(JAPAN) 19 th December | 2018 | Wednesday | 2:05:58 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:50:58 PM
 

दशैं आयो ! आज घटनास्थापना, दशैंको टिका १९ तारिख-शुभ साईत बिहान ९:५१ बजे

  POSTED ON : Wednesday, 10 October, 2018 | Views : 375

दशैं आयो ! आज घटनास्थापना, दशैंको टिका १९ तारिख-शुभ साईत बिहान ९:५१ बजे

टोकियो ।

देश तथा परदेशमा रहेका नेपालीहरुले हर्सोल्लासका साथ मनाउने प्रमुख चाडपर्व दशैं आजबाट सुरु भएको छ ।

आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन देवी दुर्गा भवानीको विशेष पुजाआजा सहित जमरा छर्ने गरिन्छ । जमरा जौ, धान, मकै, गहुँ लगायत अन्नलाई घाम नलाग्ने ठाउँमा ओसिलो माटोमा छरिन्छ ।

दशैं भन्ने वित्तिकै पारिवारिक भेटघाट, सकेको मिठो मसिनो पकाएर खाने, निधारमा रातो टिका अनि शिरमा जमरा मुख्य सम्झिने प्रतिकजस्तै हुन् । यस कारणपनि जमरा छर्ने आजको दिन विशेष महत्वको रहेको छ । गाउँघरमा लिंगे पिगं सहित विभिन्न परम्परागत पिंग हालिनुका साथै हिजोआज रमाईलोको लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गर्ने गरिन्छ ।

नवरात्री सुरुभएसँगै आजबाट दशैंको मुख्य दिन टिकासम्म देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड लाग्ने गर्दछ ।

दशैंको टिकाको दिनसम्म हरेक दिन विहान नवदुर्गा भवानीको पुजापाठ अनि जमराको पुजापाठ गरिन्छ । दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट आशिर्वाद थाप्ने गरिन्छ ।

आज छरिने पहेंलो जमरा र रातो टिकाको रौनकताले व्यक्तिको मुहारमा चमकता देखिन्छ भने गाउँघरमा दशैंको रौनकतानै बढेको पाईन्छ । यस बर्षको बडा दशैंको टिकाको शुभ साईट कार्तिक २ गते अर्थत् अक्टोबर १९ तारिख शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चागं निर्णायक समितिले जनाएको छ ।

ईतिहाँस हेर्ने हो भने १६ औं शताब्दिमा राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्राइन्थ्यो । जुन चलन आज पर्यन्त जारी रहेको छ ।

यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा आजैका दिन विधिपूर्वक गोरखामा छरिने चलन रहिआएको छ ।

गोरखाबाट यसरी ल्याइएको जमरालाई बसन्तपुरमा रहेको तलेजु भवानीको मन्दिरमा अवस्थित दशैंघरसम्म पारम्परीक बाजागाजा सहित भित्राउने गरिन्छ ।

देश तथा परदेशमा घरदेखी टाढा रहने परिवारका सदस्यहरु दशैंको अवसर पारेर आफ्नो घर परिवारलाई भेट्न आउने गर्दछन् । घर जान नपाउनेहरुले भने देश भित्रै रहेपनि परदेशमा रहेपनि आफन्त, साथिभाई तथा विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी भएर रमाईलो गरि दशैं मनाउने गर्दछन् ।


पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद 


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।


यसको अर्थ:

ॐ द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।

सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।


महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात्ः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

बडा दशैंको यो पावन पर्वमा दुर्गा भवानीको कृपाले देश तथा बिदेशमा रहनुहुने सबैमा भातृत्व, बढाउनुका साथै शान्ति, समृद्धि र खशीको मङ्गल छर्न सकोस् हार्दिक शुभकामना ।