(Japan) 19 th April | 2024 | Friday | 3:22:12 PM || (Nepal) 12:07:12 PM
 
 


बागलुङमा छोरीको न्वारनमा भोज खुवाएका व्यक्तिनै कोरोना संक्रमित पुष्टि

  POSTED ON : Sunday, 30 August, 2020 | Views : 4548

बागलुङमा छोरीको न्वारनमा भोज खुवाएका व्यक्तिनै कोरोना संक्रमित पुष्टि


बागलुङ, नेपाल ।

बागलुङ जिल्लाको १० भकुण्डे गलुवामा छोरीको न्वारनमा भोज खुवाएका व्यक्ति नै कोरोना संक्रमित भएको पाइएको छ ।

न्वारन गर्ने छोरीका बुबा लमजुङबाट आएका थिए । उनलाई संक्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

उनले १ भदौमा छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए। भोजमा पाहुना, आफन्तलगायत ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएका थिए ।

छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सैनिकलाई ११ भदौमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब  सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डिल्ली आचार्यले जानकारी दिए ।

नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको छ । कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइएको हो ।

संक्रमितका परिवारमा पनि कोरोनाको लक्षण देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ। स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्ने जस्ता लक्षण देखिन थालिसकेको पाईएको छ ।

स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारान गरिएकी २२ दिनकी शिशु पनि रेहेकी छिन् ।