(JAPAN) 15 th August | 2018 | Wednesday | 6:36:47 PM
(Nepal) 15 th August | 2018 | Wednesday | 3:21:22 PM
 

जापानमा गुडिरहेको रेलभित्रै अन्धाधुन्ध छुरा प्रहार, एकको मृत्यु-दुई जना घाईते

  POSTED ON : Monday, 11 June, 2018 | Views : 16611

जापानमा गुडिरहेको रेलभित्रै अन्धाधुन्ध छुरा प्रहार, एकको मृत्यु-दुई जना घाईते

टोकियो ।

जापानमा गुडिरहेको तिब्र गतिको रेलभित्र अन्धाधुन्ध छुरा प्रहार हुँदा कम्तिमा एक जना यात्रुको मृत्यु भएको छ । आक्रमणमा परि अन्य दुई जना घाईते भएका छन् ।

शनिवार राती भएको छुरा प्रहारबाट दुई जना युवती र एक पुरुष घाईते भएकामा उपचारको क्रममा ३८ बर्षिय पुरुषको ज्यान गएको हो ।

जापानी समाचार संस्था जापानटाइम्सका अनुसार चक्कु प्रहारबाट घाईते भएका ३८ बर्षीय कोतारो उमिदा नाम गरेका पुरुषको मृत्यु भएको हो ।

उपचारकै क्रममा उनको मृत्यु भएको र अन्य दुई जना युवतीको उपचार भईरहेको छ । घाईते दुवैजना खतरा मुक्त छन ।

कसरी भयो आक्रमण ?


जापान प्रहरीका अनुसार टोक्यो नजिक शिन्कानसेन बुलेट रेलमा छुरा बोकेर एक युवक रेलमा घुसेका थिए ।

२२ बर्षीय इचिरो कोजिमा जसले छुरा बोकेका थिए उनले टोकियोबाट ओसाकाको लागि गुडेको रेलमा यात्रुमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका थिए ।

शनिवार राती करिब १० बजेको समयमा ८ सय ८० यात्रु बोकेको रेलभित्र अन्धाधुन्ध छुरा प्रहार हुन थालेपछि रेलका कर्मचारीहरुले प्रहरीलाई खवर गरेर रेललाई आकस्मीक रुपमा बिच बाटोमै रोकेका थिए ।

रेलभित्र यात्रुहरुमाथि छुरा प्रहार हुन थालेपछि यात्रुहरु अन्य डिब्बामा भागाभाग भएको र उनिहरुले चिच्याएर छुरा बोकेको व्यक्तिले आक्रमण गर्न थालेको बताएपछि रेललाई आपतकालिन रोकिएको थियो ।

कानागावा केनको ओदावारा स्टेशन नजिक आपतकालीन रुपमा तिब्र गतिको रेल रोकिएपछि प्रहरीहरु त्यहाँ पुगेका थिए । प्रहरीलाई खवर गरिरहेकै समयमा रेल रोकिएको र प्रहरी पुग्ने बेला सम्ममा छुरा प्रहार गर्ने २२ बर्षीय इचिरो कोजिमाले तीन जनालाई गम्भिर घाईते बनाइसकेका थिए ।

प्रहरीका अनुसार प्रहरीले फेला पार्दा कोजिमा छुरा लिएर अर्धचेत जस्तो अवस्थामा चुपचाप बसिरहेका थिए । प्रहरीले उनलाई सहजै नियन्त्रण लिएर घाईतेहरुलाई तत्काल अस्पताल पठाएको थियो ।


प्रहरीका अनुसार आक्रमणकारी इचिरो कोजिमाले कुनै योजना वा तयारी गरेर आक्रमण गरेको नभई मानसिक रुपमा विछिप्त भएर उनले आक्रमण गरेको देखिएको बताएका छन् ।

कानागावाका प्रहरी प्रवक्ताका अनुसार मृतक तथा घाईतेहरुसँग आक्रमणकारी व्यक्तिको कुनै नराम्रो सम्वन्ध वा दुस्मनी तथा यात्रामा कुनै विवाद भएको नदेखिएको बताएका छन् ।

एनएचके समाचार संस्थाका अनुसार छुरा प्रहार गर्ने २२ बर्षीय कोजिमा बेरोजगार रहेका थिए । उनी निराश रहेको तथा जो अगाडी पर्छ उसैलाई आक्रमण गरेको पाइएबाट उनलाई मानसीक समस्या रहेको देखिएको प्रहरीको अनुमान छ । उनलाई हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु भएका व्यक्ति तथा घाईते तीनैजना जापानी नागरिक हुन् ।


सन् २०२० को ओलम्पिकलाई मध्यनजर गरेर राजधानी टोकियोमा चल्ने लोकल तथा तिब्र गतिका रेलहरुमा सिसिटिभि क्यामरा जडान सुरु भइरहँदा सिन्कान्सेन रेलमा यात्रुमाथि चक्कु प्रहारको गम्भिर घटना सार्वजनिक भएपछि जापानमा फेरी एकपटक सुरक्षाको विषयमा बहस हुन थालेको छ ।

जापान रेल्वे कम्पनीका अनुसार सन् २०१५ को आँकडा अनुसार टोकाइदो सिन्कानसेन लाईनमा मात्र झण्डै साँडे चार लाख यात्रुले यात्रा गरेका छन् । एउटै रेलमा हजार बढी यात्रु तथा दैनिक चल्ने दर्जनौं रेलमा यात्रुका सामानको पनि सुरक्षा जाँच गर्नुपर्ने विषय उठान हुँदै आएपछि सम्भव नभएको भन्दै रेल भित्र सिसि क्यमरा जडान सहित अन्य सुरक्षा उपायहरु अपनाईंदै आएको छ ।

तथ्यांक अनुसार जापान विश्वमै नागरिक सुरक्षामा अगाडी रहेको छ । केही समय यता लगातार जापानमा भइरहेका गम्भिर अपराधका घटना सहित सार्वजनिक स्थलका यस्ता खाले आक्रमण तथा हत्याका घटनापछि भने जापानमा पनि सार्वजनिक सुरक्षामा चुनौति बढेको देखिन थालेको छ ।