(JAPAN) 21 st March | 2019 | Thursday | 2:23:46 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:08:46 AM
 

'नेपालमा बसेर यो ल्याईदे र त्यो ल्याईदे भन्नेले बुझुन् जापानमा डडाँल्नो अरर्रिनेगरि घोटिनुपर्छ'

  POSTED ON : Thursday, 14 February, 2019 | Views : 8063

'नेपालमा बसेर यो ल्याईदे र त्यो ल्याईदे भन्नेले बुझुन् जापानमा डडाँल्नो अरर्रिनेगरि घोटिनुपर्छ'


अहिले नेपाली युवाहरुको महिनामै लाखौं कमाउने सपना जापान भईरहेको । जहाँ मान्छेहरु १२/१४ लाख ऋण गरेर घरबार धितो राखेर जापान आउनको लागि तयार छन् । उनिहरुको एउटै सपना छ जापान गएर महिनाको लाखौंं कमाउने ।

तर हरेक बर्षजस्तो लाखौं ऋण बोकेर जापान आएका नेपाली रित्तो हात नेपाल फर्कीरहेको खवर उनिहरुलाई थाहै छैन । किनभने सपना बेच्नेहरुले उनिहरुलाई सपनानै देखाईरहेका छन् वास्तविकता बुझ्ने मौकानै दिईरहेका छैनन् ।

हाम्रो समाजमा सुनेको भरमा जापान सबै थोक हो, पैसा सोहोर्न पाइन्छ, पैसाको भारी हाल्न पाइन्छ, काम गर्नुपर्दैन, सारा सबै सुविधै सुविधा हुन्छ भन्ने मनोरोग छरपस्ट छन् ।

जहाँ गए पनि शारिरिक, बौद्धिक श्रम गर्नैपर्छ भन्ने सामान्य सोचबिचार समेत जापान आउने सपना र हुटहुटी बोकेकाहरुले ख्याल गरेको पाईंदैन ।

अनि देखिन्छ सपना सफा, सुन्दर र चिटिक्क टोकियो शहरको । नेपालमा बसेर जापानबारे देखेको सपना र जापान आईपुगेपछि भोग्नुपर्ने बिपनामा धेरै अन्तर छ ।

नेपालमा रहँदा जापानको मात्र सपना देख्नेहरु जापान आईपुगेको २४ घण्टा नपुग्दै झल्याँस्स ब्युँझिन्छन् । यहाँको कठिन परिश्रम अनि घडीको सुई अनुसार कुद्नुपर्ने मेसिन सरहको दैनिकी देखेर ।

परेपछि टर्छ भन्ने उखान रटेकै भरमा भाषासासा उतै गएर सिकिन्छ भन्नेहरु यहाँको भिन्नै संसारमा आएपछि सिस्नुपानीले चुटेबराबर हुन्छन् । जापानी भाषामा औंठाछाप भएकाहरुको लागि जापान स्वर्ग होईन नर्क हो भन्ने ज्ञान उनिहरुले पलपलमा भोग्न थाल्छन् ।

यहाँ आएर डिप्रेसनमा परेर आत्महत्या गर्नेसम्मको दुखद अवस्थामा पुगेका केही उदाहरण पनि छन् । जापान पुगें भने के मैले काम पाउनसक्छु ? काम पाइन भनेपनि कति महिना खाली हात बस्नसक्छु ? त्यता मेरा लागि मलाई सहयोग गर्ने आफन्त, साथीभाई छन् कि छैनन् ? अनि जस्तोसुकै काम पनि गर्छु भन्ने हिम्मत नबटुली जापान आउनु भनेको जानाजान पौडी खेल्न नआउने मान्छे समुन्द्रमा छिरेजस्तै हो । जो जान त सक्छ तर सकुशल फर्कने सम्भावना आशा मात्र हुन्छ ।

किनकी यो ठाउँ भनेको कसैले कसैलाई मतलब नराख्ने, अनि आवश्यक परेको आफन्तले समेत मुन्टो अर्कातिर बटार्ने, चिनेको छैन भन्ने ठाउँ हो ।

नेपालमा पढेको प्राविधिक ज्ञान, अध्ययनको केही अंश बाहेक विद्यार्थीको रुपमा आउनेहरुले जापानमा शुन्यबाट सुरुवात गर्नुपर्दछ । नेपालमा यति पढेको र उति पढेको भन्नु गफ दिन काम लाग्छ अध्ययनमा छिटफुट बाहेक ।

समग्रमा जापान आइसकेकाहरु पछुताईरहेका छन् र आउन नपाएकाहरु उतै नेपालमा पछुताइरहेका छन् ।

एउटा कुरा सत्य के हो भने नेपालमा जोसुकैले म यस्तो र उस्तो भनेर फुर्ती लगाएपनि जापानमा आएर अनिवार्य रुपमा सुरुमा गर्ने काम भनेको यामातो 'ट्रान्स्पोटेसन' बेन्तो 'खानेकुरा बनाउने' र रेस्टुरेण्टको भाडा धुने जस्ता काम नै हो । ढुक्क हुनुस् कसैले अफिसको काम, ड्युटी भन्दै अनेक शब्द सुनाएपनि गर्ने काम यिनै हुन् ।

नेपालमा स्नातकोत्तर उत्तीर्ण गरेको हो भने पनि उसको हैसियत यहाँ औठा छाप बराबर नै हो यदि जापानी भाषामा कमजोर छ भने ।

अझ कसैले नेपालमा म म्यानेजर छु भनेर दाबि गर्छन भने त त्यो सबैभन्दा दुखी प्राणी हो भन्ने बुझ्दा हुन्छ ।

जापानमा त्यस्ता केहि व्यवसायिक रूपले सफल नेपालीहरू पनि छन तर उनिहरुलाई म यस्तो र उस्तो भन्दै गफ दिएर हिँड्ने फुर्सद नै हुँदैन ।

नेपालमा रहनेहरु जापानलार्इ अवसरै अवसरको देश भन्छन् । त्यस्तो अवसर कसले कति पायो मुलुकलार्इ कति फाइदा भयो त्यो थाहा भएन ।

तर यत्ति हो जापानले सबैलाई कडा परिश्रम गर्न भने सिकाउँछ । कडा परिश्रम गरेपछि जहाँ गएपनि बसेपनि परिणाम राम्रो नहुनेत कुरै भएन ।

समयको सदुपयोग गरेर काम गर्ने हो भने जापानमा सबैलाई काम छ, यहाँ बेरोजगार भनेको अल्छी मात्र हो ।

जापानमा बस्ने आफ्ना आफन्त अनि साथिभाईले समुद्री किनार, टोक्यो टावर, स्कार्इ ट्री, डिज्नील्याण्ड जस्ता अन्य चर्चित र लोकप्रिय ठाउँमा बसेर खिचेको तस्बिर देखेर नेपाली समाजले जापानको मूल्यांकन नगर्दा उपयुक्त हुन्छ ।

यहाँ रहेका अधिकांश नेपालीहरुले न्युनतम प्रतिघण्टा ८०० येन देखि १५०० येन सम्म ज्याला पाउँछन् । अहिलेको मुल्य भन्दा नेपाली ८ सय देखी १५ सय रुपैयाँ नै हो ।

कुनै कारणले वा बिरामी परेर काममा गएन भने वा हप्ताको एक दिन बिदा बस्यो भने त्यो दिनको ज्याला आउँदैन ।

हप्तामा सातै दिन काम गर्न अत्यन्तै कठिन हुन्छ, कामको समयमा एक छिन बस्न पाइँदैन । उभिएर नै काम गर्नु पर्छ । काम सकिएर आफ्नो कोठा सम्म पुग्दासम्म खुट्टा झर्ला जस्तो हुन्छ । कहिलेकाहिँ त थकानले मेरूदण्द नै खुस्केको अनुभव हुन्छ ।

नेपालमा रहेका बाबुआमा वा आफन्त, नातागोता, साथीभाइले बुझ्नुपर्ने कुरा के हो भने जापानमा टपटप पैसा टिप्ने होईन । अधिकांशले कम्तिमा दिनको ८ देखी १० घन्टा उभिएर खलखली पसिना बगाएर, खुट्टाको कुर्कुच्चा खिईनेगरि पिँडुला बटारिएर दुखेर झर्ला जस्तो हुनेगरि दुखले बल्लतल्ल महिनाको केही बचत गर्दछन् ।

त्यसको आधा जस्तो सरकारी कर, कोठाको भाडा, कलेज शुल्क, मोबाईल खर्च, रेल भाडा तिर्दा तिर्दै सकिन्छ । बाँकी रहेको एक तिहाईले आफ्नो अन्य किनमेल गर्दा मुस्किलले केही रकम बच्न पुग्छ । बचेको मध्ये बल्ल नेपालमा पठाउने हो । किनभने यहाँ तिनुपर्ने पैसा कहिँ पनि भोली तिरौंला भनेर उधारो राख्न मिल्दैन ।

नेपालमा बसेर आइफोन ल्याइदे र ऊ ल्याइदे, यो पठाइदे भन्न सजिलो हुन्छ तर यहाँ त्यति जोहो गर्न डडाँल्नो अरर्ररिनेगरि घोटिनुपर्छ ।

मेरा प्रियजन, परिवार, साथिभाई अनि जापानको सपना हैन भूत चढेकाहरुलाई सिधा भाषामा भनौं भने सफा शहरमा लुगा त्यसै सफा हुन्छ दिनहुँ धोएर सरसफाईमा ध्यान दिएपछि ।

फेसबुकमा मुश्किलले महिनौंमा एकचोटि साथिभाईसँगको भेटमा दुख बिर्सेर रमाइलो गरेको सुकिलो र कृतिम हाँसोको फोटो देख्दैमा जापानलाई स्वर्ग सम्झनु तपाईको मुर्खता हो ।