(JAPAN) 18 th November | 2019 | Monday | 6:44:40 PM
(Nepal) 18 th November | 2019 | Monday | 3:29:40 PM
 

सुनकोशीमा सुसायो १७ जनाको सपना, सुनकोशी बस दुर्घटनामा हुँदा ५१ जना घाईते-६ जना गम्भिर

  POSTED ON : Monday, 04 November, 2019 | Views : 134

सुनकोशीमा सुसायो १७ जनाको सपना, सुनकोशी बस दुर्घटनामा हुँदा ५१ जना घाईते-६ जना गम्भिर


सिन्धुपाल्चोक ।

दोलखाको मागादेउरालीबाट खचाखच यात्रु लिएर काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आईतबार राती ९ बजेसम्ममा १७ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको थियो । बस नदिमा खसेको १० मिनेटमानै नजिकै रहेका स्थानियहरुले उद्दारकार्य थालेकाले धेरैजनालाई जिवितै उद्दार गर्न सकिएको बताईएको छ ।

घटनामा ५१ जना घाइते भएका छन् । बस चालक धनबहादुर तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । राति अबेरसम्म पनि उनको होश खुलेको छैन ।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये सात जनाको सनाखत भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले दिएको जानकारीअनुसार मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिकाकी २४ वर्षीय रञ्जिता केसी, दोलखा शैलुङ्–३ की ५१ वर्षीय रत्नकुमारी रावत, दोलखा शैलुङ– ३ कै तीन महिने बालक सिसन तामाङ, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका जलजलेकी २७ वर्षीय चमेली श्रेष्ठ, उनकी ६ वर्षीय छोरी साइरानी श्रेष्ठ, उपचारको क्रममा धुलिखेल अस्पतालमा भक्तपुर निवासी ५२ वर्षीया चेतकुमारी बस्नेत र सिरमेमोरियल हस्पिटल बनेपामा उपचारत दोलखा शैलुङकी(६ वर्षीय सलिना तामाङको मृत्यु भएको छ ।

नदीको मुख्य भंगालोमा गाडी डुबेकोले धेरै शव बगाएर दोलालघाटसम्म पुर्याएको थियो । दोलालघाटमा फेला पारेको एक शवसहित १० वटा शव सुकुटेमा र पाँच वटा शव घटनास्थलमा फेला पारेको प्रत्यक्षदर्शी नरेन्द्र केसीले बताए । घाइतेमध्ये ४९ जनाको धुलिखेल अस्पताल र दुई जनाको सिरमेमोरियल हस्पिटल बनेपामा उपचार भइरहेको सिन्धुपाल्चोकका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उपचाररत घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । नदीमा डुबेको बसलाई क्रेनले तानेर किनारमा निकालिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनिको राजमार्गमा बस दुर्घटनामा परेको थियो। प्रहरीले बस तीव्र गति र बढी भार क्षमताका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान गरेको छ।