(JAPAN) 26 th April | 2019 | Friday | 7:32:48 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:17:48 PM
 

नयाँ वर्ष २०७६ सालको शुभकामना, आज बैशाख १ गते सार्वजनिक बिदा

  POSTED ON : Sunday, 14 April, 2019 | Views : 64

नयाँ वर्ष २०७६ सालको शुभकामना, आज बैशाख १ गते सार्वजनिक बिदा


काठमाडौं ।

आजबाट नेपाली पात्रोअनुसार विक्रम संवत् दुई हजार छयहत्तर '२०७६' साल प्रारम्भ भएको छ ।

आज बैशाख १ गते देशभर सार्वजनिक बिदा रहेको छ । नयाँ बर्षको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी आज नयाँ वर्ष ९वैशाख १ गते० उत्साह र उमङ्गका साथ मनाइँदैछ । 

नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरुले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सरकारले नयाँ वर्षको उपलक्ष्यमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । 

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् १ गतेलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । आजको दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ । 

सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत्लाई विक्रम संवत्को रुपमा लिने गरिन्छ । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत् भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं प्राडा रामचन्द्र गौतमको भनाई छ ।

नेपाली पात्रोअनुसार, अघिल्लो वर्षको तुलनामा यो वर्ष सम्मत्सर राम्रो रहेको गौतमको भनाई छ ।