(Japan) 29 th March | 2024 | Friday | 3:13:52 PM || (Nepal) 11:58:52 AM
 
 


जापानमा हतारमा प्रतिबन्ध खुकुलो बनाउन हुँदैन : शिगेरु

  POSTED ON : Thursday, 16 September, 2021 | Views : 5218

जापानमा हतारमा प्रतिबन्ध खुकुलो बनाउन हुँदैन : शिगेरु


टोकियो, जापान ।

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न मानिसका गतिविधिमा लगाएको प्रतिबन्धहरु हतारमा खुकुलो बनाउन नहुने चेतावनी जापान सरकारका कोभिड नियन्त्रण उपसमितिका अध्यक्ष शिगेरु ओमी बुधबार दिएका छन् । आपतकाल हटाएपछि मात्रै प्रतिबन्ध खुकुलो बनाउन उनले अनुरोध गरेका छन् ।

सरकारले खोप लगाउन इच्छुक सबै जनाको खोप पूरा भएपछि नोभेम्बर तिर प्रतिबन्ध खुकुलो बनाउन खोजिरहेको छ । यसमा आपतकाल लागू नै हुँदा पनि रेष्टुराँहरुलाई रक्सी बेचबिखन गर्न दिने र मानिसहरुलाई प्रिफेक्चरल सीमा नाघेर अन्य प्रिफेक्चरमा यात्रा गर्न अनुमति दिने अनि थप ठूला स्तरका कार्यक्रमहरुको आयोजना पनि गर्न दिने लगायत योजना छन् ।

‘खोप दर बढेकै भएपनि प्रतिबन्धहरु खुकुलो बनाइयो भने संक्रमण पुनः बल्झिन सक्छ,’ तल्लो सदनको स्वास्थ्य समितिमा ओमीले भने । आपतकाल हटेपछि अनि संक्रमण निश्चित स्तरमा ओर्लिएपछि क्रमिक रुपमा प्रतिबन्धहरु खुकुलो बनाउने बाटो अपनाउन पर्छ भन्ने आफूलाई लागेको उनको भनाइ छ । कोभिडका बिरामीहरुका कारण अहिलेसम्म पनि स्वास्थ्य संस्थाहरु द्यबाबमै छन् ।

जापानको-१९ ओटा प्रिफेक्चर सेप्टेम्बरको अन्त्यसम्ममा आपतकालीन अवस्थामा राखिएको छ । खोप लगाउन इच्छुक कुल जनसंख्याको ५० प्रतिशतभन्दा केही बढीले मात्रै कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाएको सरकारी तथ्यांकले देखाएको छ । नयाँ भाइरस विरुद्धको लडाई लामो समयसम्म चल्ने चेतावनी पनि ओमीले दिएका छन् ।

सर्वसाधारणहरुले इन्फ्लुएनजा झैं कोभिडबारे चिन्ता गर्नु नपर्ने अवस्था आउन २ ३ वर्ष लाग्न सक्ने समेत उनले बताएका छन् । सोही समितिमा स्वास्थ्यमन्त्री नोरिहिसा तामुराले सम्भावित छैठो लहरको संक्तमणप्रति सरकार सतर्क रहेको बताएका छन् ।