(JAPAN) 18 th July | 2018 | Wednesday | 9:10:24 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:54:59 AM
 

जापानी राजदूतसँगको भेटमा सभामुख महराले भने-'जापानमा बाढी पहिरोले पुर्याएको क्षतिमा दुखी छौं'

  POSTED ON : Thursday, 12 July, 2018 | Views : 179

जापानी राजदूतसँगको भेटमा सभामुख महराले भने-'जापानमा बाढी पहिरोले पुर्याएको क्षतिमा दुखी छौं'

काठमाडौं ।

सभामुख कृष्णबहादुर महराले जापानी राजदूतसँगको भेटमा यसै साता जापानमा भारती बर्षापछिको बाढी र पहिरोले पारेको जनधनको क्षतिमा नेपाल सरकारको तर्फबाट दुख व्यक्त गरेका छन् ।

नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोसँग बुधवार पहिलो पटक भएको भेटमा महराले नेपाल र जापानबीच राजनीतिक सम्बन्ध मात्रै नभई सामाजिक, साँस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको सो अवसरमा बताए ।

“नेपाल बुद्धको जन्मभूमि हो, जापान बौद्धमार्गीहरुको देश’, सभामुख महराले भने “हामी राजनीतिक सम्बन्धका हिसाबले जति नजिक छौं, त्यत्तिकै साँस्कृतिक, धार्मिक र भावनात्मक हिसाबले पनि निकट छौं ।”

जापान सरकारले नेपालको विभिन्न क्षेत्रमा आर्थिक लगानी तथा सहयोग गरिरहेको चर्चा गर्दै सभामुख महराले नेपालको महाभूकम्पको बेला जापान सरकारले गरेको सहयोग आफूहरुले कहिल्यै नभुल्ने बताए ।

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्नेतर्फ आफूले सोचिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मौका मिल्ने बताए ।

राजदूत मासामिची साइगोले जापान र नेपालबीचको पारस्परिक सम्बन्ध पहिलेजस्तै प्रगाढ र दिगो रहने विश्वास व्यक्त गर्नुभयो ।

जापान सरकारले नेपाललाई जुनसुकै क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको भन्दै संघ, प्रदेश र स्थानीय तहको सरकारलाई सुशासन, क्षमता अभिवृद्धि लगायतका कामहरुमा आवश्यक सहयोग गर्न जापान सरकार इच्छुक रहेको जानकारी गराए ।