(JAPAN) 17 th July | 2019 | Wednesday | 8:18:15 PM
(Nepal) 17 th July | 2019 | Wednesday | 5:03:15 PM
 

योकोहामाको समुद्र र माचुरी -कृष्ण बजगाईं

  POSTED ON : Wednesday, 13 February, 2019 | Views : 292

योकोहामाको समुद्र र माचुरी -कृष्ण बजगाईं


योकोहामा अन्तर्राष्ट्रिय बन्दरगाहलाई गन्तब्य बनाएका थियौं । आकाशबाट धर्तिमा खसेकोे चर्को घामले तताएको थियो सहर । तातो हरमा समुद्रको चिसो पानी स्पर्शका लागि मन छचल्किरहेको थियो ।

गगन चुम्न आकाशिएका भवन र योकोहामाको माटो मेरालागि नूतन थिए । त्यस धर्ति नौलो भए पनि योकोहामाको रैथाने जस्तै भइसकेका प्रकाश पौडेल ‘माइला’ र नेपालबाट आएका प्रा. रामकुमार पाँडेको साथमै थिएँ ।

सूर्यको प्रथम किरण धर्तिमा खस्ने सूर्योदयको देश जापानमा बसेर सूर्यप्रति के गुनासो गर्नू ? आफूलाई खुशी राखेँ । तर सूर्य नारायण खुशी थिएनन् । तातो खन्याईरहेका थिए । जापानको धर्तिबाट सूर्य देवलाई नमन गरेँ ।

जापानको दोस्रो ठूलो हर योकोहामा गगनचुम्बी भवनहरु बडो गर्व साथ उभिएका थिए । गगनचुम्बी भवनको छेउबाट हामी फड्को मारिरहेका थियौं । ती भवनको छेउबाट हामी लिलिपुट जस्ता मानव हिडिरहेको थियौं । हाम्रै मानव जातिले बनाएको त हो नि यी अग्ला भवन ।त्यसै रमाउँछु । गमक्क पर्दछु ।

जापानको मध्य केन्द्रमा पर्ने योकोहामा प्रशान्त महासागरको पानीले धेरै पहिलेदेखि नै गुल्जार बनाएको रहेछ । जताततै उभिएका गगनचुम्बी भवन र बहुराष्ट्रिय कम्पनीका शाखा भएको त्यस सहरले ब्यापारीलाई मात्र होइन हरकोहीलाई आकर्षित गर्दो रहेछ ।

मेरा आँखा अगाडिका अग्ला र आधुनिक भवनहरु योकोहामाका नयाँ रुप हुन् । करिब डेढसय वर्ष अगिको माझी गाउँको अहिलेको योकोहामा सहर बनेको छ । विकाशको त्यो रफ्तारले मलाई अचम्भित पार्यो ।

लगनशिलता, इमान्दारिता र इतिहासबाट पाठ सिक्ने जापानीका गुणबाट म आफै पनि सिक्ने प्रयत्न गर्दैछु । भुकम्पको झट्काले धेरै अघि खण्डहर बनाए पनि भुकम्प प्रतिरोधात्मक नयाँ भवन बनाएर प्रकृतिलाई चुनौति दिएर पीडा बिर्सने प्रयास गरेको सहर हो योकोहामा । दोस्रो विश्वयुद्धमा अमेरिकाको भिषण हवाई आक्रमणमा आधा जलेर खरानी भएको सहर हो योकोहामा । आफ्नो घाउमा आफै मल्हम पट्टि लगाएर पत्याउनै नसकिने गरि नयाँ अवतारमा उठेको छ । चौविसै घण्टा जाग्राममा बस्ने सहर हो योकोहामा ।

यसले इतिहासबाट पाठ सिकेको छ । प्रकृतिको चुनौतिलाई सामना गर्दै पहिले भन्दा आधुनिक र मजबुत भएर उठेको छ । पटकपटक ध्वस्त भए पनि अहिलेको रुपमा खडा भएर संसारका अरु सहरका लागि उदाहरण बनेको छ ।


के म पटकपटक ध्वस्त भएको सहरमै पाइला चालिरहेको छु त ? मनमा गगनचुम्बी भवन भन्दा अग्लो प्रश्न उठ्यो ।

योकोहामाको विनाश र विकाशको इतिहास साक्षी छ । व्यर्थैमा इतिहासलाई पो शंका गर्न थाले छु ।

चलिरहेका पाइला अचानक रोकिए । त्यहीँ उभिएर निधारको पसिना पुछेँ ।

योकोहामा अन्तर्राष्ट्रिय यात्रु टर्मिनल लेखेको प्रवेशद्धार अगाडि म मात्र होइन तिनै जना रोकियौं । वास्तवमा हामी एउटी युवतीको देखेर रोकिएका थियौं । सर्वाङ नांगो सुडौल शरिर, उन्नत वक्ष, अगाडिको यौंनांग खुल्ला छाडेर दुबै हातमा नितम्ब पछाडिबाट आएको शिल्कको कपडा समातेकी सुन्दरीले माया जाल फिजाईरहेकि थिई । तातो घाममा तिरमिराएको मेरा आँखा तिनको सुन्दरता देखेर तेजिला भए । आँखाबाट आनन्द प्रवेश गरेर हृदयमा पुग्दा मन बैंशालु भइसकेको थियो ।

वास्तवमा उक्त युवती अरु कोही नभएर एक कलाकारको सुन्दर सिर्जना थिई । कामिनी अवतारमा त्यहाँ प्रकट भएकी थिई । अंगअंगबाट वासनाको ज्वार निकाली रहेकी त्यस युवतीलाई कुनै श्रृंगार रसका कविले देखेको भए सुन्दरताको बयान गर्ने थिए होलान् ।

निर्लज्ज भएर त्यस सुन्दरीलाई मजाले हेरेँ । उनको सुन्दरता देख्दा मूर्ति बनाउने कलाकारले सायद रोमाण्टिक मुडमा उक्त सिर्जना गरेको हुनुपर्दछ जस्तो लाग्यो ।

‘पसिनाको धारा यही युवतीले छुटाएको त होइन रु’ प्रकाशजीले मेरो निधारको पसिनालाई जिस्काए ।

‘मूर्तिले नै पसिना छुटाउन थाले भने साँच्चैकै जापानी युवतीले के गर्लिन ?’ मेरो प्रतिप्रश्नले प्रकाश र पाँडे सर हासेँ ।

चारै तिरको परिदृश्य हेर्न थालेँ । सिल्क म्युजियम अगाडि पो मूर्ति स्थापना गरिएको रहेछ । बल्ल थाहा पाएँ ती युवती सिल्क सुन्दरी रहिछन् । म्युजियम घुम्न आउनु भन्ने उनको मौन निमन्त्रणालाई समय अभावका कारण स्वीकार्न सकिन । अर्को पटक अवश्य आउँला भनेर मौन जवाफ फर्काएँ ।

धेरै पहिले सिल्क ब्यापारका लागि योकोहामाको समुद्री बन्दरगाह प्रसिद्ध थियो । वास्तवमा विदेशीका लागि खुला गरिएको जापानको पहिलो बन्दरगाह हो । यसैले बाहिरी विश्वसँग जापानको ढोका खोलेको थियो । पश्चिमको पूर्वसँग प्रथम भेट भएको संगमस्थल हो योकोहामा । जापानले यही बन्दरगाहाबाट सिल्क, चिया लगायतका वस्तुहरु निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेको थियो ।


जापानी सिल्कले गरेको ब्यापार र त्यस समयका सिल्कका सामानको जानकारी दिने उद्येश्यले स्थापना गरिएको सिल्क म्युजियमको सामुन्ने हामी उभिएका थियौ । त्यसबेला अन्तर्राष्ट्रिय रुपमा ब्यापार गर्न सिल्क कम्पनी नै स्थापना गरिएको रहेछ । यसैबाट थाहा हुन्छ जापानको सिल्क युरोप र अमेरिकामा कति लोकप्रिय थियो भन्ने कुरा । यस्तै गौरवपूर्ण इतिहास गाथा बोकेर म्युजियम अगाडि उभिएकी सिल्क सुन्दरीले मौन भाकामा धेरै कुरा बताइरहेकी थिईन् ।

सिल्क सुन्दरीलाई छाडेर त्यहीँ वरिपरिको रमिता हेर्न थालेँ । थरिथरिका अनुहार र फेशनमा सजिएका मानिसहरु मेरो सामुन्ने ओहोरदोहर गरिरहेका थिए । एक भाषा एक जातिको देश भए पनि योकोहामाले बहुसांस्कृतिक र बहुजातिय सहरको रुपमा आफूलाई उभ्याएको देखेँ ।

ब्यापारको शिलशिलामा उतिबेला संसारभरका ब्यापारीहरु योकोहामा आएपछि उनीहरुले आफ्ना खाना, संस्कृति र भेषभूषा पनि लिएर आएका थिए । त्यसकै निरन्तरता योकोहामाको सडकमा देखिरहेको थिएँ । पश्चिमी शैलीका वेशभुषामा सजिएका जापानी युवा युवतीले बोकेका विचार, फेशन र विभिन्न जातिका मानिसका बसोबासका कारण योकोहामा अन्तर्राष्ट्रिय सहर बनेको छ । जापानको आधुनिक संस्कृतिको जन्मस्थान योकोहामा सहरको सडक किनारामा उभिएर निकै बेर रमाएँ ।

बहुसांस्कृतिक सहरलाई सर्सती नजर लगाईसकेका थियौं । प्रकाशजीले बन्दरगाहतिर जाने कुरा गरे । योकोहामा सडकको रामरमिता हेर्न छाडेर हाम्रा पाइला अगि बढ्न थाले । योकोहामा अन्तर्राष्ट्रिय टर्मिनल लेखेको गेट पार गरेर देब्रेपट्टि मोडियौं ।

अहा ! प्रशान्त महासागर । मेरा खुट्टा प्रशान्त महासागरको किनारामा र आँखा पानीमा चल्न थाले । मेरो सामुन्ने पानीको अनन्त साम्राज्य फैलिएको थियो । पानीको एउटा किनारामा म थिएँ । अर्को किनारा छितिजमा गएर जोडिएको देखेँ । वास्तवमा म प्रशान्त महासागरको ‘टोक्यो बे’ किनारामा उभिएको थिएँ ।

प्रशान्त महासागरको पानी मेरो सामुन्ने छचल्कि रहेको थियो । छचल्किएको पानी माथि मन तैरिएको थियो । विचारहरु ज्वारभाटा बनेर उठ्न थाले । तर्कहरु बाफ बनेर उड्न थाले । प्रश्नका वर्षा हुन थाले –सहरको विकाश हुन पानी चाहिने हो कि पानी जस्तै कंचन र पवित्र मन ? विदेशी लगानी भित्र्याउने नीति लिने हो कि स्वदेशी पूँजि पलायन गराउने नीति । किनारामा उभिएर मातृभूमिको बारेमा महासागर भन्दा ठूलो ब्यर्थको चिन्ता गर्न थालेँ ।

समुद्रको पानी र किनारा भनेपछि बालुवा र गिट्टीको तस्बिर सर्लक्क आउँदछ । म उभिएको ठाउँ हेर्दछु । ती दुबै चिज त्यहाँ थिएनन् । चटक्कसँग मिलाएर ढुंगा छापिएको सफा र फराकिलो पार्क परसम्म फैलिएको थियो । मान्छे हिँड्ने, भेला हुने र मनोरञ्जन गर्ने हिसाबले ढुंगा छापेर आकर्षक पार्कको रुपमा विकाश गरिएको रहेछ । सफा र सुन्दर ठाउँमा उभिएर परपरसम्म आँखा दौडाएँ । बगरको कहीँ कतै निशाना देखिएन ।

म उभिएको ठाउ मात्र होइन समुद्रलाई पुरेर बनाइएको सुन्दर किनारा निकै परसम्म तन्किएको थियो । त्यही किनाराम अवस्थित जौ–नो–हाना पार्कमा उभिएर घरि छचल्किदो पानी त घरी गगन चुम्बी भवनलाई नियाल्न थालेँ । जापानको द्रुतर भौतिक उन्नतीको ग्राफ गगनचुम्बी भवनका चम्किला शिशामा परावर्तन भएको देख्न पाएँ ।

प्रशान्त महासागरतिर एकोहोरिएपछि प्रकाशजी र पाँडे सर मलाई छाडेर गफिन थाले ।

म उभिएको ठाउँ भन्दा अलि पर समुद्री किनारामा अवस्थित योकोहामा अन्तर्राष्ट्रिय टर्मिनमा विशाल ठूलो पानी जहाज तैरिरहेको थियो । पनामाबाट भर्खरै पच्चिस सय भन्दा बढि यात्रु लिएर आएको ‘कोराल प्रिन्सेस’ नामक भिमकाय पानी जहाजले योकोहामा बन्दरगाहको चहलपहल बढाइ रहेको थियो । त्यसको छेउ वरपर ससाना लक्जरी बोटहरु चलमलाई रहेका थिए ।

‘ट्याक्सी ! ट्याक्सी !!’

एउटा अधबैंशे जापानी मतिर फर्केर कराउन थाल्यो । समुद्रमा कस्तो, कुन ट्याक्सी हो रु अलमल्ल परेँ । विस्तारै उनको नजिक गएँ र ट्याक्सीका बारेमा सोधिखोजी गरेँ । उनले पानीमा तैरिरहेको ‘ट्याक्सी’ लेखेको मोटर बोटलाई देखाउँदै भने । बेल्जियम र बेलायतमा पहिलेनै चढेर आनन्द लिइसकेको मोटर बोटमा चढ्ने मसँग समय थिएन । नजाने गाउँको बाटो नसोध्नू भन्दछन् । मलाई मैले कतै जानु थिएन । उनलाई धन्यवाद भनेर फकिएँ ।

यसो हेर्दछु त प्रकाशजी र पाँडे सर त्यही पार्कको अर्को छेउको चहलपहल देखिएको बजार तिर लागेको देखेँ । उनीहरुलाई पछ्याउँन थालेँ । तर त्यो सानो हाटबजारको भीडमा उनीहरु अलप भए । धुइँधुइती खोज्न थालेँ ।

‘हेल्लो योकोहामा २०१८’ लेखिएको ब्यानर भएको स्टेज छेउमा दुबै जनालाई भेट्टाएँ । स्टेजमा चर्को आवाजमा संगीत घन्किरहेको थियो । विभिन्न भाव र मुद्रामा हल्ली हल्लीकन युवतीहरु सामुहिक नृत्य देखाउँदै थिए । छोटा लुगा लगाएर माथिसम्म तिघ्रा देखाएका ती कल्कलाउँदा जापानी युवतीको नृत्यले दर्शकको मन जितेको थियो । पुरुषहरु दर्शक दिर्घामा मच्चिदै थिए । महिलाहरु आँखा तन्काएर हेरिरहेका थिए । तिनका नृत्यमा हो कि तिघ्रा देखेर पुरुषहरु उत्तेजित भएका हुन् थाहा पाउन सकिन । अंग्रेजी गीतमा नाचिरहेका ती युवतीका नृत्यमा म पनि लोभिएँ ।

विभिन्न कलाकारले अंग्रेजी र जापानी गीत गाए, नृत्य देखाए । दर्शकबाट वाह ! वाह !! पाए । हामी निकैबेर फरक आनन्दमा रमायौं ।

त्यहाँको माहौलले नेपाल तिरको सानो हाटबजारको झझल्को दिलायो । विभिन्न सामानको खरिदबिक्री, नाचगान रमाइलो हुने त्यो भीडभाड जापानी संस्कृतिको एउटा अंग रहेछ । त्यस्तो अस्थायी बजारलाई जापानी भाषामा ‘माचुरी’ भनिदो रहेछ । हामी त्यस बजारमा रमिता हेर्न थाल्यौं ।

वास्तवमा जापान पनि नेपाल जस्तै धेरै चाडपर्व, उत्सव र पार्टी मनाउने देशमा पर्दछ । सांस्कृति र धार्मिक अवसरमा रमाउने चलन नेपालीसँग मिल्दोजुल्दो छ । जापानी भाषाको ‘माचुरी’ शब्दले कुनै पर्व वा मेला जनाउँदो रहेछ । स्थानिय बौद्ध मन्दिरद्धारा आयोजना हुने उक्त दिनमा स्थानिय स्तरमा नेपालको हाटबजार र मेलाकामा जस्तै भिडभाड जम्मा हुँदो रहेछ ।

स्थान अनुसार माचुरी फरकफरक हुँदा रहेछन् । खट बोकेर जात्रा निकाल्ने, प्राचिन वेशभूषामा लाखे नाँच जस्तै सडकमा नृत्य प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने खालका हुन्छन् । तर हामी पुगेको ठाउँमा भने खानेकुराका सामान, अनेकन परिकार, लत्ताकपडा, खेलौंना आदिले बजार ढाकेको थियो । विभिन्न कम्पनीहरु आफ्ना उत्पादनको विज्ञापन गर्ने अवसरको रुपमा त्यसलाई लिँदा रहेछन् । सयौं वर्ष पुरानो उक्त परम्परालाई जापानीहरुले अझै पनि जोगाई राखेका छन् । नेपालमा भने हाटबजार त मासिनै सकियो । सांस्कृति मेला र पर्व पनि संकटमा परेका छन् ।

त्यहाँ वारुणयन्त्र, रेडक्रस आदि सेवामुलक निकायले आफ्नो कामको विवरण बताई रहेका थिए । दुर्घटनाको समयमा अपनाउनु पर्ने सुरक्षा र सावधानीका बारेमा सूसुचित गराउँदै थिए । सबै भन्दा बढी भुकम्प, समुद्री आँधी, ज्वालामुखी विष्फोटन जस्ता दैवी प्रकोप भइरहने देशमा मानिसको भीडभाड हुने ठाउँमा त्यसरी नागरिकलाई सूसुचित गराएको मन पर्यो ।

वास्तवमा योकोहामा कला, संस्कृति र धार्मिक रुपमा पहिलेदेखि नै समृद्ध सहर हो । योकोहामामा तेह्रौं शताब्दीमा ‘शोम्योजी’ नामक बुद्ध मन्दिर स्थापना गरिएको थियो । त्यस मन्दिरले बुद्ध धर्मको शिक्षा दिने थुप्रै स्कूल संचालन गरेको थियो । योकोहामामा थुप्रै बुद्ध मन्दिरहरु रहेछन् । बौद्ध धर्मका प्राचिन धार्मिक स्थलको बारेमा थाहा पाएर पनि भ्रमण गर्ने अवसर नमिल्दा अलिक खल्लो लाग्यो ।



मानिसहरुको खुब चहलपहल भएको त्यस माचुरीको सबै तिर धित मरुञ्जेल अवलोकन गर्यौं । जापानको संस्कृति र चाडपर्वको एउटा सानो दृष्यलाई आँखामा कैद गरेँ । त्यो पर्वमा दर्शकको रुपमा सहभागी भएर भरपुर जानकारी लिएँ । आल्हादित भएँ । जापानी संस्कृतिको एउटा पारम्पारिक कार्यक्रममा उपस्थित भएर नजिकबाट जापानलाई बुझ्ने मौका पाएकोमा दंग परेँ । त्यहाँको गीत, संगीत र नृत्यबाट तृप्त भएँ । त्यहाँबाट निस्केर हामी फेरी ‘टोक्यो बे’को किनारामा पुग्यौं ।

‘मिनातो मिराईमा रहेको जापानको दोस्रो अंग्लो भवन ‘योकोहामा ल्याण्डमार्क टावर’ त्यही हो ।’ प्रकाशजीले निकै पर समुद्रको किनारा अवस्थित अग्लो भवनलाई देखाउँदै भने ।

त्रिहत्तर तला भएको उक्त भवन लगायत मिनातो मिराई क्षेत्रका सबै गगनचुम्बी भवनहरु समुद्रमाथि बनेका हुन् । अर्थात ती भवन समुद्र पुरेर बनाइएका हुन् । प्रकृतिलाई चुनौति दिँदै विकाश निमार्ण गर्ने जापानीहरुको बुद्धी र साहासका अगाडि नतमस्तक भएँ । सडकका खाल्टा पुर्न नसक्ने सरकार भएको देशको नागरिक समुद्र पुरेर बनाईएको स्थानमा उभिएर ती चमात्कारिक दृष्य हेरिरहेँ ।

प्रशान्त महासागरको पानी छचल्किरहेको ‘टोक्यो बे’को किनारामा विकाश फस्टाएको देखेँ । त्यस क्षेत्रका बाटा, पार्क र भवन उज्याला थिए । मानिस हँसिला र सुखी देखिन्थे ।

विकाशको उज्यालोमा खुशी देखिएको योकोहामाको समुद्र किनारा दुःखदायी इतिहासको साक्षी पनि हो । इतिहासको त्यो दुःखद क्षणहरु मेरो मानसपटलमा आउन थाले ।

त्यो दुःखद इतिहास सम्झँदा हरेक जापानीका आँखा रसाउँछन् । त्यही प्रशान्त महासागरको ‘टोक्यो बे’मा जापानले आत्मसम्मान गुमाएको थियो । आफ्नो मृत्यु पत्रमा आफैं हस्ताक्षर गरेको थियो । ‘टोक्यो बे’को पानीमा तैरिरहेको अमेरिकाको मिजोरी जहाजमा बसेर जापानले दोस्रो विश्व युद्धमा अमेरिकासँग आत्मसमपर्ण गरेको कागजमा सहीछाप गरेको थियो । सायद त्यस दिन त प्रशान्त महासागरको पानी पनि अशान्त थियो होला । मनमनै कल्पना गर्दछु ।

असंख्य नदीहरुले प्रशान्त महासागरमा नयाँ पानी मिसाए । तर संसारभर अझै पनि युद्धको नदी बग्न छाडेको छैन ।

विश्व युद्धबाट मारिएका कैयौं आफन्तका आँशु प्रशान्त महासागरमा मिसिएका थिए । कैयौं निर्दोष, निहत्था नागरिक र युद्धमा मारिएका शिपाहीको रगत प्रशान्त महासागरमा पुगेका थिए । जापानी सिपाहीका पीडाका नदी त्यही महासागरमा थपिएका थिए । शिर निहुराएर आत्मसमर्णप्रण गरि घर फर्केका शिपाहीका कमजोर बुटको पदचाप योकोहामाले बिर्सेको छैन । दोस्रो विश्व युद्धको इतिहास पो सम्झन थाले छु ।

‘माउण्ट फुजी उ‘ त्यहाँ छ ।’ प्रकाशजीले चोर औलाले देखाउँदै भने ।

उनले देखाएको दिशा तर्फ माउण्टेनको नामनिशान थिएन । त्यता त धुम्म बादलको असंख्य पहाड खडा थिए । मौसम नखुलको कारण बादल बाहेक अरु केही देख्न सकिएन । अचम्म ! हामी उभिएको ठीक माथिको आकाशमा बादलको सानो टुक्रा पनि थिएन ।

‘यहाँबाट साह्रै मजाले माउण्ट फुजी देखिन्थ्यो । खै आज के भयो ?’ प्रकाशजीले निराशा हुँदै भने ।

उनको कुराले थकथकी लाग्यो । मजाले देखिने ठाउँमा उभिएर पनि माउण्ट फुजी हेर्न नपाउनुको पीडा मन भित्रै लुकाएर राखेँ ।

सुन्दरताका लागि संसारको प्रसिद्ध पहाड फूजीको दर्शन त्यसै पनि दुर्लभ छ । वर्षमा सरदर सत्तरी दिन जति मात्र माउण्ट फूजी राम्ररी देखिदो रहेछ । जापान बसाईको क्रममा एकदिन कसो नझुल्केलान् त फूजी रु आशावादी बनेँ ।

जापानीहरु माउण्ट फूजीलाई अति सम्मान साथ नामको पछाडी ‘जी’ थपेर सम्बोधन गर्दछन् । त्यसलाई अति पवित्र मान्दछन् । हाम्रा हिमाल र पहाडमा जस्तै त्यहाँ पनि विभिन्न ठाउँमा बौद्ध मन्दिर बनाइएका छन् । जापानी मिथक कथामा माउण्ट फूजीलाई पृथ्वी र स्वर्गको प्रवेशद्धार भनिएको छ । प्रवेशद्धारसम्म पुग्ने त टाढाको कुरा भयो माउण्ट फूजीलाई समेत हेर्न नपाउँदा मन खिस्रिक्क भएको थियो । स्वर्ग जाने प्रवेशद्धारमा एकदिन अवश्य पुग्ने छु भन्दै मनलाई सान्त्वना दिएँ ।

‘उ त्यो भवन सय वर्ष भन्दा पुरानो हो ।’ रातो इटाको घरलाई देखाउँदै प्रकाशले भने ।

माउण्ट फूजीको सेता हिमाल हेर्ने सपना साँचेका आँखा राता ईटाको भित्तामा गएर ठोकिए ।

योकोहामाका आधुनिक गगन चुम्बी भवनका छेउछाउमा देखिएको उक्त रातो भवनको आफ्नै गौरवशाली इतिहास छ । देख्नमा साना भए पनि ठूलो इतिहास बोकेर गर्वसाथ उभिएको थियो । परबाट हेर्दा कुनै स्कूल वा कलेजको लामो भवन जस्तो देखिने त्यो रातो भवनको इतिहास सय वर्ष भन्दा पुरानो रहेछ । त्यो ऐतिहासिक भवन उतिबेलाको ‘कस्टम क्लिरेन्स हाउस’ थियो । अहिले त्यहाँ विभिन्न खालका पसलहरु संचालनमा छन् । केही कक्षहरुमा कला, संकृति र साहित्य लगायतका कार्यक्रम आयोजना गरिने स्थलको रुपमा लोकप्रिय बनेको छ । पुर्खाको इतिहास, संस्कृति, कला र साहित्य प्रतिको जापानी चिन्ता र चिन्तन मलाई खुब मन परेको छ । राष्ट्रका धरोहरलाई यसरी संरक्षण गरेको देख्दा मन प्रसन्न भयो ।

योकोहामा अन्तर्राष्ट्रिय टर्मिनलको आसपास र ‘टोक्यो बे’ किनाराको निकै परसम्म थुप्रै समय बिताएका थियौं । धित मरुञ्जेल खुब चक्कर लगायौं ।

आलोक चालिसे, भूमिका अधिकारी पौडेल, शिरोमण दवाडी, किरण पौडेल, विजयराज आचार्य, अश्विनी कोइराला त्यहाँ भेट्ने कुरा मिलाएका थियौं । मध्य दिउँसो उनीहरु आइपुगे । त्यस पश्चात हामी त्यहाँबाट बाहिरियौं ।

प्रकाशजीले चाइना टाउन देखाउने कुरा गरे । उनले चाइना टाउनको एउटा सडकमा गाडी दौडाउन थाले । योकोहामाको चाइना टाउन जापानको सबै भन्दा ठूलो र एशियाकै उत्कृष्ट चाइना टाउनमा गणना हुन्छ ।

बाटोमा खुब भिडभाड देखियो । त्यसले बजारको व्यस्तता बताइ रहेको थियो । बाटामा देखिएका मानिसहरु चाइनिज हुन् कि जापानी भनेर ठम्याउनै मुस्किल पर्यो । हुन त झट्ट हेर्दा उनीहरु उस्तै लाग्दछन् । दौडिरहेको गाडीबाट कसरी ठम्याउन सक्नु र रु जापानी र चाइनिज चिन्न सक्ने मेरा नजरले धोका खाए ।

भनिन्छ चिनियाँहरु पुगेर ब्यापार ब्यावसाय नगरेको देश यस ब्रम्हाण्डमा बाँकी नै छैनन् । यो कुरामा कतिको सत्यता छ मलाई थाहा छैन । तर संस्तो तथा आकर्षक चाइनिज सामान भने संसारका सबै देशमा पुगेका छन् । एशियाको त कुरै छाडौं, युरोप र अमेरिकाका बजारमा चाइनिज सामान छ्यास्छ्यास्ती पाइन्छन् । चाइनिज संसारमा मेहनती जाति भनेर चिनिन्छ । तर मेरो विचारमा चाइनिजहरु एक नम्बरका ब्यापारी हुन् । राम्रा सामान मात्र होइन गुणस्तरहिन सामान पनि मजाले बेचिरहेका छन् । युरोपको बसाईमा प्रयोग गरिरहेका चाइनिज सामानहरु सम्झन थालेँ ।

चाइनिजहरुको विशेषता भनेको आफ्नो जाति र संस्कृतिका लागि मरिमेट्नु । उनीहरु जुन देशमा पुग्छन्, त्यहाँका चाइनिजहरु मिलेर ब्यापारमा गर्न अर्को चाइनिजलाई पैसा सापटी, सहयोग र सल्लाह दिने गर्दछन् । उल्लेखनिय संख्या पुग्नासाथ चाइना टाउनको स्थापना गरेर चाइनिज सामानको बिक्री गर्दछन् । आफ्नो भाषा र संस्कृति जोगाउन विविध काम गर्दछन् । चाइनिजहरुको यो विशेष गुणले म प्रभावित भएको छु ।

मैले पढेको जापानको इतिहास सम्झन्छु । वास्तवमा जापानमा चाइनिजहरुको उपस्थिति निकै पहिले भएको थियो । योकोहामामा अन्तर्राष्ट्रिय ब्यापारिक नाका खुले पश्चात विदेशी ब्यापारीहरुले चाइनिजलाई जापानीहरुसँग कुराकानी गराउन दोभाषेको रुपमा ल्याएका थिए । ती चाइनिजहरुले जापानको व्यापार विस्तार र प्रवद्र्धनका लागि ठूलो काम गरेको कुरा जापानी इतिहासमा उल्लेख छ । चिनियाँहरुको जनसंख्या थपिदै जाँदा तिनले स्वतन्त्ररुपमा अन्य व्यावसाय पनि गर्न थाले ।

मेरा जापानी मित्र हारुनोरीले एकपटक ठट्टा गर्दै मसँग चिनियाँको बारेमा रमाईलो कुरा भनेका थिए । जापानमा त्यस बेला चिनियाँहरुले तिन खालका छुरी चलाउने काम गर्दथे । खाना बनाउने कुक, कपडा सिलाउने दर्जी र कपाल काट्ने हजाम जहाँ उनीहरुले छुरी चलाउनु पर्दथ्यो । पछिसम्ँम पनि चाइनिजहरु तीनवटा छुरी 'सान, बा, दाओ' चलाउने जाती भनेर चिनिन्थे । नेपालको पहाडी क्षेत्रमा धेरै पहिले भारतबाट आएका चुरा बेच्ने चुरौंटो मुसलमानहरु रैथाने भए जस्तै चाइनिजहरु पनि जापानमा रैथाने भएका छन् । सामाजिक संघुलनका केही तस्बिरहरु आँखा अगाडि आउन थाले ।

योकोहामाको चाइना टाउन बौद्ध मन्दिर, रेष्टुरेण्ट र चाइनिज सामानका पसलका जापानी र अन्य विदेशीका माझ प्रसिद्ध छ । त्यो क्षेत्र चाइनिज खाना र विविध संस्कृतिको मिश्रणका कारण जापानीहरुका माझ लोकप्रिय गन्तब्य बनेको छ । मेरा जापानी मित्रहरुले चाइना टाउन अवश्य जानु होला भनेको सम्झन्छु । हुन त एक ठाउँको चाइना टाउन हेरेपछि अर्को ठाउँको नहेरे पनि हुन्छ । ती चाइना टाउनहरुमा धेरै समानता हुन्छन् ।

चाइनिजहरुले आफ्नो पहिचान र परम्परालाई जिवीत राख्न घर, रेष्टुरण्ट, अफिस आदिको बलेसीँ, प्रवेशद्धार आदिका अगाडि अलिकति भए पनि चाइनिज ढाँचाको देखिने गरि बनाएका हुन्छन् । सोही परम्पराको निरन्तरता योकोहामा पनि देखेँ । मैले अन्य ठाउँमा देखे जस्तै चाइनिज मौलिक शैली त्यहाँ पनि दुरुस्त कपी थियो ।

अहो ! लाफिङ बुद्ध !

अरु देशका चाइना टाउनमा जस्तै योकोहामामा घर, पसल र रेष्टुरेण्टको प्रवेशद्धार अगाडिको लाफिङ बुद्धको मूर्ति देखेँ । मैले पहिले नै भेटेको र मजाले चिनेको लाफिङ बुद्धलाई जापानमा पनि देख्न पाएँ । लाफिङ बुद्धसँग बेल्जियम र बेलायतमा मेरो बारम्बार जम्का भेट हुने गरेको थियो ।

हिन्दू धर्मको लक्ष्मी माता जस्तै लाफिङ बुद्धले धनसम्पत्ति र खुशीयाली ल्याउछन भन्ने कुरामा चाइनिजहरु विश्वास गर्दछन् ।

आँखा चिम्म गरेर ध्यानमग्न बुद्धको अनुहार र मुख खोलेर मजाले हाँसेको लाफिङ बुद्धको लामो कान बाहेक अरु अंगमा समानता पाइदैन । चिण्डे तालु, हाँसिरहेको पोक्चे गाला र ठूलो पेट भएको आकृतिलाई किन लाफिङ बुद्ध भनेका हुन् थाहा पाउन सकेको छैन । बुद्ध जन्मेको देश नेपालमा लाफिङ बुद्ध चाइनिजहरुको पसल र रेष्टुरेण्टमा बाहेक अन्यत्र सितिमिति देख्न पाईदैन । हाम्रो देशको बुद्धको अर्को अवतार हामीले थाहै नपाई चिनमा कहिले बनेछ रु चिनमा पुगेर बुद्ध कसरी मोटाएछन् हँ ? मनमा खुल्दुली लागि रह्यो ।

लाफिङ बुद्धको पेट सुम्सुम्याए मात्र धन र खुशीयाली प्राप्त हुने कुरामा चाइनिजहरु विश्वास गर्दछन् । समय निकै बितिसकेको थियो । लाफिङ बुद्धको पेट सुमसुम्याउने योजना सुनाउँ भने प्रकाशजी र पाँडे सर मरिमरि हाँस्लान् भनेर चुपचाप बसेँ । हिँडाई र तातो घामले खुब थकाएको थियो । भोकले हुरुक्क भएको थिएँ । पाँडे सर मौन थिए । सायद उनी पनि भोकाएका थिए होलान् । फुर्तिला प्रकाशजी भने गाडी दौडाई रहेका थिए । भोकको रन्कोमा म चाहीँ लाफिङ बुद्धको हैन म चाहीँ आफ्नै पेट सुम्सुम्याउँन थालेँ ।

लेखक एवं साहित्यकार बजगाईं हाल बेलायतमा बस्दै आउनुभएको छ ।