(Japan) 29 th January | 2020 | Wednesday | 5:11:11 AM || (Nepal) 1:56:11 AM
 
 

आज पृथ्वी जयन्ती, यस्तो छ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पढ्नै पर्ने जीवन र दर्शन

  POSTED ON : Sunday, 12 January, 2020 | Views : 344

आज पृथ्वी जयन्ती, यस्तो छ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पढ्नै पर्ने जीवन र दर्शन


काठमाडौं, नेपाल ।

नेपाल एकिकरण गरेर सिंगो नेपाल निर्माण गर्नुभएका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आज २९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुले आफ्ना राष्ट्र निर्मातालाई विभिन्न तरिकाले सम्झना गर्दै पृथ्वी जयन्ती मनाई रहेका छन् ।

विक्रम संवत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएर ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभएको थियो ।

२० बर्षको उमेरमै राजगद्दी सम्हालेर जीवनपर्यन्त नेपाल एकीकरणमा लाग्नुभएका पृथ्वी नारायण शाहको सम्मानमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाईंदै आईएको छ ।

यसदिन सार्वजनिक बिदा समेत दिने गरिएकोमा २०६२/२०६३ को आन्दोलनपछि बनेको कम्युनिष्ट सरकारले एकता दिवस खारेज गरेको थियो । अहिले देशभर राष्ट्रिय एकता राष्ट्रिय रुपमा मनाउनुपर्ने तथा यसदिन सार्वजनिक बिदा दिएर राष्ट्रनिर्माताको सम्मान गरिनुपर्ने माग व्यापक बन्दै गईरहेको छ ।

नेपाल एकिकरण गर्नुभएका राष्ट्रनिर्मातासँग विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेजका सेना समेत उनको नेतृत्वमा पराजित भएको थियो ।

अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेर पठाएका थिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज सेना समेत नेपाल आक्रमणमा नआई भारतमा मात्र साम्राज्य गरेको थियो ।

राष्ट्र निर्माता शाहले ‘व्रतरत्नमाला’ नामक कृति समेत लेख्नुभएको छ ।

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ‘दिव्योपदेश’ सँधै चर्चा र नेपाली जनजिव्रोमा झुण्डिएर रहेको छ ।

मेरा साना दुखले आर्ज्याको मुलुक होइन । यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सन्देश थियो ।

राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगार्ने भन्याका घुस लिने र घुस खाने हुन्, यी दुबैको त धन र जिउ हरि लिए पनि पाप छैन । यी राजाका मह शतरु हुन् ।

अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू । जस्ता देश र लोकहितको आदेश आधुनिक न्याय प्रणालीको मुटुको रुपमा त्यतिखेरनै पृथ्वीनारायण शाहले गरेको पाईन्छ ।

आर्थिक नीतिको रुपमा समेत राष्ट्रनिर्माता शाहले खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।

कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु भन्ने आदेश जारी गर्नुभएको थियो ।


नेपाल एकिकरणका निर्माता राष्ट्रपिता पृथ्वी नाराण शाहको एक संक्षिप्त जीवनी

पृथ्वीनारायण शाहको निधन वि।सं। ५२ वर्षको उमेरमा वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन नुवाकोटको त्रिशूली र तादीको दोभान देवीघाट मोहनतीर्थमा भएको थियो । निधन हुनुअघि केही महिनादेखि बिरामी परेका उनले आफ्ना अभिव्यक्तिहरू सम्भवतः मङ्सिर, पुस महिनामा टिपाएको हुनुपर्छ ।

लेखपढ गर्न जान्ने मानिसहरू औँलामा गन्न सकिने त्यसबेलामा उनका अभिव्यक्तिहरू लिपिबद्ध गर्ने कार्य गोर्खाली प्रथम सेनापति शिवरामसिंह बस्न्यातका सुपुत्र काजी अभिमानसिंह बस्न्यातले गरेका थिए भनी योगी नरहरिनाथले बृहद आध्यात्मिक परिषद् द्वारा प्रकाशित आफ्नो ‘दिव्य उपदेश पृथ्वीको अर्ति’ नामक पुस्तिकामा उल्लेख गर्नुभएको छ ।

कलाकार हरिप्रसाद शर्माले पृथ्वीनारायणले आफ्नो बिरामी शैयामा बसी बताइरहेका, उनको सामुन्ने शैयामुनी बसी काजी अभिमानसिंह बस्न्यातले टिपोट लेखिरहेका, शैयाको छेउमा भित्तातर्फ राजकुमार बहादुर शाह कुर्सीमा बसिरहेका, राजवैद्यले औषधि बनाइरहेका, अन्य भाइभारदारहरू वरिपरि बसेर पृथ्वीनारायणका अर्ति उपदेश ध्यानपूर्वक सुनिरहेका दृश्य आफ्नो एक तैल चित्रमा सजीव रूपमा चित्रण गर्नुभएको छ ।

दिव्योपदेशको पाण्डुलिपि अभिमानसिंहका सन्तति इतिहासविद् बखत्मानसिंह बस्न्यात 'श्यामकाजी' को घरमा सुरक्षित रहेको पनि योगीले चर्चा गर्नुभएको छ । बखत्मानसिंहको जन्म अभिमानसिंहद्वारा निर्मित असन बालकुमारीस्थित तिलङ्गा घर ९सिपाहीको फौजको चित्र लेखिएको घर० मा भएको थियो ।

अभिमानसिंहले आफूले टिपोट गरी तयार गरेका उक्त पाण्डुलिपि आफ्नै साथमा विशेष जतनका साथ राखेका र पछि उनका विभिन्न पुस्ताले पनि जतनले नै राखेका थिए । राणा शासनको अवस्थामा पृथ्वीनारायणको दिव्योपदेश जस्तो अमूल्य निधिलाई जतनसाथ लुकाएर राख्नु बाहेक बस्न्यात परिवारसँग अरू विकल्प थिएन ।

जर्मनीका कुनै एक अन्वेषकले बखतमानसिंहसँग दिव्योपदेशको पाण्डुलिपि छ भन्ने कतैबाट थाहा पाएपछि सो आफूलाई बेच्नका लागि निकै दबाब दिएको तर उनले राष्ट्रको सम्पत्ति विदेश पठाउनु हुँदैन भनी विदेशीलाई नबेची वि।सं। २०२४ मा तत्कालीन राजा श्री ५ महेन्द्रसमक्ष जाहेर गरेका थिए । राजा महेन्द्रको आदेशानुसार पुरातत्व विभागले दिव्योपदेशको पाण्डुलिपि जिम्मा लिई २०२५ साल पुस २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा दिव्योपदेशको पहिलो संस्करण प्रकाशित गर्‍यो ।

‘दिव्यउपदेश’ नाम दिइएको ४१ पृष्ठको पुस्तिका पहिलो पटक तीन हजार प्रति छापी निःशुल्क वितरण गरिएको थियो । यसमा प्रयुक्त कतिपय शब्द प्रचलनबाट हटिसकेका हुनाले पाठक वर्गलाई बुझ्न सहज होस् भनी त्यस्ता शब्दका सही अर्थ खुलाई पादटिप्पणीसमेत पुस्तिकामा दिइएको छ । पादटिप्पणी तयार गर्ने महत्वपूर्ण कार्य योगी नरहरिनाथबाट भएको थियो ।

योगीले आफ्नो पुस्तिकामा वर्णन गरेअनुसार उक्त ऐतिहासिक पाण्डुलिपि बलियो नुवाकोटी कागजमा कालो पाको मसीले लेखिएको छ । करिब ११ इञ्च लम्बाइ, साढे आठ इञ्च चौडाइको १० पृष्ठ रहेको छ । तल्लो भागमा सानो भाग मुसाले काटेको भए पनि अक्षरमा क्षति पुगेको छैन ।

देवनागरी लिपिको पुरानो लेखन शैली नागराक्षरमा लेखिएको दिव्योपदेशमा पूर्णविरामका लागि अङ्ग्रेजीको जस्तो विन्दु प्रयोग भएका छन् । उक्त पाण्डुलिपि हाल पुरातत्व विभागमा विशेष सुरक्षाकासाथ राखिएको छ ।

दिव्योपदेशको पाण्डुलिपि विदेशीलाई नबेची राष्ट्रलाई नै सुम्पिएको कदर स्वरूप बखतमानसिंहलाई २०२५ सालदेखि २०३८ सालसम्म प्रत्येक वर्ष पृथ्वी जयन्तीको औपचारिक समारोहमा राष्ट्र निर्माताको पूर्णकदको तस्वीर राखिएको नेपाली सेनाको बग्गीमा नै ससम्मान राखी नगर परिक्रमामा सरिक गराइन्थ्यो ।

दिव्योपदेशको प्रथम संस्करणमा पनि सरकारका तर्फबाट उहाँप्रति धन्यवाद व्यक्त गरिएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीमा ४४ वर्षसम्म सेवा गर्नुभएका इतिहासविद् बखतमानसिंहको ७४ वर्षको आयुमा २०३९ सालमा बालाजु हाइटस्थित आफ्नै निवासमा निधन भयो ।