कसरी भन्न सक्छौ ?
‘अचानोको पीर खुकुरीले जान्दैन’ भनेर ?
ध्यान दिएर हेर त ..
सधै अगाडी बाट मात्र प्रहार गर्छ
खुकुरीले अचानोलाई !
तिमीले जहिलै पछाडी बाट प्रहार गर्छौ
आफ्नाहरूलाई !
अधिकतम क्षमताले प्रहार गर्छ
खुकुरीले अचानोलाई सधै !
तिमीले निम्न कायरताले प्रहार गर्छौ
बाटो देखाउनेहरूलाई !
तीक्ष्ण धारले प्रहार गर्छ
खुकुरीले अचानोलाई सधै !
तिमीले छुद्र व्यवहारले प्रहार गर्छौ
अफ्टेरोमा काम लागेकाहरूलाई !
छातीमै प्रहार गर्छ मर्म पुर्याएर
खुकुरीले अचानोलाई !
तिमीले छिर्के प्रहार गर्छौ
भर्खर हिंड्न सिकेकाहरूलाई !
अचानोको पीर खुकुरीले जान्दछ मानिस
तिमीले जान्दैनौ बरू छेऊकै मानिसको पीर !
तिमी त्यही मानिस हौ
जो ठूलो रूखमा आड लिन्छौ पहिले
त्यसैको छहारीमा सुस्ताउँछौ केही दिन
र
काट्छौ एक दिन त्यही रूखलाई
बाटो छेक्यो भनी
अनि
आगो ताप्दै भन्छौ-
‘यो मौसमको कुनै भर हुँदैन !’
प्रिय तिमी,
प्रहार नै गर्नु परे मलाई
सिधा गर्नू
सामुन्ने बाट गर्नू
बौद्धिकताले गर्नू
क्षमताले गर्नू....!
यस्तो प्रहार खेप्नूको
मज्जा नै अर्कै हुन्छ !
धारिला औजारका बिंडहरू पनि
अक्सर काठ बाट नै बनाइन्छ !
काठ कुहिन वर्षौं लाग्ला प्रिय
फलाममा खिया दिनहुँ लागिरहन्छ !
-हेमन्त गिरी, जापान