(JAPAN) 19 th December | 2018 | Wednesday | 1:52:10 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:37:10 PM
 

जापानी सम्राटको आलोचना गर्ने धर्मगुरुले राजीनामा दिए, के भनेका थिए सम्राट अकिहितोलाई ?

  POSTED ON : Friday, 12 October, 2018 | Views : 583

जापानी सम्राटको आलोचना गर्ने धर्मगुरुले राजीनामा दिए, के भनेका थिए सम्राट अकिहितोलाई ?

टोकियो ।

जापानको चर्चित धार्मिक स्थल याशुकुनी मन्दिरले शीर्षस्थ धर्मगुरुले सम्राटको आलोचना गर्दै व्यक्त गरेको धारणा सार्वजनिक हुनपुगेपछि पदबाट राजिनामा दिने भएका छन् ।

यहाँको प्रमुख शिन्टो धर्मगुरु कुनिओ कोहोरीले गत जुन महिनामा एउटा निजी कुराकानीका क्रममा सम्राट अकिहितोले उक्त मन्दिरको भ्रमण नगरेर त्यसलाई नष्ट गर्न खोजेको भन्दै सम्राटको चर्को आलोचना गरेका थिए ।

टोक्योमा अवस्थित उक्त मन्दिरले युद्धमा मारिएका जापानका झन्डै २५ लाख मानिसहरूको सम्मान गर्ने गर्दछ । साथै त्यसले युद्ध अपराधमा दोषी ठहर भएका १४ जना जापानी युद्ध अपराधीप्रति पनि सम्मान व्यक्त गर्दछ ।

तर यो मन्दिर चीनलगायत अन्य छिमेकीहरूसँग जापानको तनावपूर्ण सम्बन्धको एउटा स्रोत बन्दै आएको छ । कारण भनेको चिनमाथि जापानी सेनाले गरेको दमन र अत्याचारमा दोसी भएका युद्धअपराधिप्रतिपनि यो मन्दिरले सम्मान गरेकोले हो ।

आगामी वर्ष स्वेच्छाले गद्दी त्याग गर्न लागेका जापानी सम्राटले युद्धका बेला जापानले गरेका अत्याचारका लागि बारम्बार गहिरो दुस्ख व्यक्त गर्ने गरेका छन् ।

त्यस विषयबारे जापानभित्रै दक्षिणपन्थी समूहहरूसँग उनको विवाद रहने गरेको छ ।

युद्धमा मारिएका जापानीहरूको सम्झनामा स्थापित स्मारक स्थलहरूको नियमित भ्रमण गर्ने गरेका सम्राटले अहिलेसम्म याशुकुनी स्मारकमा भने पाइला टेकेका छैनन् ।

धर्मगुरु कुनिओ कोहोरीले उक्त मन्दिरमा भएको बैठकका क्रममा व्यक्त गरेका आलोचनात्मक टिप्पणीहरूको विवरण स्थानीय शुकान पोस्ट समाचारपत्रले सार्वजनिक गरिदिएको थियो ।

जापानी सम्राटको आलोचना नगर्ने परम्परालाई अवज्ञा गर्दा ती धर्मगुरुले सम्राट आफू याशुकुनीबाट टाढा बस्न खोजेको पनि बताएका थिए ।

उनले सम्राटले गद्दी त्याग गरेपछि युवराज नारुहितो र उनकी श्रीमती मासाकोले पनि सम्भवत सो युद्धस्मारकको भ्रमण नगर्ने र भावी साम्राज्ञी मासाको त झन् शिन्टो धर्मलाई घृणा गर्ने व्यक्ति भएको बताएका थिए ।

बिबिसि नेपालीले उल्लेख गरेअनुसार टोक्योस्थित बीबीसी सम्वाददाता रुपर्ट विङ्फिल्ड हेसका अनुसार ती धर्मगुरुको टिप्पणी जापानमा कट्टरपन्थीहरूले सम्राटलाई कुन दृष्टिले हेर्ने गर्दारहेछन् भन्ने कुराको विरलै सार्वजनिक हुने एउटा उदाहरणको रुपमा लिइएको छ ।