(JAPAN) 18 th July | 2018 | Wednesday | 9:06:24 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:50:59 AM
 

कुमारको कहाली लाग्दो जापान संघर्ष र लोभलाग्दो सफलताको सुत्र

  POSTED ON : Monday, 02 April, 2018 | Views : 11566

कुमारको कहाली लाग्दो जापान संघर्ष र लोभलाग्दो सफलताको सुत्र

खाइलाग्दो शरिर । लोभलाग्दो व्यवसाय । सपनाको शहर बनाउनेहरुको देश जापानको राजधानीमा सुखैको जिन्दगी बिताइरहेका कुमार कार्कीलाई देख्नेहरुलाई लाग्दो हो पत्कर सोरे जसरी सोरिरहेछ पैसा । 

पैसाको यो घनचक्कर सुरुहुन धेरैअघि पत्कर सोहोरेरै बाल्यकाल विताएका कार्कीले बाल्यकाल सम्झँदै सुनाए सामान्य खेती किसानी । विहान घाँसपात दिउँसो विद्यालय अनि फर्कंदा स्याउला बोक्नुपर्ने संघर्षमय बाल्यकाल ।

तीन दाजुभाई, दुई दिदी बहिनी बुवा र आमा । सुखै मानेर चलेको जीन्दगिमा त्यतिखेर दुखको सागर थपियो जव पढाईलाई पहिलो प्राथमिकता दिएर अघि बढ्न प्रेरणादिने पितामह स्वर्गवास हुनुभयो ।

स्नातकसम्मको अँग्रेजी विषयको अध्ययन, ७ वर्ष अध्यापन सँगै विद्यालयको प्रधानअध्यापक । अहिलेको रेष्टुरेण्ट व्यवसाय अनि अन्य क्षेत्रमा व्यवसाय बढाइरहेका कुमार कार्कीलाई नजिकबाट चिन्ने धेरैलाई थाहा नहुनसक्छ पाँच जनाको परिवारको जिम्मेवारी काँधमा बोकेर बाबुको अभाव हुन नदिइ सफलताको एउटा उचाइ पाएका उनले यसबिचमा धेरै कष्टदायी यात्रा गर्नुपरेको छ ।

'काठमाडौंमा ल्यांग्वेज इन्स्टिच्युट चलाईन कि, म्यानपावर चलाइन, आफैंले अँग्रेजी भाषा सिकाउनेदेखी आफैं मान्छेलाई बिदेश पठाउने काम समेत गरें । कहिल्यै कसैले बढी पैसा लिएर ठग्यो भन्ने गुनासो गर्न आएनन् । भनेको काम र दाम दिलाएर विश्वासको काम गरेको म चाहिँ अरुबाट भने ठगिएँ जापान आउँदा ।'


जापान यात्रा, संघर्ष अनि सफलताबारे कार्की ईन्टरनेशनलका प्रमुख कुमार कार्कीको अनुभव जस्ताको तस्तै


म काठमाडौंमै मेनपावर चलाएर बसीराखेको थिएं । कमाई पनि राम्रै थियो, सबै राम्रैसँग चलिराखेको थियो । मैंले २००७ तीर एकजना साथिलाई तीन लाख रुपैयाँ सापटी थिएको थिएं । पछि जापान जानेभए जाउ भन्ने कुरा गरे ।

राम्रै कमाई हुने भन्ने भएपछि साथीको विश्वासमा लागेर थप १७ लाख रुपैयाँ तिरेर सन् २०१० को मे मा जापान आएँ । तर आफ्नै मान्छे फटाहा भएपछि केही लाग्दो रहेनछ मलाई उता राम्रो तलब दिन्छ भने यता जसको रेष्टुरेण्टमा पठाएको हो उसलाई चाहिँ यसलाई पैसा दिन पर्दैन उ आफैं रेष्टुरेण्ट खोल्न आउने हो भिषा मात्र लगाइदिने हो भनेर फटाहा कुरा गरेछ ।

जसले गर्दा मैंले बेतलबी ६ महिना काम गरें । तर मेहनतले मैले किचेनको सबैजसो काम सिकें । मैंले त दुख पाएं अब भोली मैंले रेष्टुरेण्ट खोलें भने अरुलाई सित्तैमा काम लगाउँदिन र पैसा खाएर ठगेर मान्छे बोलाएर ल्याएर बिचल्ली पार्दीन भनेर बाचा गरेको थिएं । जुन बाचाले मलाई अहिलेसम्म अरुमाथि अन्याय गर्न दिएको छैन र गर्दिन ।

त्यसपछि श्रीमतीलाई पनि यतै बोलाएं । त्यतिखेर काम पाउन मुश्किल थियो । काम गर्नकै लागि ७ मान दिएर एउटा होटलमा बेड मेकिगंको काम थाले । सत्र मान तलब दिन्थ्यो । महिनाको दुई दिन छुट्टी । बिहान ९ बजेबाट राती १२ बजेसम्म काम । काम गर्ने ठाउँबाट रेल चढ्ने ठाउँसम्म २० मिनेट, रेलमा एकघण्टा अनि फेरी यता हिँड्नुपर्ने । ९ बजेको काम गर्न ६ बजे उठेर ७ बजे नहिँडे भ्याउँदैन थियो । म झण्डै ९० किलोबाट घटेर ६५ किलोमा झरेको थिएं । राती फेरी कोठामा २ बजे पुगिन्थ्यो । सुत्ने समय बढीमा ४/५ घण्टा हुन्थ्यो ।

एकवर्षपछि गुन्बाकेन गएं । त्यहाँ फलाम कम्पनीमा काम गरें । कारको अगाडीको भाग बनाउने कम्पनी रहेछ । महिनामा दुई हप्ता राती, दुई हप्ता दिउँसो काम हुन्थ्यो । राती ८ बजेबाट सुरु भएर बिहान ८ बजेसम्म । काम गर्ने ठाउँसम्म पुग्न एकघण्टा लाग्थ्यो साईकलमा । भन्दा जान आउन दुई घण्टा, १२ घण्टा काम गरेर १४ घण्टा हुन्थ्यो । फेरी बिहान त्यो काम सकेर फर्कीएर आएर बारीमा मुला उखेल्ने काम गर्न जान्थें । अरुलाई ६/७ सय मात्र घण्टाको दिन्थ्यो तर मैंले धेरै काम गर्ने भएर मलाई २ हजार भन्दा बढी दिन्थ्यो । अरुले अहिलेको अवस्था देखेर ठगेर कमाएको ठान्लान् तर मैंले दिनको ३/४ घण्टा मात्र सुतेर महिनाको त्यतिखेरै ६० मानसम्म कमाउथें ।
लगत्तै अर्को काम गरें । 

नाइस्योको काम गरें । पाँच रुपैयाँ पिस दिन्थ्यो । उभिएर दुवै हातले दशै औंला चलाएर गर्नुपर्थ्यो । जती छिटो गर्न सक्यो त्यति कमाइहुने । त्यहाँ सँगै कामगर्ने नेपाली साथीहरुले १० मान सम्म कमाउँथे । तर मैंले खटेर महिनाको ४० मान बढी कमाउथें । त्यसरी दुवै हात चलाउँदा कुममा धेरै घर्षण भएछ र हड्डी नै खिएर अहिले यो हात धेरै चलाउन र ठाडो पार्न समस्या छ ।

तीनवर्ष अघि टोकियो आएं । सिनओकुवो आएँ र थकाली रेष्टुरेण्ट खोलें । पहिला तीनजना साथी भएर गरेका थियौं । कुरा नमिलेपछि मैले छाडें उहाँहरुलाई गर्नुस् भने । तर मेरो लगानी नदिएपछि पुन उहाँहरुको पैसा दिएर म आफैंले चलाउन थालें । अहिले यही विल्डिगंमा होस्टल पनि चलाएको छु ।

पछि फेरी सिनओकुबोमै बारकाँडे रेष्टुरेण्ट सुरु गरें । अलि फरक कन्सेप्टमा सुरु गरेको थिएं । २८ सय मान लगानीमा खोलेको तीन महिनामा थप १५ सय मान घाटा व्यहोरें । ६ महिना जति चलाएपनि नसकेपछि फरक कन्सेप्टमा रेष्टुरेण्टको स्वरुपनै फेरेर कार्यक्रम पनि गर्न मिल्ने गरि समुहमा मिलेर चलाएको छु । अहिले ओकुबु सिनओकुवु क्षेत्रमा नेपालीहरुले चलाएको रेष्टुरेण्टमै फरक खालको राम्रो व्यवस्थापनमा दुईतिनवटा कार्यक्रम समेत एकैपटक गर्न मिल्ने दुईतिन सयजनाको कार्यक्रम गर्न सकिनेगरि साउण्ड सिस्टम स्टेजको व्यवस्था गरेको छु ।

मैंले सुरु गर्नु अघिसम्म सिन ओकुवो क्षेत्रमा लगभग हजार रुपैयाँमा नेपाली खाना खान पाइन्थ्यो । विद्यार्थीहरुको बढी आउजाउ अनि सबैखाले नेपालीहरुको उपस्थिति हुने यो क्षेत्रमा मैंले नै पाँच सयमा नेपाली खाना थपेर खान पाउने सुरुवात गरें । दाल, भात, तरकारी, अचार कुनै एकथरी मासु सहितको खाना जापानको बजार मुल्य हेर्दा ५ सय ज्यादै न्यून हो । यसमा खासै मुनामा हुँदैन । मैंले थकाली रेष्टुरेण्टबाटै सुरु गरेपछि अहिले जापानभरी नै धेरै नेपालीकोमा ५ सयमा बिहान खाना खुवाउन थालेका छन् । यो नेपालीहरुको लागि केहीभएपनि राम्रो काम हो ।

रेष्टुरेण्टसँगै अहिले नेपाल पैसा पठाउन सकिने क्युएस रेमिट्यान्सको काम पनि थालेको छु । छिट्टै छुट्टै कम्पनीको रुपमा काम थाल्दैछौं । त्यस्तै भिषाको काम पनि गरेको छु । अहिले १४ वटा रेष्टुरेण्ट छ । त्यसमध्ये केहीमा संयुक्त लगानी छ । पहिला २२ वटा थियो । अघि भनेजस्तै बारकाँडेमा ४ हजार मान बढी घाटा परेपछि केही बेच्नुपर्यो । 


भन्नलाई धेरैजना डराउँछन् । मैंले नेपालबाट पनि कुक झिकाएं । तर सिप भएको भनेर कुकको लागि धेरैजना सिप नै नभएका आए । मैंलेचाहिँ मैले जस्तो काम नजानेकै कारण दुख नपाउन् भनेर पनि त्यस्तो गर्न खोजेको थिएं भएन । तर अब मैले १० जना साँच्चैको राम्रा कुकहरु ल्याउँदैछु ।

म दाबी के गर्छु भने मैंले एकपैसा पनि नलिगि उल्टो प्लेन भाडा समेत मैंले नै हालिदिएर १० जना कुक ल्याउँदैछु । तर उहाँहरुले कम्तिमा २ वर्ष मेरोमा काम गर्नुपर्छ । फेरी सित्तैमा भने होइन, म यहाँ राम्रा कुकहरुले पाइराखे अनुसारकै राम्रै तलब पनि दिनेछु । उहाँहरुको श्रीमती परिवार बोलाउन परे सबै कागजात लगायत सहयोग पनि गर्नेछु । तपाईलाई अर्को कुरापनि भनौं मैंले ओकुवु सिनओकुबो क्षेत्रमा रेष्टुरेण्ट खोलेपछि ३० देखी ३५ जनालाई मालिक बनाएको छु । सबै सक्षम भएर आफ्नै काम गरिराख्नुभएको छ ।

म निडर, जे देखेको बोल्ने, अन्याय नसहने खालको स्वभाव भएको व्यक्ति हुँ । कसैको चाप्लुसी गर्न जान्दिन यो मेरो स्वभाव हो ।

जापानमा भएका संघसस्था र सँगठनहरुबारे भन्नुपर्दा संघसंस्थाहरु धेरै भइसके । अझ महिनैपिच्छे संस्था थपिँदो छ

जापानमा हाम्रो आधिकारीक संरक्षक नेपाली राजदूतावास हो । सामाजिक संघसंस्था सबैले मानेको गैर आवासिय नेपालीसंघ जापान हो । यस बाहेक क्षेत्र, जात, उमेर, रुची, पेशा अनुसारका सयौं संस्था छन् । सबै नेपालीहरुको साझा संस्था भनेर एनआरएन हुँदा हुँदै यतिधेरै संस्था किन चाहियो, यो धेरै भइसकेको छ । अर्को कुरा साझा संस्था भनेर एनआरएन हुँदा हुँदै किन धेरै संघसस्था खुलिरहेका छन् किन कसैले बुझिराखेको छैन ।

घरको मुलीले जब राम्रो गर्दैन वा गर्न सक्दैन सन्तानले आ आफ्नो बाटो रोज्छन् । ठिक त्यस्तै भएको छ जापानमा । साझा संस्था मानिएको एनआरएन सबैको अविभावक हुनसकिराखेको छैन । संस्थाको नेतृत्वमा भएकाहरुको निकटका लागि संस्था राम्रो बाँकी नेपालीका लागि भएको र नभएको खासै अर्थ नदेखिंदा यसको लोकप्रियता बढ्नुको साटो विवादमा आइरहन्छ । यसको एउटा कारण भनेको एनआरएन आफैं पनि हो । एनआरएन जापान पिडित मान्छे म पनि हुँ ।

सम्पन्न एनआरएनए जापानको निर्वाचनमा म उम्मेदवार भएं । मतदान चलिरहँदा निर्वाचन समितिकै मान्छेहरुले मतदान सकिने बेलासम्म तपाईको भोट सबैभन्दा बढी आएको छ भने । उत्तम श्रेष्ठ भाईको पनि राम्रो मत आएको सुनिराखेको थिएं । ज्याक खड्का भाईले त मेरो भोट हरायो भनेर असन्तुष्टिनै पोखे । महिला सदस्य उम्मेदवार, उपाध्यक्ष उम्मेदवारहरुले त निर्वाचन नै बहिस्कार गरे । यतिसम्मकी मतदान समय जारी रहँदा मेरो कार्यालयमा आएर केही व्यक्तिहरुले तेरो भोट बढी आएको छ कसरी आयो ? यहाँबाट भोट हालिस् कि ? भनेर चेक गर्न समेत आए ।

पछि कुरा बुझें पहिला हामीलाई एउटा मात्र मत हाल्नमिल्ने सिस्टम बनाएको छ भने तर अकस्मात एउटै मोबाइल, ल्यापटपबाट जतिपनि भोट हाल्नमिल्ने बनाएछन् अनि अरुले नी धेरै हाल्योकि भनेर डराएर चेक गर्न पठाएका रहेछन् । पछि नामै नसुनिएका मान्छे जिते भनेर आयो । भुकम्प पिडितको रकम विवाद, संस्थाको आर्थिक पारदर्शिता, कार्यक्रमहरुको खर्च विवरण लगायतका विवादको कुरा त सबैलाई थाहैछ । मात्र मेरो कामना अझैपनि यो संस्थाले अविभावक बनेर काम गरोस् । जापानमा रहेका हामी सबै नेपालीले हाम्रो संस्था भनेर अपनत्व गर्न सकौं ।

कमाई र कर्म


जापानमा जति रहिन्छ त्यतिन्जेल यहाँ रहनुभएका नेपाली र नेपालमा सकेको ठाउँमा सकेको योगदान गर्नेछु । गर्दै आइरहेको पनि छु । दुखमा परेका यहाँ नेपालीहरुलाई सहयोग गर्दै आएको छु । सहयोग पैसाले नै गर्नुपर्छ भन्ने छैन । व्यवसाय मार्फत पनि गर्न सकिन्छ । पाँच सयमा खाना खान पाउने व्यवस्था सुरु गरें । त्यो पनि एककिसिमको सेवा भाव नै हो ।

नेपालबाट आफैंले खर्च तिरेर एकपैसा नलिगि कामदार बोलाउँदैछु । यसलाई के भन्ने । मैंले जापानमा अकालमा मृत्युहुने नेपालीहरुलाई सहयोग पर्दा मृतकलाई ५ देखी १० मान सहयोग गर्ने बिरामीलाई १ मान सहयोग गर्ने सोच बनाएको छु । यो धेरै कमाएर होइन नेपालीहरुको पिडामा सकेको मह्लम लगाउन सकिन्छ कि भनेर प्रयास हो । आमा प्रेम कुमारी अनि बाबा पूर्ण प्रसादको नाममा एउटा सामाजिक सेवा भावको संस्था खोलेर नेपालमा सकेको सहयोगको थालनी गर्ने योजना बनाईराखेको छु । आफ्नो गाउँठाउँ र क्षेत्रमा सहयोग गर्दै आइरहेको छु र सहयोग रहिरहन्छ ।


मेरो आजसम्मको कमाई भनेको मेरो परिवार, आफन्त र साथीभाईनै हुन् । पैसाले तौलीन नसकिने साथीभाई कमाएको छु । मेरो कर्मले दिएको यहि कमाईले नै भर्खरै ठूलो बिरामीमा परेर पनि छिट्टै सामान्य दैनिकिमा फर्कन सकें ।

सबैप्रति आभारी छु जापानमा रहेका मलाई चिन्नुहुने नेपालीहरुप्रती । उहाँहरुको आशिर्वादले नै ठिक हुनसकें । छलकपट नगरि, अरुलाई मर्का नपर्नेगरि सबैको भलो हुनेगरि देशको ईज्जत राख्नेगरि हामीले यहाँ कर्मगर्नुपर्छ । हामी सबै मिलेर अघि बढे सफलता मिल्छ । त्यसैले राम्रो सोचेर राम्रो गरौं, सबैको भलो हुन्छ ।