(JAPAN) 18 th June | 2019 | Tuesday | 4:01:27 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:46:27 PM
 

नेपालीको भारतमा रडले हानेर विभत्स हत्यापछि गाडेको अवस्थामा शव फेला

  POSTED ON : Sunday, 09 June, 2019 | Views : 79

नेपालीको भारतमा रडले हानेर विभत्स हत्यापछि गाडेको अवस्थामा शव फेला


बैतडी, नेपाल ।

बैतडी जिल्ला घर भएका एक नेपाली पुरुषको भारतमा रडले हानेर विभत्स हत्या भएको छ ।

हत्या हुनेमा बैतडीको तल्लोस्वराड घर भएका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ ।

भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको हो । ६ जेठमा चन्दको हत्या भएपनि उनलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको जानकारी प्राप्त भएको बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

चन्द भारतमा मजदूरी गर्दै आएका थिए । हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेका थिए ।

मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको कुमारले प्रहरीको वयानमा बताएका छन् । 

मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  शव ढिला फेला परेकाले सडेको अवस्थामा रहेको छ ।

घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दुरीमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।