस छुट्ने मिनेट, रेल छुट्ने सेकण्डको रफ्तार, कर्मचारी कार्यालय सेवा समयमा तम्तयार, नेताको बाचा र बचन अनुसार समयमै काम नभ्याए जनतासँग माफी माग्दै क्षमायाचना, नागरिक देशप्रति गर्नुपर्ने जिम्मेवारमा सजक र दायित्वबोध तब पो बनेको छ जापान देश ।

सिस्टममा चल्नुपर्छ भन्ने सिकाउनुको साटो सिस्टमलाई चलाउन नेता, कर्मचारी देखी समाज र परिवारबाटै सिकेका हामी सिस्टमलाई चलाउने हैन सिस्टममा नचलेसम्म समृद्धि असम्भव छ ।

एकपुस्तामै बिकासको चरमचुलीमा पुगेको जापानबाट सिक्न सकौं समृद्धि सम्भव छ हाम्रै पालामा, तर सिस्टमलाई आफु अनुकुल चलाएर हैन सिस्टममा चल्न सिकौं ।